नेपाल बैंकको ९३ लाख ७५ हजार कित्ता एफपीओ बाँडफाँड, बाँकी अण्डर राइटरले किन्ने

काठमाडौं । नेपाल बैंकको थप निष्कासन (एफपीओ) बाँडफाँड भएको छ । आवेदन परेको ९३ लाख ७५ हजार ७५० कित्ता एफपीओ बाँडफाँड भएको बिक्री प्रवन्धक सिद्धार्थ क्यापिटल लिमिटेडले जनाएको छ । कुल निष्कासन गरिएको ४ अर्ब ९५ करोड रुपैयाँमा २ अर्ब ६२ करोड रुपैयाँ मात्र बिक्री भएको छ । यसमा पनि कर्मचारी संचय कोषले १ अर्ब रुपैयाँ लगानी गरेको छ । बाँकी एफपीओ ८ वटा अण्डराइटरले सकार्ने छन् । बैंकले प्रतिकित्ता २८० रुपैयाँमा १ करोड ७६ लाख ८४ हजार ७५० कित्ता एफपीओ निष्कासन गरेको थियो ।

अब क्यिूआर कोडबाटै रकम भुक्तानी गर्न सकिने, एनआईसी एशियाले ल्यायो यस्तो एप

काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेडले आइतबार(आज)बाट क्यिूआर कोड मार्फत भुक्तानी संचालनमा ल्याएको छ । यो सेवा बैंकको मोबाइल बैंकिङ्ग(मोबैंक एप) प्रयोगकर्ताहरुले प्रयोग गरि उपभोग गर्न सक्नेछन् । क्यिूआर कोड मार्फत भुक्तानी गर्नको लागि निम्न तरिका प्रयोग गर्न सकिन्छ । १. मर्चेन्टले मोबैंक मर्चेन्ट एप बाट रिक्वेष्ट पेमेन्ट विकल्प प्रयोग गरि क्यिूआर कोड जेनरेट गर्ने र ग्राहकले आफ्नो मोबैंक प्रयोग गरि सोहि क्यिूआर कोड मा मोपे विकल्प प्रयोग गरि स्क्यान गरेर भुक्तानी गर्न सक्नेछन् । २. मर्चेन्टले भुक्तानी काउण्टरमा क्यिूआर कोड भएको स्टिकर पनि राख्न सक्नेछन् जसलाई ग्राहकले मोपे विकल्प प्रयोग गरि स्क्यान गरेर भुक्तानी गर्न सक्नेछन् । बैंकले नै यो सेवा नेपालमा पहिलो पटक शुरु गरेको हो जसबाट व्यवसायी तथा ग्राहकहरु लाभान्वित हुने बैंकको विश्वास छ । यो सेवा प्रयोग गर्नको लागि ग्राहकसँग स्मार्ट फोन उपलब्ध हुनुपर्ने र उक्त स्मार्ट फोन प्रयोग गरि ग्राहकले सजिलै भुक्तानी गर्न सकिने बैंकले जनाएको छ । बैंकको मोबाइल बैंकिङ्ग मोबैंक सेवा गुगल प्ले/एप स्टोर अथवा बैंकको वेबसाइटबाट डाउनलोड गरी प्रयोग गर्न सकिने छ ।

मुक्तिनाथ विकास बैंकले ५ करोडसम्मको आवास कर्जा दिने

काठमाडौं । मुक्तिनाथ विकास बैंक लिमिटेडले नयाँ “मुक्तिनाथ आवास कर्जा” योजना सार्वजनिक गरेको छ । यस योजनामा आवद्ध हुने ग्राहकहरुले २० वर्ष सम्मको कर्जा अवधि राखी १० लाख रुपैयाँदेखि ५ करोड रुपैयाँसम्मको कर्जा सुविधा लिन सक्नेछन् । नियमित रुपमा किस्ता बुझाउने ग्राहकहरुले आफूले बुझाएको प्रशासनिक शुल्क फिर्ता पाउँदै जानेछन् भने पहिलो १ वर्षको लागि निःशुल्क स्वास्थ्य तथा दुर्घटना बीमा सुविधा पनि प्राप्त गर्नेछन् । कुल कर्जाको आधा रकमलाई किस्ताबन्दी रुपमा बुझाई बाँकी कर्जाको व्याजमात्र बुझाउने गरी किस्ताको भारलाई कम गर्ने गरी डिजाइन गरिएको बैंकले जनाएको छ । यसले नियमित तर न्यून आय भएका ग्राहकलाई समेत निजको आवश्यकता अनुसारको कर्जा सुविधा लिन सहज हुनेछ । यस कर्जाबाट ग्राहकले घर खरिद, आवास प्रयोजनार्थ जग्गा खरिद, जग्गा तथा घर खरिद गर्न सक्नेछन् । बैंकको सबै शाखा कार्यालयहरुबाट यो कर्जा लिन सक्ने व्यवस्था मिलाइएको छ ।