नबिल बैंकबाट नेपाल इन्स्योरेन्सको बीमा सेवा पाइने
काठमाडौँ । नबिल बैंक लि. र नेपाल इन्स्योरेन्स कम्पनी लि.बीच बीमा सेवा प्रदान गर्ने सम्बन्धी सम्झौता भएको छ । सम्झौता अनुुसार नबिल बैंकको कर्पोरेट तथा विभिन्न शाखा कार्यालयहरुवाट बैंकका ग्राहकहरुले नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेडले प्रदान गर्ने निर्जीवन बीमा सम्बन्धी सेवा प्राप्त गर्नेछन् । सम्झौतामा नविल बैंकका तर्फवाट रेटेल हेड नीरज शर्मा र नेपाल इन्स्योरेन्सका तर्फबाट प्रमुख कार्यकारी अधिकृत बिजयबहादुर शाहले हस्ताक्षर गरेका छन् ।
राष्ट्र बैंकले १ अर्ब ३० करोड मुद्दती निक्षेपमा राख्ने, आवेदन दिन बैंकलाई आग्रह
काठमाडौँ । नेपाल राष्ट्र बैंकले रु एक अर्ब ३० करोड ५५ लाख बराबरको रकम विभिन्न बैंक तथा वित्तीय संस्थामा मुद्दती निक्षेपमा राख्ने भएको छ । केन्द्रीय बैंकले एक सूचनामार्फत २०७६ जेठ १ गतेदेखि २०७७ वैशाख ३१ गतेसम्म ३६५ दिनको लागि मुद्दती निक्षेपमा राख्ने जनाएको हो । त्रैमासिकरुपमा भुक्तानी हुने गरी लगानी गर्ने गरी सूचना प्रकाशित गरेको हो । बैंकले रु एक अर्ब चार करोड ४४ लाख बराबरको रकम ‘क’ वर्गका वाणिज्य बैंकमा लगानी गर्ने छ । यस्तै ‘ख’ वर्गका बैंकका रु १९ करोड ५८ करोड र ‘ग’ वर्गका राष्ट्रियस्तरका वित्त कम्पनीमा रु छ करोड ५३ लाख मुद्दती निक्षेपमार्फत लगानी गर्ने भएको हो । बैंकले त्यस्तो निक्षेप लिन चाहने बैंक तथा वित्तीय संस्था सञ्चालनमा आएको दुई वर्ष हुनुपर्ने, बैंकबाट तोकिएको न्यूनतम पूँजी कोष कायम भएको, निष्क्रिय कर्जा कूल कर्जा सापटको पाँच प्रतिशतभन्दा कम भएको हुनुपर्ने, खुद तरल सम्पत्ति स्वदेशी निक्षेपको कम्तीमा २० प्रतिशत वा सोभन्दा बढी रहेको हुनुपर्ने शर्त राखेको छ । यस्तै, कर्जा स्वदेशी निक्षेप र प्राथमिक पूँजी अनुपात बैंकले समय समयमा निर्धारण गरेको सीमाभित्र रहेको, सञ्चालन मुनाफा कमाएको र रियल स्टेट कर्जा बैंकबाट तोकिएको सीमाभन्दा बढी नभएको, बैंकका सञ्चालक तथा प्रमुख कार्यकारी अधिकृत एवं कार्यकारी सञ्चालक कारवाही परेको हुन नहुने र कारवाहीमा परेको भए फुकुवा भएको छ महिना पूरा भएको हुनुपर्ने शर्त राखिएको छ । सर्वसाधारणका लागि छुट्याइएको साधारण शेयर बिक्री गरेको हुनुपर्ने व्यवस्थासमेत उक्त परिमाणको निक्षेपका लागि आवश्यक पर्ने बैंकले जनाएको छ । बैंकले उक्त निक्षेप लिनका लागि सिलबन्दी फारम भरी यही वैशाख २३ गतेसम्म आवेदन दिन आग्रह गरेको छ । रासस
४१ प्रतिशत नाफा बढ्दा मुक्तिनाथले कमायो ६० करोड, निक्षेप ७० प्रतिशतले बढ्यो
काठमाडौं । मुक्तिनाथ विकास बैंकले आफ्नो नाफामा ४१ प्रतिशत वृद्धि गरेको छ । अघिल्लो आर्थिक वर्षको ९ महिनामा कमाएको ४२ करोड ७५ लाख नाफालाई यो आर्थिक वर्षको सोही अवधिमा ६० करोड २० लाख पुर्याउँदा नाफाको आकार ४०.८८ प्रतिशतले वृद्धि भएको हो । अघिल्लो वर्ष २४ अर्ब ५४ करोड निक्षेप र २१ अर्ब ९९ करोड कर्जा प्रवाहको अवस्थालाई क्रमशः ७०.०३ प्रतिशत र ६५.७६ प्रतिशतले वृद्धि गर्दै बैंकले निक्षेप ४१ अर्ब ८० करोड र कर्जा ३६ अर्ब ४५ करोड पुर्याएको छ । बैंकको कस्ट अफ फण्ड ८.७४ प्रतिशत, बेसरेट ११.२९ प्रतिशत, आरओई १९.५० प्रतिशत, र ब्याजको स्प्रेडदर ४.९९ प्रतिशत छ ।