एनएमबी बैंकको नाफा २३.५५ प्रतिशत बढ्यो, गत वर्ष १८१ करोड पुग्यो
काठमाडौं । एनएमबी बैंकले गत आर्थिक वर्ष ०७४/०७५ मा नाफा २३.५५ प्रतिशत बढाएको छ । गत आर्थिक वर्षमा बैंकले १ अर्ब ८१ करोड २९ लाख रुपैयाँ खुदनाफा गरेको छ । अघिल्लो वर्ष बैंकले १ अर्ब ४६ करोड ७३ लाख रुपैयाँ नाफा गरेको थियो । बैंकले बुधबार सार्वजनिक गरेको गत आर्थिक वर्षको वित्तीय विवरणमा अघिल्लो वर्षको तुलनामा गत वर्ष ३४ करोड ५६ लाख रुपैयाँ नाफा बढाएको उल्लेख छ ।समीक्षा अवधिमा बैंकको ब्याज आम्दानी बढेर २ अर्ब ८९ करोड ३२ लाख रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा बैंकको ब्याज आम्दानी २ अर्ब ५९ करोड ४७ लाख रुपैयाँ थियो । नाफामा भएको वृद्धिसंगै प्रतिसेयर आम्दानी (ईपीएस) पनि बढेर ३१ रुपैयाँ २६ पैसा पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा बैंकको ईपीएस २७ रुपैयाँ २४ पैसा थियो । बैंकको निक्षेप लागत ७.४६, निक्षेप कर्जा अनुपात ७७.७२, आधारदर १०.७० निष्क्रिय कर्जा ०.८८ प्रतिशत रहेको छ । बैंकको निष्क्रय कर्जा अनुपात घटेको छ । यस्तै बैंकको निक्षेप परिचालन बढेर ८४ अर्ब ७२ करोड ८७ लाख रुपैयाँ पुगेको छ । कर्जा लगानी पनि विस्तार भई ७५ अर्ब ८५ करोड ७० लाख रुपैयाँ छ । संचित कोषको आकार बढेर ९ अर्ब १९ करोड ४५ लाख रुपैयाँ पुगेको बैंकले जानकारी दिएको छ ।
मेगा बैंकको नाफा ३२ प्रतिशत बढ्यो, गत वर्ष १ अर्ब ४ करोड पुग्यो
काठमाडौं । गत आर्थिक वर्ष ०७४/०७५ मा मेगा बैंकको खुदनाफा ३२ प्रतिशत बढेको छ । गत वर्ष बैंकले १ अर्ब ४ करोड ६६ लाख रुपैयाँ खुदनाफा गरेको छ । छोटो अवधिमै बार्षिक नाफा १ अर्ब रुपैयाँ नाघ्नुलाई ऐतिहासिक सफलताको रुपमा लिएको बैंककी प्रमुख कार्यकारी अधिकृत (सिइओ) अनुपमा खुञ्जेलीले बताइन् । बैंक अब अर्ब रुपैयाँ नाफा गर्ने क्लवमा समावेश भएको उनले जानकारी दिइन् । गत बैशाख ३० गते टुरिजम डेभलपमेन्ट बैंकसँग मर्जर भएकाले ९ महिनाको नाफाबाट १४ करोड रुपैयाँ संचित कोषमा राखेको उनले बताइन् । योसहित जोड्ने हो भने बैंकले गत आर्थिक बर्षमा १ अर्ब १९ करोड रुपैँया नाफा गरेको छ । मेगाको ग्राहक संख्या ९० प्रतिशतले बढेर गत आर्थिक बर्ष ४ लाख ९६ हजार पुगेको बैंकले जनाएको छ । आर्थिक बर्ष २०७३/०७४ मा निक्षेप ३८ अर्ब ९४ करोड रुपैयाँ भएकोमा २०७४/७५मा ६२ अर्ब रुपैयाँ पुगेको छ । एक वर्षमा बैंकको निक्षेप परिचालन २४ अर्ब ३ करोड रुपैयाँ बढेको बैंकले जानकारी दिएको छ ।यसैगरी, सोही अवधिमा २२ अर्ब ७ करोड रुपैयाँ बढेको छ । कुल कर्जा ३५ अर्ब १९ करोड रुपैँयाले वृद्धि भई ५७ अर्ब २६ करोड रुपैँया पुगेको हो । बैंकको शाखा संख्या १०१ वटा पुगेको छ । गत आर्थिक बर्षमा बैंकको ४७ वटा शाखा मात्र थियो । मेगाका १४ वटा एक्टेनशन काउन्टर, ११९ वटा शाखारहित बैंकिङ सेवा, २ हजार भन्दा बढी मेगा रेमिट सञ्जाल र ७४ वटा एटीएम छन् ।
गरिमा विकास बैंक र देवः विकास बैंकबीच रेमिट सम्झौता
काठमाडौं । देवःविकास बैंकले गरिमा रेमिट सेवा प्रदान गर्ने सम्बन्धमा गरिमा विकास बैंकसँग सम्झौता गरेको छ । मंगलबार(आज) सम्पन्न उक्त सम्झौतामा गरिमा विकास बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत गोविन्दप्रसाद ढकाल र देवःविकास बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत विजयबहादुर श्रेष्ठले हस्ताक्षर गरेका छन् । यस सम्झौता पछि देवःविकास बैंकका जुनसुकै शाखा कार्यालयबाट गरिमा रेमिट मार्फत रकम पठाउन भूक्तानी गर्न तथा खातामा जम्मा गर्न सकिने गरिमा विकास बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्दप्रसाद ढकालले बताएका छन् । हाल बैंकको कुल ५१ वटा शाखा कार्यालयहरु सञ्चालनमा रहेका छन् ।