नेपाल इन्भेष्टमेन्ट बैंकको नाफा १५ प्रतिशत बढेर ३ अर्ब ५७ करोड पुग्यो, ईपीएस ३८ रुपैयाँ ७० पैसा

काठमाडौं । गत आर्थिक वर्ष ०७४/०७५ मा नेपाल इन्भेष्टमेन्ट बैंकले नाफा १५ प्रतिशत बढाएको छ । गत असारसम्म बैंकले ३ अर्ब ५७ करोड ८८ लाख रुपैयाँ खुदनाफा गरेको छ । अघिल्लो वर्षको सोही अवधिमा बैंकले ३ अर्ब ११ करोड ४१ लाख रुपैयाँ नाफा गरेको थियो । एक वर्षमा बैंकले ४६ करोड ४७ लाख रुपैयाँ नाफा बढाएको मंगलबार सार्वजनिक गरेको वित्तीय प्रतिवेदनमा उल्लेख छ । समीक्षा अवधिमा बैंकको ब्याज आम्दानी बढेर ५ अर्ब ८७ करोड ८० लाख रुपैयाँ पुगेको छ । अघिल्लो वर्ष ४ अर्ब ८७ करोड रुपैयाँ ब्याज आम्दानी थियो । एक वर्षमा बैंकको ब्याज आम्दानी १ अर्ब रुपैयाँ बढेको छ । बैंकको निष्क्रिय कर्जा बढेर १ प्रतिशत नाघेको छ । अघिल्लो वर्ष बैंकको यस्तो कर्जा ०.८३ प्रतिशत थियो । यस्तै निक्षेप लागत पनि बढेर ६.३१ प्रतिशत पुगेको छ । गत अघिल्लो वर्ष ५.८४ प्रतिशत थियो । कर्जा निक्षेप अनुपात (सीडी रेसियो) ७५ प्रतिशत छ । आधार ब्याजदर पनि बढेर ९ प्रतिशत पुगेको छ । अघिल्लो वर्ष आधारदर ८.३६ प्रतिशत थियो । प्रतिसेयर आम्दानी बढेर ३८ रुपैयाँ ७० पैसा पुगेको छ । अघिल्लो वर्ष ३७ रुपैयाँ ३८ पैसा थियो । समीक्षा अवधिमा बैंकको निक्षेप परिचालन बढेर १ खर्ब ४० अर्ब ७ करोड रुपैयाँ पुगेको छ । अघिल्लो आर्थिक वर्षमा १ खर्ब २५ अर्ब ६६ करोड रुपैयाँ थियो । एक वर्षमा बैंकले १५ अर्ब रुपैयाँ निक्षेप बढाएको वित्तीय विवरणमा उल्लेख छ । यस्तै कर्जा लगानीमा पनि विस्तार भएको छ । गत आर्थिक वर्षमा बैंकले १ अर्ब २० करोड ४० लाख रुपैयाँ कर्जा लगानी गरेको छ । अघिल्लो वर्ष १ अर्ब ४ करोड ६ लाख रुपैयाँ मात्र लगानी गरेको थियो । बैंकको जगेडा कोषको आकार बढेर १५ अर्ब ३ करोड ३७ लाख रुपैयाँ पुगेको छ । अघिल्लो वर्ष १३ अर्ब ४ करोड रुपैयाँ थियो ।

भारु हालसम्मकै कमजोर भई १ डलर बराबर ७० पुग्यो, नेपालमा के होला ?

एजेन्सी । भारतीय रुपैयाँ (भारु) अमेरिकी डलरसंग हालसम्मकै कमजोर भएको छ । भारतीय रिजर्व बैंक (आरबीआई) ले १ डलर बराबर ७० भारु तोकेको छ । सोमबार मात्रै डलरसंग भारु १ रुपैयाँले कमजोर भएको छ । यो ऐतिहासिक रुपमा कमजोर भएको फाइनान्सियल एक्सप्रेसले उल्लेख गरेको छ । टर्कीको अर्थतन्त्र संकटतर्फ उन्मुख भएपछि यसको असर भारुमा परेको हो । यद्यपी डलर भने मजवुत हुदै गएको छ । सोमबार टर्कीको लिरा ८ प्रतिशत कमजोर भएको छ । वृहत आर्थिक परिदृष्यले भारतको अर्थतन्त्र राम्रो देखाएपछि सोमबार बिहान भारु केही मजवुत भएको थियो । सोमबार बिहान ४१ पैसा मजवुत भई १ डलर बराबर ६८ रुपैयाँ ४२ पैसा भारु कायम भएको थियो । भारु अझ कमजोर हुने अनुमान गरिएको छ । भारुसंग स्थिर विनिमयदर भएकाले नेपाली रुपैयाँ पनि कमजोर हुने भएको छ । यसको असर नेपालमा पनि पर्ने देखिएको छ । नेपाल राष्ट्र बैंकले सोमबार १ डलर बराबर ११० रुपैयाँ ४३ पैसा बिक्री दर तोकेको छ ।

नेप्सेले लिने सेयर सूचीकरण र वार्षिक शुल्क निर्धारण, कति पुँजीको कति (सुचिसहित)

काठमाडौं । धितोपत्र बोर्डले नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से) ले लिने सूचीकरण तथा वार्षिक शुल्क निर्धारण गरेको छ । बोर्डले चुक्तापुँजी ५० करोड रुपैयाँसम्म भएका कम्पनीले सूचीकरण शुल्क ०.१० प्रतिशत वा न्युनतम १ लाख ५० हजार रुपैयाँ तोकेको छ । यस्तै वार्षिक शुल्क ५० हजार रुपैयाँ निर्धारण गरेको छ । ५० करोड रुपैयाँ भन्दा बढी चुक्तापुँजी भएका कम्पनीले सूचीकरण शुल्क ०.०५ प्रतिशत वा २ लाख ५० हजार रुपैयाँ बुझाउनु पर्नेछ । वार्षिक शुल्क पनि १ लाख रुपैयाँ तोकिएको छ । नेप्सेले ५० करोड रुपैयाँसम्म चुक्तापुँजी हुने कम्पनीको सूचीकरण शुल्क ०.१५ र ५० करोड माथिको ०.१ प्रतिशत प्रस्ताव गरेको थियो । नेप्सेले प्रस्ताव गरेको भन्दा कम दर तय गरेको बोर्डका प्रवत्ता निरज गिरीले बताए । यस्तै डिबेन्चर, एकाँक बचत वा समूहगत बचत सूचीकरण अन्तर्गत ५० करोड रुपैयाँसम्म निष्कासन रकममा सूचीकरण शुल्क ६० हजार र वार्षिक शुल्क २५ हजार, ५० करोड रुपैयाँ भन्दा बढीको निष्कासन रकम भएकोमा सूचीकरण शुल्क १ लाख र वार्षिक शुल्क ५० हजार रुपैयाँ तय गरिएको छ । सूचीकरण निवेदन दस्तुर १५ हजार र समयमा नविकरण शुल्क नबुझाउने कम्पनीले वार्षिक १० प्रतिशतका दरले जरिवाना बुझाउनु पर्ने बोर्डले जनाएको छ ।  बोर्डले धितोपत्र सूचीकरण विनियमावली साउन १ गतेदेखि लागु गरिसकेको छ ।