एनआईसी एशियाको ८० लाख ३१ हजार कित्ता बोनस शेयर सूचिकृत
काठमाडौँ । एनआई सी एशिया बैंक लिमिटेडको पुस ४ गते बसेको २१औं साधारणसभाबाट पारित १० प्रतिशत बोनस शेयर संख्या ८० लाख ३१ हजार ११७ कित्ता शेयर फागुन ९ गते नेपाल स्टक एक्सचेन्जमा सूचिकृत भएको छ । सो पश्चात् बैंकको जारी तथा चुक्तापूँजी ८ अर्ब ८३ करोड ४२ लखा २८ हजार ६९८ रहेको छ । बैंकको केही शेयर अझै अभौतिकरण भइनसकेको परिप्रेक्ष्यमा उक्त शेयरहरू अभौतिकीकरण गर्न बैंकले शेयरधनीहरूमा बिज्ञप्ति मार्फत आग्रह समेत गरेको छ । बैंकको वासलातको आकार २१५ अर्ब भन्दा बढी पुगेको छ भने कूल निक्षेप करिब १७१ अर्ब पुगेको छ । बैंकको कूल कर्जा करिब १४९ अर्ब रहेको छ । हाल ग्राहकको संख्या करिब १४ लाख ५० हजार रहेको बैंकले जनाएको छ ।
नेपाल बैंकले घटायो कर्जाको ब्याजदर, अब बढीमा १०.६८ प्रतिशत मात्र तिर्नुपर्ने
काठमाडौं । नेपाल बैंक लिमिटेडले कर्जाको ब्याजदर घटाएको छ । पुस महिनाको अन्त्यको ६.०६ प्रतिशत आधार ब्याजदरको आधारमा बैंकले जारी गरेका सबै प्रकारका ऋणहरुको ब्याजदर विद्यमान ब्याजदरभन्दा १.४६ प्रतिशतले सस्तो हुनेगरी ब्याजदर घटाएको बैंकले जनाएको हो । कर्जाकाे व्याजदर घटाउँदा देशका उद्यम व्यवसायको पुंजी लागतमा कमी आई प्रतिष्पर्धी क्षमता बढ्ने र समग्र अर्थतन्त्र लाभान्वित हुने अपेक्षा समेत बैंकले लिएको छ । बैंकले आधार ब्याजदरमा तोकिएको जोखिमबापतको प्रिमियम दर घटाएर उक्त परिमाणमा ब्याजदर घटाइएको बैंकका प्रमुख कार्यकारी अधिकृत देवेन्द्रप्रताप शाहले जानकारी दिए । उनले सरकारको सहुलियतपूर्ण कर्जामा भने २ प्रतिशत प्रिमियम तोकिएकोले त्यसो हकमा भने त्यो व्यवस्था लागु नहुने बताए । ‘सहुलियत कर्जाको जोखिम प्रिमियम सरकारले नै २ प्रतिशत तोकेको छ, अरु ऋणको हकमा भने प्रिमियम घटाएर व्याजदर घटाएका हौं ।’ प्रमुख कार्यकारी अधिकृत शाहले भने । बैंकले हाल ऋणमा ६.०८ प्रतिशतसम्म प्रिमियम दर तोकेको छ । बैंकको पुस मसान्तको आधार दरका आधारमा यो प्रिमियमले ब्याजदर १२.१४ प्रतिशत हुन आउँछ । त्यसमा १.४६ प्रतिशत ब्याजदर घटाउँदा नेपाल बैंकका ऋणीले अब बढीमा १०.६८ प्रतिशतमा ऋण प्राप्त गर्नेछन् ।
३३ औँ वार्षिकोत्सवमा एनआइबीएलले शुरु गर्यो क्रमिक मुद्दती खाता, के छ विशेषता ?
काठमाडौँ । नेपाल इन्भेष्टमेण्ट बैंक लि.(एनआइबीएल)ले ३३ औँ वार्षिकोत्सवको उपलक्ष्यमा सोमबारबाट एनआइबीएल क्रमिक मुद्यती खाता शुभारम्भ गरेको छ । बैंकमा कुनैपनि बचत खाता खोल्ने ग्राहकले क्रमिक मुद्दती खाता खोल्न सक्ने छन्, हरेक महिना न्युनतम ३३३ रुपैयाँ जम्मा गरेर ३३ महिनाको अवधिका लागि उच्चतम ९.२५ प्रतिशत ब्याज पाउने बैंकले जनाएको छ । त्यस्तै बालबालिकाहरुमा वित्तीय साक्षरता विस्तार गर्ने उद्देश्यले बैंकसँगको नाता, मेरो आफ्नै बचत खाता नाममा चित्रकथा सार्बजनिक गरेको छ । विषेश गरी वालवालिकाहरुलाई सानै उमेरदेखि नै बैंकको महत्व तथा फाइदा बुझाई उनीहरुमा बचत गर्ने बानीको विकास गर्नका लागि एनआईबीएलले जानकारीमूलक बाल चित्रकथा प्रकाशनमा ल्याएको हो । त्यस्तै ३३औं वार्षिकोत्सवको अवसरमा एनआईबीएल भिषा कार्ड प्रयोगकर्ताका लागि पीओएस मेसिन प्रयोग गर्दा ३३ प्रतिशत क्यास ब्याक अफर ३३ दिनका लागि प्रदान गरिने बैंकले जनाएको छ । यसवर्षदेखि बैंकले आफ्ना कार्ड सञ्जालमा मास्टरकार्डको सेवा संचालनमा ल्याएको छ । आर्थिक वर्ष २०७४/७५ को अन्त्यसम्ममा बैंकको चुक्तापूँजी१२ अर्ब ५८ करोड पुगेको छ भने जगेडा तथा कोषको रकम ९ अर्ब ७७ करोड पुगेको बैंकले जनाएको छ । बैंकले २०७४/७५ मा ४ अर्ब ९५ करोडको सञ्चालन मुनाफा कमाएको छ भने खुदनाफा ३ अर्व ६५ करोड पुगेको छ । बैंकको निक्षेप ११.४५ प्रतिशतले बढेर१ खर्ब ४० अर्ब पुगेको छ भने कर्जा लगानी१ सय २० अर्ब पुगेको छ । बैंकको खराबकर्जा (एन.पि.ए.) अनुपात १.३६ प्रतिशत रहेको बैंकले जनाएको छ । ३३ औं बसन्तपार गर्र्दा आर्थिक वर्ष २०७५÷७६को दोस्रो त्रैमाससम्ममा बैंकले एक खर्ब ४२ अर्ब निक्षेप संकलन गरी एक खर्ब २८ अर्ब कर्जा लगानी गरेको छ । उक्त त्रैमाससम्ममा बैंकले ४ अर्ब ७ करोड संचालन मुनाफा कमाउन सफल भएको छ भने १ अर्ब ९७ करोड खुद मुनाफा कमाएको बैंकद्वारा प्रकाशित विज्ञप्तिमा उल्लेख छ ।