सर्पोट माइक्रो फाइनान्समा १ सय कित्ता सेयर हुनेले पनि सञ्चालक हुन पाउने
काठमाडौं । सर्पोट माइक्रो फाइनान्स वित्तीय संस्था लिमिटेडका १ सय कित्ता सेयर हुने पनि सञ्चालक हुन पाउने भएका छन् । हाल संस्थाको सञ्चालक हुन १ हजार कित्ता सेयर आवश्यक पर्छ । यसलाई खारेज गरी १ सय कित्ता सेयरधनी पनि सञ्चालक हुन पाउने व्यवस्था गर्न सर्पोटले पुस २८ गते विशेष साधारणसभा बोलाएको छ । सञ्चालक समितिको संख्या ८ बाट घटाएर ७ बनाउने प्रस्ताव पनि विशेष सभाबाट पारित गर्ने योजना छ । जसअनुसार संस्थापकबाट ४, सर्वसाधारणबाट २ र १ जना विज्ञ सञ्चालक हुने प्रस्ताव सभामा पेश हुने छ ।
युनाइटेड फाइनान्सको साधारणसभा पुस २९ मा, हकप्रद निष्कासन रद्ध र मुत्तुट फाइनान्सलाई साझेदार बनाउने
काठमाडौं । युनाइटेड फाइनान्स लिमिटेडले हकप्रद सेयर निष्कासन नगर्ने भएको छ । फाइनान्सले नेपाल राष्ट्र बैंकले तोकेको चुक्तापुँजी ८० करोड रुपैयाँ पुगिसकेको बताउदै थप २० प्रतिशत हकप्रद सेयर निष्कासन गर्ने पहिलाको निर्णय रद्ध गर्न लागेको हो । गत वर्ष सम्पन्न २२ औं साधारणसभाले चुक्तापुँजी बढाउन १३ लाख ४५ हजार ४१० कित्ता हकप्रद सेयर निष्कासनको प्रस्ताव पारित गरेको थियो । कम्पनीको पुस २९ गते बस्ने २३ औं साधारणसभामा हकप्रद सेयर निष्कासन रद्ध गर्ने प्रस्ताव पेश हुने कम्पनीले जनाएको छ । गत आर्थिक वर्षमा गरेको नाफाबाट १९ प्रतिशत बोनस सेयर निष्कासन गरेपछि चुक्तापुँजी ८० करोड रुपैयाँ पुग्ने भएको छ । सभामा गत आवमा गरेको नाफाबाट १२ करोड ७८ लाख १३ हजार रुपैयाँ बराबरको १२ लाख ७८ हजार १३९ कित्ता बोनस सेयर वितरणको प्रस्ताव सभाबाट पारित हुनेछ । यस्तै भारतको कोचीस्थित मुत्तुट फाइनान्स लिमिटेडलाई वैदेशिक रणनीतिक साझेदारको रुपमा भित्राउने प्रस्ताव सभाबाट पारित हुने भएको छ । यसका लागि प्रिमियम दरमा प्रतिकित्ता १९० रुपैयाँमा २१ लाख कित्ता संस्थापक समूहको थप सेयर जारी गर्ने र यस सम्बन्धित सबै काम गर्ने अख्तियार सञ्चालक समितिमा दिने प्रस्ताव सभाबाट पारित हुनेछ । यस्तै फाइनान्सले निर्जीवन तथा जीवन बीमाको एजेन्टको भई काम गर्ने भएको छ । यसका लागि साभामा प्रस्ताव पारित गर्ने कार्यक्रम छ । सभाले सञ्चालक समितिको संरचनामा परिवर्तन गरी ४ जना संस्थापक, २ जना सर्वसाधारण र १ जना विज्ञ सञ्चालक समिति हुने प्रस्ताव पनि पारित गर्ने छ ।
राष्ट्र बैंकले सिक्का छाप्न ५ कम्पनी छनौट गर्यो
काठमाडौं । नेपाल राष्ट्र बैंकले सिक्का छाप्न ५ वटा विदेशी कम्पनीलाई छनौट गरेको छ । राष्ट्र बैंकले १, २ र ५ दरका सिक्का छाप्न अन्तराष्ट्रिय प्रतिस्पर्धाबाट ५ वटा कम्पनीलाई छनौट गरेको हो । यी कम्पनीले मात्र सिक्का छाप्ने बोलपत्रमा भाग लिन पाउने छन् । पुर्वयोग्यता छनौट भएका कम्पनीमा मेनिका पोलस्का एसए पोल्याण्ड, चाइना बैंक नोट प्रिटिङ एन्ड मिन्टिङ कर्पोरेशन, दी रोयल मिन्ट लिमिटेड, दी इन्डोनेसियन गभरमेन्ट सेक्युरिटी प्रिन्टिङ एन्ड मिन्टिङ कर्पोरेशन र मिन्ट अफ फिनल्याण्ड लिमिटेड रहेका छन् । यी कम्पनी मध्येबाट सबैभन्दा कम दर प्रस्ताव गर्नेले सिक्का छाप्ने ठेक्का पाउने छन् ।