आइएमई जनरल इन्स्योरेन्स र भरपर्दो कृषक सहकारीबीच बीमा सम्झौता

काठमाडौं । आइएमई जनरल इन्स्योरेन्स लिमिटेड र बलाजुमा रहेको भरपर्दो कृषक बचत तथा ऋण सहकारी संस्था लिमिटेडबीच संस्थाका सदस्यहरुको स्वास्थ्य बीमा तथा सामुहिक दूर्घटना बीमा गर्ने सम्बन्धमा सम्झौता भएको छ । उक्त सम्झौतापत्रमा आइएमई जनरल इन्स्योरेन्स लिमिटेडका प्रमुख कार्यकारी अधिकृत युगेशभक्त बादे श्रेष्ठ र भरपर्दो कृषक बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष रमेश तिमल्सिनाले हस्ताक्षर गरेका छन् । सम्झौता पश्चात सहकारी संस्थाका भरपर्दो नियमित जीवन साहारा बचत योजना अन्तर्गतका ५ सय जनाभन्दा बढी सदस्यहरुको स्वास्थ्य बीमा तथा सामुहिक दूर्घटना बीमा हुने जनाइएको छ । सोही अवसरमा आइएमई जनरल इन्स्योरेन्स लिमिटेडका प्रमुख कार्यकारी अधिकृत युगेशभक्त बादे श्रेष्ठले सहकारी संस्थाले आफैले बीमा शुल्क भुक्तानी गरेर आफ्ना ग्राहक हरुको रू ५० हजारको औषधोपचार बीमा तथा रू १ लाखको व्यक्तिगत दुर्घटना बीमा गरेको बताए । साथै संस्था तथा संस्थासंग आवद्ध सदस्यहरुलाइ आवश्यक सबै निर्जीवन बीमा सेवा आइएमई जनरल इन्स्योरेन्स लिमिटेडबाट प्राप्त हुने भन्दै ढुक्क भएर सेवा लिन उनको आव्हान थियो ।

अर्थमन्त्रीको संस्थागत र नीतिगत सुधार संकेतलाई लगानीकर्ताले पत्याएनन्, सेयर बजार २४ अंकले घट्यो

काठमाडौं । सरकारले सेयर बजारको विकासका लागि ठुलो परिमाणको लगानी परिचालन गर्न संस्थागत र नीतिगत सुधार गर्ने संकेतलाई लगानीकर्ताले पत्याएनन् । अर्थमन्त्री डा. युवराज खतिवडाले शुक्रबार श्वेतपत्र सार्वजनिक गर्दै पुँजीबजारमा ठुलो लगानी परिचालन गर्न संस्थागत र नीतिगत सुधार आवश्यक भएको औल्याएका थिए । अर्थमन्त्रीले संस्थागत र नीतिगत सुधार गर्ने श्वतेपत्रमार्फत संकेत गरेका छन् । श्वेतपत्रमा नीतिगत सुधारका कुरा आएपछि आइतबारदेखि बजारमा केही सुधार हुने अपेक्षा गरिएको थियो । सो विपरित बजार २४ अंकले घट्यो । नेप्से परिसुचक १ हजार १ सय भन्दा तल झरेको छ । यसबाट सरकारलाई सेयर बजारले नपत्याएको स्पष्ट हुन्छ । सेयरको मूल्य घटेसंगै कारोबार रकममा पनि गिरावट आएको छ । आइतबार ३१ करोड २३ लाख रुपैयाँ बराबरको सेयर किनबेच भएको छ । बजार खुलेको ५० मिनेटमै साढे ३३ अंकले घटेको बजार विस्तार सम्हालिदै २४ अंकमा सीमित भएको छ । बैंकिङ, होटल, बीमा, जलद्यिुत, बीमा, लघुवित्त र उत्पादनमुलकलगायत सबै क्षेत्रको सेयर मूल्य घटेको छ । अर्थमन्त्रीले संस्थागत र नीतिगत सुधारको कुरा गरेपनि नेपालको पुँजीबजार सतही भएको र दायरा पनि संकुचित भएको उल्लेख गरेका थिए । उनले बजार धितोपत्र कारोबारमा मात्र सिमित रहेको र यसलाई ऋण बजारको रुपमा विकास नसकिएको बताएका छन् ।

एनएमबी बैंकको एफपीओमा ढिलाइ, कहिले आउछ १ करोड १४ लाख किता ?

काठमाडौं । एनएमबी बैंकको थप निष्कासन (एफपीओ) मा ढिलाइ भएको छ । चुक्तापुँजी बढाएर ८ अर्ब रुपैयाँ पुर्याउन एनएमबीले गत जेठ २२ गते प्रिमियम मूल्यमा एफपीओ निष्कासन गर्न धितोपत्र बोर्डमा निवेदन दिएको थियो । बैंकले १ करोड १४ लाख १५ हजार १६३ कित्ता एफपीओ निष्कास गर्न लागेको हो । निवेदन दिएको १० महिना बितिसक्दा पनि बैंकले बोर्डबाट एफपीओ निष्कासको स्वीकृति पाएको छैन् । बोर्डबाट स्वीकृति पाउनसाथ एफपीओ निष्कासन हुने एनएमबीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुनिल केसीले बताए । प्रक्रियागत कारणले ढिलाइ हुन गएको बताउदै उनले चाँडै एफपीओ निष्कासन हुने जानकारी दिए । एफपीओ प्रिमियम मूल्य टुङो लाग्न बाँकी रहेको केसीले जानकारी दिए । बैंकको सेयर मूल्य प्रतिकित्ता ४२१ रुपैयाँ छ । बजार घटेपछि बैंकको सेयर मूल्यमा पनि गिरावट आएको छ । बैंकको चुक्तापुँजी ६ अर्ब ४६ करोड ५४ लाख रुपैयाँ छ । बैंकले अझै १ अर्ब ५४ करोड रुपैयाँ चुक्तापुँजी पुर्याउन बाँकी छ । बैंकले आउदो असारसम्म चुक्तापुँजी ८ अर्ब रुपैयाँ पुर्याउने योजना राष्ट्र बैंकमा पेश गरेको छ ।