ज्योति विकास बैंकको अध्यक्षमा ध्रुव कोइराला नियुक्त, थपिए निर्देशक पनि

काठमाडौं, ५ भदौं । ज्योति विकास बैंकको अध्यक्षमा ध्रुव कोइराला नियुक्त भएका छन् । साउन २४ गते बसेको बोर्ड बैठकले कोइरालालाई अध्यक्ष चयन गरेको हो । त्यस बाहेक बैठकले बैंकको निर्देशकहरुमा रामकुमार श्रेष्ठ, हरिचन्द्र खड्का, हरि प्रसाद आचार्य, नारायण पौडेल, पंकज न्यैपाने र जगदिश्वर प्रसाद अधिकारीलाई नियुक्त गरेको छ । निर्देशकहरुलाई झिमरुक विकास बैंकसँगको मर्जरपछि नियुक्त गरिएको हो ।

आरबीआई गभर्नरमा उर्जित पटेल नियुक्त, राजनको मौद्रिक नीतिले निरन्तरता पाउने

काठमाडौं, ५ भाद्र । भारतीय रिजर्व बैंक(आरबीआई)को गभर्नरमा उर्जित पटेल नियुक्त भएका छन् । रघुराम राजनको गभर्नर कालमा पटेलले मौद्रिक नीति विभागसहित डेप्युटी गभर्नरको नेतृत्व गरेका थिए । पटेललाई सरकारको नियुक्ती समितिले रिजर्व बैंकको गभर्नरका लागि सिफारिस गरेको हो । पटेलले आगामी तीन बर्षसम्म भारतीय रिजर्व बैंकको नेतृत्व गर्नेछन् । ५२ बर्षका पटेललाई गत जनवरीमा आगामी तीन बर्षका लागि दोश्रो कार्यकाल डेप्युटी गभर्नरमा नियुक्त गरिएको थियो । भारतीय अर्थतन्त्रको स्थिरतामा ठुलो योगदान गरेका गभर्नर रघुराम राजनका निकटस्थ मानिएका पटेलको नियुक्तीले मोदी सरकार पनि राजनकै मौद्रिक नीतिलाई अघि बढाउने मनस्थितीमा पुगेको विश्लेषण गरिएको छ । पटेलले अमेरिकाको येल युनिभर्सिटीबाट विद्यावारिधी गरेका थिए । रघुराम राजनले कायम गराएको मुद्रास्फिति दरलाई नियन्त्रणमा राख्नु पटेलको चुनौतीका रुपमा हेरिएको छ ।

गोर्खाज फाइनान्सको नाफा २७ करोड, खराब कर्जा अझै १३ प्रतिशत

काठमाडौं, ३ भदौ । गोर्खाज फाइनान्सले गत आर्थिक वर्षमा २७ करोड ५० लाख रुपैयाँ खुद नाफा गरेको छ । सञ्चालन नाफा ९३ लाख रुपैयाँ मात्र भएको यस फाइनान्सले पुराना कर्जा असुली तथा सम्पत्ति बिक्री गरी २७ करोड ५० लाख रुपैयाँ खुद नाफा गरेको हो । यस फाइनान्समा खराब कर्जा अझै करिव १३ प्रतिशत छ । समस्याग्रस्त गोखा विकास बैंक र काठमाडौं फाइनान्सबीच मर्ज भई बनेको यस वित्त कम्पनीको सेयर पुँजी ५७ करोड ८६ लाख रुपैयाँ छ । यस फाइनान्सको जगेडा तथा कोषमा २१ करोड ३२ लाख रुपैयाँ छ । यस फाइनान्समा सर्वसाधारणको निक्षेप ३ अर्ब २ करोड रुपैयाँ छ भने फाइनान्सले २ अर्ब ४७ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ ।