एनएमबि बैंक र आइसीएफसीबीच ऋण सम्झौता, तरलताको समस्यामा सहयोग पुग्ने

काठमाडौं । एनएमबि बैंक लिमिटेडले बिश्व बैकको सदस्य संस्था इन्टरनेशनल फाइनान्स करपोरेसन(आइसीएफसी)सँग ऋण सम्झौता गरेको छ । बैकका प्रमुख कार्यकारी अधिकृत सुनिल केसी र बिश्व बैकका स्थानिय प्रतिनिधि मोहम्मद रेहान रसिदले उक्त सम्झैतापत्र हस्तान्तरण गरेका छन् । नेपाल राष्ट्र बैंकबाट स्वीकृति भए पछि मात्र यस ऋण सम्झौताले मुर्त रुप पाउने बैकले जनाएको छ । यस सम्झौताले हालको तरलताको अप्ठेरो अवस्थामा सहयोग पुग्ने अपेक्षा गरिएको छ । यस ऋणलाई साना तथा मझौला व्यवसाय र कृषि क्षेत्रमा लगानी गर्नेे बैकले जनाएको छ ।

राष्ट्र बैंकमा तीन कामु कार्यकारी निर्देशक तोकिए, दुई जनाको सरुवा

काठमाडौं । नेपाल राष्ट्र बैंकमा तीन जना निर्देशकहरुले कायम मुकायम कार्यकारी निर्देशको जिम्मेवारी पाएका छन् । राष्ट्र बैंकका सहायक प्रवक्ता राजेन्द्र पण्डितका अनुसार देवकुमार ढकाललाई वित्त कम्पनीको कामु कार्यकारी निर्देशक बनाईएको छ भने मुकुन्द क्षेत्रीलाई सामान्य सेवा सुधार विभागमा कामुको जिम्मेवारी दिइएको छ । त्यस्तै, हरिशरण केसीले वित्त व्यवस्थापन विभागमा कामु जिम्मेवारी पाएका छन् । यस अघि ढकाल माइक्रोफाइनान्स प्रवद्र्धन तथा सुपरिवेक्षण विभागमा निर्देशक थिए भने मुकुन्द क्षेत्री बैंक सुपरभिजन र हरिशरण केसी बैंक तथा वित्तिय संस्था नियमन विभागमा निर्देशक थिए । त्यसै गरि कार्यकारी निर्देशक भिष्मराज ढुंगाना र पिताम्बर भण्डारीलाई सरुवा गरिएको छ । विदेशी विनियम विभागमा सरुवा गरिएको हो ।

अग्रिम ब्याज भुक्तानी योजना रोक्दै राष्ट्र बैंक

काठमाडौं । नेपाल राष्ट्र बैंकले अग्रिम ब्याज भुक्तानी योजना रोक्ने भएको छ । वित्तिय क्षेत्रमा अस्वस्थ प्रतिष्पर्धा भित्रिने र प्रणालीगत जोखिम समेत बढ्ने भन्दै राष्ट्र बैंकले अग्रिम ब्याज भुक्तानी योजना बन्द गराउन लागेको हो । पछिल्लो समय बाणिज्य बैंकहरु अग्रिम ब्याज भुक्तानी योजनामा आकर्षित भएका थिए । उनीहरुले मुद्धति निक्षेपमा अग्रिम ब्याज भुक्तानीको अफर अघि सार्ने क्रम बढेको थियो । नविल बैंक, एनआइसी एसिया बैंक र बैंक अफ काठमाण्डूले अग्रिम ब्याज भुक्तानी योजनाबाट निक्षेप संकलन अघि बढाईसकेका छन् । नविलले १ वा २ बर्षको मुद्धति खातामा बार्षिक ११ प्रतिशतको अग्रिम ब्याज भुक्तानी दिने योजना सञ्चालन गरिरहेको छ । त्यसका लागि न्युनतम ५ लाख रुपैंयाँ निक्षेप राख्नुपर्नेछ । एनआइसी एसिया बैंकले पनि मुद्धति खातामा रकम जम्मा गर्दा बार्षिक ब्याज अग्रिम भुक्तानी दिईरहेको छ । नेपाल राष्ट्र बैंकका सहायक प्रवक्ता राजेन्द्र पण्डितले अस्वस्थ प्रतिष्पर्धा र प्रणालीगत जोखिम बढ्ने देखिएकाले अग्रिम ब्याज भुक्तानी योजना रोक्न सकिने संकेत गरे । कारोबार दैनिकबाट