ज्योति विकास र अजोड इन्स्योरेन्सबीच बीमा सेवा सम्बन्धी सम्झौता
काठमाडौं । ज्योति विकास बैंक र अजोड इन्स्योरेन्सबीच बीमा सेवा प्रदान गर्ने सम्बन्धी सहकार्य भएको छ । सम्झौतापत्रमा ज्योति विकास बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत मनोजकुमार ज्ञावली तथा अजोड इन्स्योरेन्सका तर्फबाट प्रमुख कार्यकारी अधिकृत कुमारबहादुर खत्रीले संयुक्त रुपमा हस्ताक्षर गरेका हुन् । सम्झौता अनुसार ज्योति विकास बैंकको कर्पोरेट तथा विभिन्न शाखा कार्यालयहरुबाट बैंकका ग्राहकहरूले अजोड इन्स्योरेन्सले प्रदान गर्ने निर्जीवन बीमा सम्बन्धी सेवा सुविधाहरू प्राप्त गर्न सक्नेछन् ।
मेगा क्यापिटल मार्केट्सलाई मर्चेन्ट बैकिङ्ग कारोबार गर्न अनुमति
काठमाडौँ । मेगा बैंक नेपालको पूर्ण स्वामित्वमा रहेको सहायक कम्पनी मेगा क्यापिटल मार्केट्सले मर्चेन्ट बैकिङ्ग व्यवसाय गर्नका लागि अनुमति प्राप्त गरेको छ । मेगा क्यापिटल मार्केट्सले सोमबार नेपाल धितोपत्र बोर्डबाट कारोबारका लागि अनुमतिपत्र प्राप्त गरेको हो । यस कम्पनीको अधिकृत पूँजी ३० करोड रुपैयाँ र चुक्तापूँजी २० करोड रुपैयाँरहेको छ । मेगा क्यापिटल मार्केट्सले पूँजीबजारसँग सम्बन्धित निष्काशन तथा बिक्री प्रबन्ध, धितोपत्र प्रत्याभूति, शेयर रजिष्ट्रेशन, लगानी व्यवस्थापन, संस्थागत परामर्श जस्ता मर्चेन्ट बैंकिङ सेवाहरु आफ्नो त्रिपुरेश्वरस्थित केन्द्रीय कार्यालय, सांकेत कम्प्लेक्सबाट प्रदान गर्ने कम्पनीका सिइओ सुदयकान्त झाले बताए । ग्राहकहरुको सुविधा, लगानी उद्देश्य तथा आवश्यकतालाई ध्यानमा राखि उपयुक्त सेवाहरु पूँजीबजारमा ल्याउनु नै कम्पनीको मूलउद्देश्य रहेको मेगा क्यापिटल मार्केट्सका अध्यक्ष ईश्वरबहादुर गुरुङ्ले बताए । केही दिनपछि औपचारिक कार्यक्रम गरी मेगा क्यापिटल मार्केट्सको विधिवत् रुपमा कारोबार प्रारम्भ गर्ने जानकारी दिएका छन् ।
नबिल बैंकले २ अर्बको ऋणपत्र निष्काशन गर्दै, व्यवस्थापन गर्न लक्ष्मी क्यापिटलसँग संझौता
काठमाडौं । नबिल बैंकले जारी गर्न लागेको ऋणपत्र निष्काशन व्यवस्थापनको लागि लक्ष्मी क्यापिटल मार्केट लिमिटेडसग निष्काशन व्यवस्थापन सम्झौता गरेको छ । उक्त सम्झौता बमोजिम बैंकले निष्काशन गर्न लागेको २ अर्ब बराबरको(२०,००,००० एकाइ ऋणपत्र प्रति एकाइ रु १,००० का दरले) ऋणपत्रको सार्वजनिक निष्काशन तथा व्यक्तिगत तवरमा विक्री कार्यको व्यवस्थापन लक्ष्मी क्यापिटलले गर्नेछ । सो सम्झौतामा बैंकको तर्फबाट बैंकका प्रमुख कार्यकारी अधिकृत अनिलकेशरी शाह तथा लक्ष्मी क्यापिटलका तर्फबाट लक्ष्मी क्यापिटलका प्रमुख कार्यकारी अधिकृत राजिव सापकोटाले हस्ताक्षर गरेका छन् ।