अब मेगा बैैंकबाटै सानिमा लाईफको इन्स्योरेन्स सेवा पाइने

काठमाडौं । अब मेगा बैंक लिमिटेडबाट सानिमा लाईफको इन्स्योरेन्सको बीमा सेवा पाइने भएको छ । शुक्रबार दुई कम्पनीबीच भएको बैंक्यास्योरेन्स सम्झौता अनुसार ग्राहकहरुले मेगा बैकका सम्पुर्ण शाखाहरुबाट सानिमा लाईफ इन्स्योरेन्सको जीवन बीमा सेवा उपभोग गर्न सक्ने छन् । उक्त सम्झौतापत्रमा कम्पनीका तर्फबाट नायव महाप्रबन्धक केशवराज के.सी. तथा बैंकका तर्फबाट सहायक नायव प्रमुख कार्यकारी अधिकृत रविना देशराज श्रेष्ठले हस्ताक्षर गरेका छन् ।

वेष्ट फाइनान्सको प्रमुख कार्यकारी अधिकृतमा तोयाराज अधिकारी नियुक्त

काठमाडौं । वेष्ट फाइनान्सको प्रमुख कार्यकारी अधिकृतमा तोयाराज अधिकारी नियुक्त भएका छन् । साउन १७ गते बसेको कम्पनीको सञ्चालक समितिले बैठकले अधिकारीलाई आगामी दुई वर्षको लागि सीईओको जिम्मेवारी दिने निर्णय गरेको अध्यक्ष पदमराज न्यौपानेले जानकारी दिए । सीईओ अधिकारीले साउन १८ गतेदेखि जिम्मेवारी समालेका छन् । त्रिभुवन विश्वविद्यालयबाट विज्ञानमा स्नातक र अर्थशास्त्रमा स्नातकोत्तर गरेका अधिकारीसँग १७ वर्ष विभिन्न बैंक फाइनान्समा काम गरेको अनुभव छ । अधिकारीका अनुसार उनले सन् २००१ देखि ११ सम्म माछापुच्छ्रे बैंकमा काम गरेका थिए । त्यसपछि उनी कास्की फाइनान्समा ७ वर्ष सीईओ भएका थिए । कास्की फाइनान्स कामना विकास बैंकमा मर्ज भएपछि उनी कामना विकास बैंकको सीईओ भएका थिए । कामना विकास बैंक र सेवा विकास बैंक मर्ज भएपछि बनेको कामना सेवा विकास बैंकमा डेपुटी सीईओ रहेर काम गरेका थिए । ‘वाणिज्य बैंकमा, विकास बैंकमा, फाइनान्स कम्पनीमा, मर्ज भएको संस्थामा काम गरेको अनुभव छ । विभिन्न समस्याबाट माथि उठ्दै गरेको र मर्जपछि ठूलो संस्थाको रुपमा स्थापित भएको बेष्ट फाइनान्समा आफ्नो अनुभव र क्षमता प्रयोग गर्छु’ अधिकारीले विकासन्युजसँग भने ।

एभरेष्ट बैंकको नाफा २७० करोड, कति देला लाभांश ?

काठमाडौं । एभरेष्ट बैंकले २ अर्ब ७० करोड नाफा कमाएको छ । नयाँ लेखा प्रणाली एनएफआरएस अनुसार सार्वजजनिक गरिएको वित्तिय विवरण अनुसार बैंकले गत आर्थिक बर्ष २०७४।७५ मा २ अर्ब ७० करोड नाफा कमाएको हो । पुरानो वित्तिय प्रणाली अनुसार भने बैंकको नाफा २ अर्ब ५४ करोड मात्रै हुन्थ्यो । नयाँ लेखा प्रणाली अनुसार बैंकको नाफा १६ अर्बले बढि देखिएको हो । आर्थिक बर्ष २०७३।७४ मा २ अर्ब ६ करोड नाफा कमाएको बैंकको एनएफआरएस अनुसार भने २ अर्ब २९ करोड देखिएको छ । नयाँ लेखा प्रणाली अनुसार सार्वजनिक गरिएको वित्तिय विवरणले ३३.३३ प्रतिशत लाभांश वितरण गर्न सकिने छ । हाल बैंकको चुक्ता पुँजी ८ अर्ब १० करोड रहेको छ । ११४ अर्ब निक्षेप संकलन गरेको बैंकले ९२ अर्ब कर्जा लगानी गरेको छ । १० अर्ब ब्याज आम्दानी गर्दा ५ अर्ब ब्याज खर्च गरेको छ । बैंकको खराब कर्जा ०.२० प्रतिशतमा झार्दा प्रति सेयर आम्दानी ३४.३७ रहेको छ ।