सिभिल बैंकमा इन्टरनेशनल लिजिङ एन्ड फाइनान्स गाभिने
काठमाडौं, १० भदौ । सिभिल बैंक लिमिटेडमा इन्टरनेशनल लिजिङ एन्ड फाइनान्स कम्पनी लिमिटेडलाई गाभ्ने (मर्जर) सम्बन्धि प्रस्तावलाई बैंकको विशेष साधारण सभाले स्विकृत गरेको छ । उक्त विशेष साधारण सभाले दुवै संस्थाको सम्पत्ति तथा दायित्व मूल्यांकन प्रतिवेदन अनुसार सिभिल बैंकको प्रिमियम मूल्य सहितको प्रतिशेयर १११ दशमलब ०८ रूपैयाँ बराबर इन्टरनेसनल लिजिङ एन्ड फाइनान्स कम्पनीको ८३ रूपैयाँ कायम हुने प्रस्ताव पारित गरेको छ । अब सिभिल बैंकका शयरधनीलाई एक कित्ता बराबर ११ प्रतिशत ८ रूपैयाँ प्रिमियम प्रदान गरिने छ भने फाइनान्सका लगानीकर्तालाई प्रतिकित्ता सिभिल बैंकको ०.८३ कित्ता शेयर दिइने बैंकले जनाएको छ । सिभिल बैंकमा उक्त फाइनान्स गाभिएपछी बैंकको चुक्ता पूँजी ५ अर्व ९ करोड रुपैँया पुग्नेछ । मर्जर पछी बैंकको नाम सिभिल बैंक लिमिटेड नै रहने र बैंकको संचालक समिति एवं उच्च व्यवस्थापनमा कुनै परिवर्तन नहुने बैंकले जनाएको छ । मर्जर पछी बैंकको शाखा संख्या ५३ हुनेछ । बैंकले गत आर्थिक वर्षमा ३३ करोड ६६ लाख रुपैयाँ मुनाफा आर्जन गरेको बैंकले जनाएको छ ।
लक्ष्मी बैंकको नारायणघाट शाखा स्थानान्तरण हुँदै
काठमाडौं, १० भदौ । लक्ष्मी बैंकको नारायणघाट शाखा भाद्र १२ गते आइतबारबाट नयाँ स्थानमा स्थानान्तरण हुँदै छ । बैंकको नयाँ शाखा नारायणघाटको भरतपुर उपमहानगरपालिका वडा नं. ३ स्थित कृष्ण कम्प्लेक्सको पहिलो तल्लामा सरेको बैंकले जनाएको छ । ग्राहकहरुलाई थप सुविधा एवंम सेवा दिने उद्देश्यले बैंकले सोही शाखा नयाँ स्थानमा स्थानान्तरण गरेको बताएको छ । जम्मा २३०० वर्गफिट क्षेत्रफलमा अवस्थित नयाँ शाखाबाट बैंकका सम्पूर्ण ग्राहकलाई थप सहजता पुग्ने र चितवन क्षेत्रको बढ्दो व्यापारिक आवश्यकता र मागहरु पूर्ण गर्न सक्ने बैंकको विश्वास रहेको छ । यसअघि बैंकले नारायणघाट स्थित भरतपुर उपमहानगरपालिका वडा नं. ४ बाट ग्राहकलाई सेवा उपलब्ध गराउँदै आएको बैंकले जनाएको छ ।
लघुवित्त कम्पनीहरुलाई पुँजी वृद्धिको योजना पेश गर्न निर्देशन
काठमाडौं, ९ भदौ । नेपाल राष्ट्र बैंकले लघुवित्त कम्पनीहरुलाई पुँजी वृद्धिको योजना पेश गर्न निर्देशन दिएको छ । राष्ट्र बैंकले निर्देशन जारी गर्दै होलसेल कारोबार गर्ने लघुवित्त कम्पनीहरुलाई तोकिएको समयावधी भित्रै पुँजी वृद्धि गर्ने समानुपातिक योजना पेश गर्न भनेको हो । राष्ट्र बैंकले मौद्रिक नीति मार्फत राष्ट्रियस्तरमा थोक कर्जा प्रवाह गर्ने लघुवित्त कम्पनीहरुले २०७५ असार मसान्तभित्र न्युनतम चुक्ता पुँजी ६० करोड रुपैंयाँ पुर्याउनु पर्ने व्यवस्था गरेको थियो । राष्ट्र बैंकले पुँजी वृद्धिको योजना २०७३ भदौ मसान्तभित्र बुझाईसक्नु पर्ने बताएको हो । केन्द्रिय बैंकले २०७५ असार मसान्त भित्रै चुक्ता पुँजी ६० करोड नपुर्याउने कम्पनीले नगद लाभांश तथा बोनस सेयर वितरण गर्ने नपाउने, थप वित्तिय श्रोत संकलन गर्न नपाउने तथा कर्जा प्रवाह र शाखा विस्तारमा समेत रोक लगाउने घोषणा पनि यसै निर्देशनका साथ गरेको छ ।