एटीएम सेवाको प्रयोग र विश्वासनीयता कति ?
नेपालमा बैंकिङ सेवा शुरु भएको ८ दशक भएको पूरा भएको छ । विक्रम सम्वत् १९९४ कात्तिक ३० गते नेपाल बैंक लिमिटेडले स्थापनासँगै बैंकिङ सेवा शुरु भएको हो । २०१३ वैशाख १४ गते नेपाल राष्ट्र बैंकको स्थापना भएको थियो । राष्ट्र बैंकको स्थापना हुनु अघि नेपाल बैंकले नै केन्द्रीय बैंकको पनि काम गर्ने गरेको थियो । बैंकिङ सेवा शुरु भएको लामो समयपछि अर्थात सन् १९९४ बाट मात्र नेपालमा अटोमेटेड टेलर मेशिन(एटीएम) प्रविधिको शुरुवात भएको पाइन्छ । यसपछि नेपालमा विस्तारै प्रविधि भित्रन थाल्यो । चेकबाट रकमको कारोबार गर्न बैंकमा धाउनै पर्ने बाध्यताबाट बिस्तारै उन्मुक्ति मिल्दै गएको छ । प्रबिधिको माध्यमबाट पैसाको कारोबार हुने क्रम बढ्दै गएको छ । रकम भुक्तानी प्रणालीलाई सरल र सहज ढंगले विकास गराउँदै एटीएम, मोबाइल बैंकिङ, इन्टरनेट बैंकिङ जस्ता प्रविधि भित्रिएका छन् । तर, यसको पहुँच सबै वर्ग र क्षेत्रमा पुग्न सकेको छैन । प्रबिधिको प्रयोगले बैंकिङ रकम भुक्तानीलाई सहज बनाएको छ, पैसा साट्न बैंकमा लाइन लाग्नु पर्ने झन्झटबाट उन्मुक्ति मिलेको छ । कही जाँदा नगद बोकेर हिड्नु पर्दा सुरक्षा चुनौतिपनि हुने गरेको थियो, त्यसमा पनि सहजता मिलेको छ । बैंकिङ समय बाहेक पनि एटीएमबाट पैसा निकाल्न सकिन्छ । आपतकालीन अवस्थामा यो सेवा निकै फाइदा पुर्याउने गरेको छ । पछिल्लो चरणमा होटल खाजा खाँदा होस् या सपिङमा जाँदा होस् नगर बोकेर हिड्नु पर्दैन । आफ्नो एकाउन्टमा ब्लालेन्स छ भने एटीएम बोकेर हिडे पुग्छ । एटीएमबाटै भुक्तानी गर्न सकिने गरी प्रविधिको विकास भइसकेको छ । एटीएम प्रयोगले ग्राहकलाई परिरहेको मर्का बैंक तथा वित्तीय संस्थाहरुले एटीएम सेवा उपलब्ध गराएर ग्राहकहरुलाई सुबिधा दिएका छन् । तर, ग्राहकले एटीएम लिएको बैंक तथा वित्तीय संस्थाको एटीएम सेवा सबै ठाउँमा नहुन सक्छ । त्यस्तो बेला अर्कै बैंक तथा वित्तीय संस्थाले सञ्चालन गरेका एटीएम बुथबाट पनि पैसा निकाल्नु पर्ने हुन्छ । तर, अर्कै बैंकको एटीएमबाट पैसा निकाल्दा एक पटकको कारोबारमा न्यूनतम ५० रुपैयाँ पैसा काटिन्छ । यसले ग्राहकहरुलाई मर्कामा पारिरहेको छ । सबै बैंक र वित्तीय संस्थाले यसरी ग्राहकलाई मर्कामा पारेका छैनन् । केहीले पैसा नकाटिने गरी सेवा पनि दिएका छन् । पैसा काटेर मर्कामा पार्ने क्रम बैंक तथा वित्तीय संस्थाले बन्द गर्नु पर्छ । साँच्चै सेवा दिने हो भने जुन सुकै बैंक तथा वित्तीय संस्थाको एटीएम कार्डबाट जुनसुकै एटीएम बुथबाट पैसा निकाल्दा कुनैपनि शुल्क लाग्नु हुन्न । प्रयोग गर्ने बिधि फरक फरक नेपालका बैंक तथा वित्तीय संस्थाले दिइरहेको एटीएम सेवाको प्रयोग गर्ने विधि एकै खालको छैन । भाषाको कारणले पनि ग्राहकहरुलाई अप्ठ्यारो भइरहेको छ । अंग्रेजी भाषा र त्यसमाथि टेक्निकल वर्ड नबुझ्दा सहजरुपमा एटीएमबाट सेवा लिन समस्या हुने गर्छ । त्यसकारण बैंकका कर्मचारीहरुको सहयोग लिनु पर्ने हुन्छ । प्रयोग गर्न नजान्दा कहिले काँही एटीएम कार्ड मेशिन मै अड्कने गर्छ भने कहिले काँही पिन कोड थिचेर रकम तय गरिसकेपछि पनि मेशिनबाट पैसा निस्कदैन, तर मोबाइलमा पैसा खाताबाट काटिएको म्यासेज आउँछ । आफ्नो खाताबाट कटेको पैसा पुनः खातामा फर्काउन सम्बन्धित बैंकमा निवेदन दिनु पर्ने हुन्छ । यसले गर्दा ग्राहकले एटीएम कार्ड प्रयोग गर्न झन्झट मानिरहेको पाइन्छ । आफुलाई चाहिएको बेला, आपत परेको बेला एटीएमबाट