जानकी फाइनान्सको साधारणसभा पुस ३० मा, १८ प्रतिशत बोनस सेयर दिने प्रस्ताव पारित गर्ने

काठमाडौं । जानकी फाइनान्स कम्पनी लिमिटेडको २१ औं साधारणसभा पुस ३० गते हुने भएको छ । सभाले गत आर्थिक वर्षमा गरेको नाफाबाट सेयरधनीलाई १८ प्रतिशत अर्थात ६ करोड १५ लाख रुपैयाँ बराबरको बोनस सेयर वितरण गर्ने भएको छ । सभाले संस्थापकतर्फ ३ जना र साधारण समूहतर्फ २ जनालाई सञ्चालक समितिमा निर्वाचित गर्ने छ । संस्थालाई वाणिज्य बैंक तथा विकास बैंकसंग गाभिन र प्राप्तिका लागि सम्पत्ती तथा दाइत्व मुल्याँकन (डीडीए) प्रतिवेदन तयार गर्नका लागि मूल्याँकनकर्ता नियुत्त गर्ने प्रस्ताव सभामा पेश हुने फाइनान्सले जनाएको छ । यसैगरी कम्पनीको संस्थापकतर्फ सेयर अनुपात ६० बाट घटाएर ५१ प्रतिशत कायम हुने भएको छ । ९ प्रतिशतलाई साधारण सेयरमा परिणत गर्ने तयारी संस्थाको छ ।

पोखरा फाइनान्सको हकप्रद सेयर पुस ३० गतेदेखि बिक्री खुला

काठमाडौं । पोखरा फाइनान्स लिमिटेडले पुस ३० गतेदेखि हकप्रद सेयर निष्कासन गर्ने भएको छ । फाइनान्सले चुक्तापुँजी बढाउन १ बराबर ०.१५ अनुपातमा ९ करोड ८३ लाख ६८ हजार रुपैयाँ बराबरको ९ लाख ८३ हजार ६८२ कित्ता हकप्रद निष्कासन गर्न लागेको हो । हकप्रद निष्कासनपछि चुक्तापुँजी बढेर ७५ करोड ४१ लाख रुपैयाँ पुग्ने छ । हकप्रद निष्कासन बन्द फागन ६ गते हुने फाइनान्सले जनाएको छ ।

गुडविल फाइनान्सले ल्यायो ‘आई एम मास्टर अफ बचत एण्ड आर्जन’ कार्यक्रम

काठमाडौं । गुडविल फाइनान्स लिमिटेडले वित्तीय साक्षरता वृद्धि गर्ने उदेश्यले ‘आई एम एमबीए’ कार्यक्रम शुरु गरेको छ । ‘आई एम एमबीए’ भनेको मैले एमबीए पास गरेको छु भन्ने होइन । यसको अर्थ हो–म बचत र आर्जनको मास्टर हुँ, अर्थात शिक्षक हुँ । झण्डै ४० प्रतिशत नेपालीसम्म वित्तीय पहुँचमा नपुगेको अवस्थामा वित्तीय साक्षरता र बचत र आर्जनमा उत्प्रेरण वृद्धि गराउने उदेश्यले यो कार्यक्रम ल्याएको फाइनान्सका प्रमुख कार्यकारी अधिकृत सरोजकाजी तुलाधरले बताए । बचत गर्ने बानीले थप आर्जन गर्न सहयोग पुग्ने, यसरी बचत गरेको पैसाबाट पछि व्यवसाय गर्न सकिने, स्वारोजगार बन्न सकिने, यसले आर्थिक विकासमा सहयोग पुग्ने सन्देश स्कूल कलेजका विद्यार्थीसम्म पुर्याउन आवश्यक रहेको उनले बताए । ‘स्कूल तहदेखि विद्यार्थीलाई ‘म बचत गर्छु र आर्जन गर्छु’ भन्ने सन्देश दिनको लागि आई एम एमबीएको एप तयार गरेको छौं’ तुलाधरले भने–‘युवाहरुको हातहातमा स्मार्ट फोन भएकोले एप मार्फत उनीहरु माझ वित्तीय साक्षरताको सन्देश दिने प्रयास गरेका हौ ।‘ यस एपमा वित्तीय क्षेत्रको आधारभूत ज्ञानका साथै सेयर मूल्य, कारोबार, विदेशी मुद्रा विनियम दर, सुनचाँदीको मूल्य दर, क्यालकुलेर तथा कन्भर्टर, डेट कन्भटर, वित्तीय क्षेत्रका समाचार, लेख,लगानी सम्बन्धी धारणाहरु पढ्न सकिन्छ । एपको सार्वजनिक नेपाल राष्ट्र बैंकका संस्थापक गभर्नर हिमालय शमशेर जवराले गरेका छन् । एप प्ले स्टोरबाट निशुल्क डाउनलोड गर्न सकिने छ । साथै, कम्पनीले ‘आम्दानीका लागि बचत’ शिर्षकमा सफलताका कथाहरु समेटिएको किताव पनि सार्वजनिक गरेको छ । जो मान्छेसँग विगतमा केही पनि थिएन, उनीहरु आफ्नो आम्दानीको केही हिस्सा बैंकमा बचत गर्दै जान्छन् र त्यो पैसाले आफैले उद्यम गर्छन, थप आर्जन गर्छन, उनीहरुको कथाहरु किताबमा प्रकाशित भएका छन् । साथै वित्तीय क्षेत्रमा प्रयोग हुने शब्दहरुको व्याख्या सरल भाषमा गरिएको छ । साथै सामाजिक दाहित्वको रुपमा फाइनान्सले काष्ठमाण्डपको होलोग्राम बनाएर काठमाडौं महानगरपालिकालाई हस्तान्तरण गरेको छ । उक्त होलोग्राम बसन्तपुर दरवार क्षेत्र सर्वसाधारणले देख्ने गरि राखिने मेयर विद्यासुन्दर शाक्यले बताए । होलोग्रामको मर्मत फाइनान्सले गर्ने भएको छ ।