माछापुछ्रे बैंकले झापा र मोरङमा शुरु गर्यो १४ शाखा रहित बैंकिङ सेवा

काठमाडौँ । माछापुछ्रे बैंक लिमिटेडले प्रदेश १ को झापा र मोरङमा १४ शाखा रहित बैंकिङ सेवा एकैपटक संचालनमा ल्याएको छ । बैंकले झापाका विभिन्न १३ स्थान र मोरङको लेटाङ्गमा १ गरी कुल १४ वटा स्थानमा शाखा रहित बैंकिङ सेवाको औपचारिक सुरुवात गरेको हो । बैकिङ्ग पहुँचदेखि टाढा रहेका ग्रामीण भेगमा बैंकले आफ्ना शाखा रहित बैंकिङ्ग सेवा केन्द्रहरु मार्फत अत्याधुनिक बैकिङ्ग सेवा पुर्याइरहेको छ । यी सहित माछापुछ्रे बैंक लिमिटेडको हालसम्म ९७ शाखा रहित बैंकिङ सेवा सुचारु भईसकेको बैंकले जनाएको छ । ग्राहक सेवा केन्द्रको रुपमा संचालित शाखा रहित सेवा केन्द्रहरुबाट खाता खोल्ने, रकम जम्मा गर्ने र झिक्ने, रेमिटेन्स भुक्तानी, साथै कर्जा आवेदन गर्ने समेत व्यवस्था गरेको छ । बैंकले नेपालमै पहिलो पटक तुरुन्त (रियल टाइममा) खाता खोल्ने व्यवस्था गरेको छ भने चिपमा आधारित डेबिट कार्ड पनि तुरुन्त उपलब्ध गराएको छ ।

एनआईसी एशियाका ग्राहकलाई ह्याम्स हस्पिटलमा १० प्रतिशत छुट

काठमाडौँ । एनआईसी एशिया बैंक लिमिटेड र ह्याम्स हस्पिटल, धुम्बाराहीबीच संझौता भएको छ । बैंकका कर्मचारी, कर्मचारीका परिवार, बैंकको डेबिट एवम् क्रेडिट कार्डवाहक तथा बैंकका सम्पूर्ण ग्राहकवर्गहरुलाई ह्याम्सहस्पिटलमा उपचार गराउँदा हस्पिटलको विभिन्न सेवा सुविधाहरुमा १०% सम्मको छुट प्रदान गर्ने सम्झौता भएको हो । उक्त सम्झौता पत्रमा बैंकको तर्फबाट बैंकका प्रमुख बजार व्यवस्थापन अधिकृत सन्तोषकुमार राठी र हस्पिटलको तर्फबाट ह्याम्स हस्पिटलका अध्यक्ष आरएस भण्डारीले हस्ताक्षर गरेका छन् ।

ग्लोबल आइएमईद्वारा करुण फाउण्डेशनलाई २१ थान व्हीलचेयर हस्तान्तरण

काठमाडौँ । ग्लोबल आइएमई बैंक लिमिटेडले करुणा फाउन्डेशन नेपाललाई स्पेशल व्हील चेयर सहित २१ थान व्हील चेयर हस्तान्तरण गरेको छ । बैंकका बजार तथा व्यवसाय प्रवद्र्धन विभागका प्रमुख गणेश अवस्थीले करुणा फाउन्डेशन नेपालका कार्यकारी निर्देशक दीपकराज सापकोटालाई व्हील चेयरहरु हस्तान्तरण गरेका हुन् । करुणा फाउन्डेशन नेपाल वि.स.२०७२ देखि इलाम र सुनसरी जिल्लामा अपाङ्गता रोकथाम र अपाङ्गता भएका व्यक्ति र तिनका परिवारको जीवनमा गुणस्तरीय सुधार ल्याउन क्रियाशील रहँदै आएको छ ।