पैसा निकाल्न जाँदा त्यहाँ पैसा सकिएको हुन्छ । यसकारण पनि सेवाग्राहीले नयाँ प्रविधिको प्रयोग पूर्ण रुपमा गर्न पाइरहेका छैनन् । अहिलेको युवा पुस्ता कार्ड प्रयोगका लागि अभ्यस्त भएपछि पाका उमेरका व्यक्तिहरु भने कार्ड प्रयोग गर्न अल्मलिने गरेका छन् । एकातिर बैंक तथा वित्तीय संस्थाहरु सूचना प्रविधिको प्रयोग गरी डिजिटाइजेशनमा जाने योजना बनाइरहेका छन् भने सेवाग्राही चाँही सहजरुपमा सेवा लिन सक्ने अवस्थामा देखिदैनन् । एटीएमका जोखिम एटीएम प्रयोगका फाइदा धेरै छन् । फाइदासँग जोखिम पनि रहेको छ । आधुनिक उपकरण प्रयोग गरेर नेपालमा एटीएम प्रयोगकर्ताको डाटा चोरेर विदेश पठाउने र उतैबाट पैसा चोरी गर्ने गिरोह पनि सक्रिय रहने गरेको छ । अन्तर्राष्ट्रिय ह्याकरको गिरोह नेपालमा पनि सक्रिय हुन थालेपछि प्रहरीले सबै एटीएम प्रयोगकर्तालाई सुरक्षा अपनाउन आग्रह समेत गर्ने गरेको छ । बैंक तथा वित्तीय संस्थाले विभिन्न स्थानमा ग्राहकको सहजताका लागि एटीएम मेशिन सञ्चालनमा ल्याएका छन् । ती एटीएम बुथहरुमा सुरक्षाको अभाव हुने गरेको छ । बेला बेलामा एटीएम फुटाएर रकम चोरी भएका घटना सार्वजनिक हुने गरेका छन् । सुरक्षित कसरी हुने ? आफूले प्रयोग गर्ने एटीएम बुथहरुमा कुनै अस्वभाविक उपकरण छ कि छैन हेर्ने, आफूले पैसा निकालेपछि थाहा पाउने मोवाइल एलर्ट राख्ने र आफ्नो कार्ड अरुलाई देखाउनु हुँदैछ । एटीएम ह्याकर नेपालमा मात्र होइन, भारत र युरोपतिर पनि सक्रिय रहेको छ । ह्याकरको निशानामा परेपछि भारतमा ३२ लाख भन्दा बढी एटीएम कार्ड रद्द गरिएको थियो । अमेरिकामा समेत यस्ता घटना हुने गरेका छन् । कति छन् बैंक खाता र इलेक्ट्रोनिक प्रविधि प्रयोगकर्ता ? नेपाल राष्ट्र बैंकको तथ्याङ्क अनुसार बचत खाता प्रयोगकर्ताको संख्या २ करोड ५६ लाख ५८ हजार ३ सय ८७ रहेको छ । मोवाइल बैंकिङका प्रयोगकर्ता ६३ लाख ९४ हजार ९ सय १६ छन् भने इन्टरनेट बैंकिङ सुबिधा लिनेको संख्या ८ लाख ५६ हजार ६ सय ९५ छ । त्यसैगरी डेबिट कार्ड प्रयोगकर्ता ५९ लाख ६२ हजार ८ सय ३८, क्रेडिट कार्ड प्रयोगकर्ता १ लाख ५ सय २७ र प्रिपेड कार्ड प्रयोगकर्ताको संख्या ६४ हजार ४ सय ८४ रहेको छ ।
कुलेश्वर र कोटेश्वरमा एनआईसी एशिया बैंकको शाखा बिस्तार
काठमाडौँ । एनआईसी एशिया बैंकले काठमाडौं उपत्यकाभित्र २ नयाँशाखा कार्यालयहरुको सोमबार औपचारिक उद्घाटन कार्यक्रम सम्पन्न गरेको छ । काठमाडौं महानगरपालिका वडा नं १४, मेट्रो हल, कुलेश्वर स्थित कुलेश्वर शाखाको उपप्रादेशिक कार्यालय, प्रदेश नं ३ का प्रमुख अमित केÞÞ सीबाट तथा काठमाडौं महानगरपालिका वडा नं ३२, कोटेश्वर स्थित कोटेश्वर शाखाको प्रादेशिक कार्यालय, प्रदेश नं ३ का प्रमुख राजेश रावलबाट उद्घाटन भएको हो ।
सिद्धार्थ बैंकको ४ नयाँ शाखा बिस्तार
काठमाडौँ । सिद्धार्थ बैंकले सोमबार मोरङको कञ्चनबारी, रूपन्देहीको अमरपथ, झापाको राजमार्ग चोक र काठमाडौंको कपनमा ४ नयाँ शाखाहरू सञ्चालनमा ल्याएको छ । बैंकले उक्त क्षेत्रका सर्वसाधारण तथा उद्यमीे माझ सबै प्रकारका निक्षेप तथा कर्जा कारोबार सुविधा, रकम भुक्तानी लगायत सम्पूर्ण बैंकिङ्ग सेवा पुर्याउने उद्देश्यले उक्त शाखाहरु सञ्चालनमा ल्याएको जनाएको छ । बैंकिङ्ग प्रणालीलाई थप प्रविधिमैत्री बनाउन सिद्धार्थ बैंकले इन्टरनेटको माध्यमबाट आफ्नो रोजाइको बचत खाता खोल्न सकिने सुविधा, अत्याधुनिक प्रविधियुक्त इन्टरनेट तथा मोबाइल बैंकिङ्ग सेवा प्रदान गर्दै आएको छ ।