सिन्धु विकास बैंकको संस्थापक हकप्रद लिलामी हुदै, माघ १० गते अन्तिम दिन

काठमाडौं । सिन्धु विकास बैंकले बिक्री नभएका संस्थापक समूहको हकप्रद सेयर लिलामी गर्ने भएको छ । बैंकले ५ लाख ३८ हजार ३०२ कित्ता संस्थापक सेयर बोलकबोलबाट बिक्री गर्न लागेको हो । बैंकले चुक्तपुँजी बढाउन भदौ १८ देखि कात्तिक ५ गतेसम्म हकप्रद बिक्री खुला गर्दा आवेदन नपरेका बाँकी सेयर लिलामी गर्न लागेको हो । खरिदकर्ताले बोलपत्र पेश गर्ने सुरुको मिति माघ २ गते र अन्तिम मिति माघ १० गतेलाई तोकिएको छ । बोलपत्र बुझाउने ठाउँ एनआईबीएल क्यापिटल मार्केट्स लिमिटेडको लाजिम्पाट, लगनखेल र पोखराको चिप्लेढुङमा रहेको छ ।  यस्तै नेपाल इन्भेष्टमेन्ट बैंकको बिराटनगर्, सुर्खेत, वीरगञ्ज, नेपालगञ्ज, बुटबल, नारायणगढ र धनगढीबाट भर्न सकिने बिक्री प्रवन्धक एनआईबीएलले जनाएको छ ।

लुम्बिनी विकास बैकले २० करोडको हकप्रद सेयर माघ १० गतेदेखि निष्कासन गर्ने

  काठमाडौं । लुम्बिनी विकास बैैंकले हकप्रद सेयर निष्कासन गर्ने भएको छ ।  बैंकले चुक्तापुँजी बढाउन १० बराबर १ अनुपातमा २० करोड ८ लाख रुपैयाँ बराबरको २० लाख ८ हजार कित्ता हकप्रद निष्कासन गर्ने लागेको हो । हकप्रद सेयर बिक्री खुला माघ १० गतेदेखि हुने छ । फागुन १६ गते हकप्रद सेयर निष्कासन बन्द हुने छ । हकप्रद निष्कासनपछि बैंकको चुक्तापुँजी बढेर २ अर्ब २० करोड ९७ लाख रुपैयाँ पुग्ने छ । हाल बैंकको चुक्तापुँजी २ अर्ब रुपैयाँ छ । राष्ट्रिय स्तरको विकास बैंक हुन साढे २ अर्ब रुपैयाँ चुक्तापुँजी पुर्याउनु पर्ने छ ।

युवा समूहलाई र्निब्याजी १० लाख ऋण

  इलाम । राष्ट्रिय युवा परिषद्, जिल्ला युवा समितिले यहाँका चार युवा समूहलाई र्निब्याजी १० लाख ऋण प्रदान गरेको छ । समितिले सूर्याेदय नगरपालिकाको जनज्योति कृषि तथा पशुपालन समूह, देउमाई नगरपालिकाको सुनौलो बिहानी पशुपालन युवा समूह, एकतप्पाको चम्जलुङ उद्यमशील युवा विकास समूह र जोगमाईको ध्वजेगुफा पशुपालन समूहलाई प्रतिसमूह रु अढाइ लाखका दरले ऋण प्रदान गरेको जिल्ला युवा विकास समितिका अध्यक्ष नवराज शंकरले बताए । समितिले १६ वर्षदेखि ४० वर्ष उमेर समूहका युवालाई स्वदेशमै उद्यम सञ्चालन गराउने उद्देश्यअनुसार पहिलो वर्षको कार्यक्रमबाट ऋण लगानी गरेको हो । ऋणबाट १० युवा संलग्न रहेको समूहले सामूहिक रूपमा व्यवसाय सञ्चालन गर्नुपर्ने प्रावधान छ । परिषद्ले युवा उद्यमी उत्पादन गर्न सरकारको स्वीकृति र अनुदान लिई जिल्ला युवा समितिमार्फत प्रस्तावना आह्वान गरेको थियो । ऋण पाउने संस्थामध्ये चम्जलुङ उद्यमशील युवा विकास संस्थाले घरबास व्यवसाय, जनज्योति कृषि तथा पशुपालन समूह र सुनौलो बिहानी पशुपालन युवा समूहले कुखुरापालन र ध्वजे गुफा पशुपालन समूहले गाईपालन गर्ने जनाएका छन् । ती समूहलाई पहिलो किस्ताबापत रु अढाइ लाखका दरले रकम दिइसकिएको र पुनःएक साताभित्र रु अढाइ लाखका दरले गरी चारसमूहलाई रु २० लाख ऋण दिइने समितिका अध्यक्ष शंकरले बताए । रासस