राष्ट्र बैंकको निर्देशनपछि नविल बैंकले बन्द गर्यो अग्रिम ब्याज भुक्तानी योजना
काठमाडौं । नविल बैंकले अग्रिम ब्याज भुक्तानी दिने योजना बन्द गरेको छ । गत चैत ८ गतेदेखि कार्यान्वयनमा आएको नविल बम्पर मुद्धति योजना शुक्रबारदेखि बन्द भएको बैंकले जानकारी दिएको छ । नेपाल राष्ट्र बैंकले अग्रिम ब्याज भुक्तानी योजना रोक्ने सुचना बाहिर आएपछि बैंकले योजना रोक्ने निर्णय गरेको हो । अग्रिम ब्याज भुक्तानी योजना बन्द गरेर मासिक ब्याज भुक्तानी निक्षेप योजना लागु भएको बैंकले जानकारी दिएको छ । बैंकले निक्षेप बढाउन ११ प्रतिशत ब्याज अग्रिम भुक्तानी दिने भनेको थियो । बैंकिङ क्षेत्रमा अस्वस्थ प्रतिस्पर्धा भित्रिने र प्रणालीगत जोखिम समेत बढ्ने भन्दै राष्ट्र बैंकले अग्रिम ब्याज भुक्तानी योजना बन्द गराउन तयारी थालेको थियो । अग्रिम ब्याज भुक्तानीले अस्वस्थ प्रतिस्पर्धा ल्याइ भविष्यामा बैंकिङ प्रणालीमा समस्या आउने राष्ट्र बैंकले भनेपछि यसलाई बन्द गरिएको नविलका डेपुटी प्रमुख कार्यकारी अधिकृत अनिल शाहले बताए । उनले अब अग्रिम नभइ मासिक रुपमा ११ प्रतिशतका दरले मुद्धति निक्षेपको ब्याज भुक्तानी हुने जानकारी दिए । पछिल्लो समय नविल बैंक, एनआइसी एसिया बैंक र बैंक अफ काठमाण्डूले अग्रिम ब्याज भुक्तानी योजनाबाट निक्षेप संकलन अघि बढाईसकेका छन् ।
माछापुच्छ्रे बैंकको एमथ्री प्लस बजारमा, ग्राहकलाई सुविधै सुविधा
काठमाडौं । माछापुच्छ्रे बैंकले अत्याधुनिक सुबिधासहितको एमविएल मोबाइल मनी(एमथ्री प्लस) बजारमा ल्याएको छ । बैंकले सरल माध्यमबाट बैंकिङ्ग सुविधा प्रदान गर्ने उदेश्यले “हातमा नै बैंक” भन्ने नाराका साथ नयाँ मोबाइल बैंकिङ्ग (एमथ्री प्लस) शुरु गरेको हो । उक्त सेवाका विशेषताहरु इन्टरनेट/जीपीआरएसमा आधारित, ग्राहकद्धारा आफै मोबाईलबाट मुद्दति खाता खोल्न सकिने, तालिकाबद्ध भुक्तानी निर्देशन दिन सकिने, अन्तर बैंक रकमान्तर गर्न सकिने, मोबाइल रिचार्ज/टपअप, विल भुक्तानी, ई–वालेट टपअप, क्रेडिट कार्डको भुक्तानी गर्न सकिने आदि जस्ता थुप्रै सुबिधाहरु रहेको बैंकले जनाएको छ । साथै यसको प्रयोगबाट ग्राहकहरुले बैंकका शाखा तथा एटीएमहरु पत्ता लगाउन सकिने, विनियम दर तथा धितोपत्र सम्बन्धि जानकारी प्रप्त गर्न सकिने, सि-आस्वा भर्ने सुविधा तथा यो बैंकिङ्ग कारोवारको सरल, सुरक्षित तथा भरपर्दाे माध्यम भएको समेत जनाएको छ । हाल बैंकले ६२ वटा शाखाहरु, ४ वटा एक्स्टेन्सन काउन्टरहरु लगायत १४ शाखा रहित बैंकिङ्ग सेवा समेत गरी जम्मा ८० स्थानबाट बैंकिङ्ग सुबिधा प्रदान गरिरहेको छ । साथै, बैंकको देशभर ८६ वटा एटीएमहरु संचालनमा रहेको छ ।
सनराइज बैंकले शुरु गर्यो भाईबर सेवा, बैंकिङ्ग सेवाको सम्पूर्ण जानकारी लिन सकिने
काठमाडौं । सनराइज बैंक लिमिटेडले भाईबर बैंकिङ्ग सेवा शुरु गरेको छ । उक्त भाईबर बैंकिङ्ग सेवामार्फत ग्राहकहरुले सहज रुपमा आफ्नो मोबाइल, ल्यापटप, ट्याबलेट, कम्प्युटर लगायतबाट बैंकिङ्ग सेवाको बारेमा जानकारी लिन सक्नेछन् । भाईबर बैंकिङ्ग सेवा लिनको लागि बैंकका ग्राहकहरुको मोबाइल नम्बर यस बैंकको स्मार्ट बैंकिङ्ग सेवामा रजिष्टर गरिएको हुनुपर्नेछ । भाईबर बैंकिङ्ग सेवा मार्फत खातामा रहेको रकम तथा स्टेटमेन्ट हेर्न, विनिमय दर, मुद्धती खाताको जानकारी लगायत अन्य सेवाको साथै बैंकको सम्पुर्ण शाखा तथा एटिएमहरु सम्बन्धी जानकारी लिन सकिनेछ । बैंकले हाल ७६ वटा शाखा, २० वटा शाखा रहित बैंकिङ्ग सेवा ३ वटा एक्सटेन्सन काउण्टर, ९४ वटा एटिम मार्फत ग्राहकहरुलाई सेवा प्रदान गर्दै आइरहेको छ ।