कृषि विकास बैंककाे नाफा २२१ कराेड, कस्ट अफ फण्ड बढे पनि बेसरेट घट्यो
काठमाडौं । अघिल्लो वर्षमा अत्याधिक रहेको कर्मचारी खर्चमा सुधार ल्याउँदा बहुसंख्यक सरकारी लगानी रहेको कृषि विकास बैंक लिमिटेडको नाफामा सुधार देखिएको छ । अघिल्लो वर्षको ९ महिनामा कमाएको १ अर्ब ७९ करोड रुपैंयाका अबस्थालाई बढाएर बैंकले २ अर्ब २१ करोड रुपैंया नाफा पुर्याएको हो । यो करिब २३ प्रतिशतको वृद्धि हो । बैंकले एक वर्षको अवधिमा निक्षेप ८ अर्बले बढाएर १ खर्ब १२ अर्ब तथा कर्जा लगानी करिब १० अर्बले बढाएर १ खर्ब १० अर्ब पुर्याएको छ । ६ प्रतिशत लाभांशको ६ अर्ब अग्राधिकार शेयर भएको कृषि विकास बैंक लिमिटेडले कर्मचारी खर्चमा अघिल्लो वर्षको करिब १९ करोडले कमी ल्याई २ अर्ब ५३ करोडबाट २ अर्ब ३४ करोडमा झारेको छ । ब्याज आम्दानीमा भने बैंकले ४ अर्ब ४१ करोड रुपैंयाबाट बढाएर ५ अर्ब ३० करोड पुर्याएको छ । अघिल्लो वर्षको तुलनामा कस्ट अफ फण्ड बढेर ७.१५ प्रतिशतबाट ७.३६ बढ्दा पनि बैंकले आधार ब्याजदर १२.७२ प्रतिशतबाट ११.१६ प्रतिशतमा झारेको छ । बैंकको ब्याजको स्प्रेडदर ७.६१ प्रतिशतबाट ५.२० प्रतिशतमा झारे पनि यो पर्याप्त भने होइन । बैंकले असार मसान्तसम्म यो दरलाई ४.५ प्रतिशतमा झार्नेपर्ने हुन्छ । बैंकको निष्क्रिय कर्जा अनुपात ५.९८ प्रतिशतबाछ ४.२२ प्रतिशतमा झरेको छ तर लोन लस प्रोभिजन अघिल्लो वर्ष १२८ प्रतिशतबाट घटेर ८५ प्रतिशतमा झरेको छ ।
सिद्धार्थ बैंकको ४ शाखा बिस्तार, शाखा १५३ वटा पुगे
काठमाडौँ । सिद्धार्थ बैंकले बुधबार काठमाडौँ को काँडाघारी, भक्तपुरको मध्यपुर थिमि, कैलालीको क्याम्पस चोक र अत्तरियामा शाखा बिस्तार गरेको छ । बैंकको काँडाघारी शाखाको उद्घाटन कागेश्वरी मनोहरा नगरपालिकाका मेयर कृष्णहरि थापा, मध्यपुर थिमिको उद्घाटन प्रतिनिधि सभाका सदस्य महेश बस्नेत, क्याम्पस चोक शाखाको उद्घाटन धनगढी उपमहानगरपालिकाका मेयर निर्पबहादुर ओड र अत्तरिया शाखाको गोदावरी नगरपालिकाका मेयर हरिसिंह साउदले उद्घाटन गरे । बैंकले देशभर १५३ वटा शाखा(४ एक्स्टेन्सन् काउन्टर सहित), १०० शाखारहित बैंकिङ्ग सेवा, १६३ एटीएम र १,३०० भन्दा बढी पीओएस मेसिन मार्फत बैैकिङ्ग सेवा प्रदान गर्दै आएको छ ।
गण्डकी विकास बैंकले शुरु गर्यो ‘गण्डकी स्मार्ट’ सेवा
काठमाडौँ । गण्डकी विकास बैंक लिमिटेडले विभिन्न अत्याधुनिक सुविधा सहितको गण्डकी स्मार्ट सेवा सञ्चालनमा ल्याएको छ । स्मार्ट मोवाइलबाट चलाउन सकिने उक्त सेवा भित्र पछिल्लो समयमा प्रयोगमा रहेको मोवाइल बैंकिङ्गका साथै इन्टरनेट बैंकिङ्ग र भुक्तानी प्रणालीका विशेषताहरु समेत समेटिएका छन् । जीपीआरएस/बाइफाई इन्टरनेट वा एसएमएस कुनैपनि माध्यमवाट चलाउन सकिने उक्त सेवावाट बायोमेट्रिक लगइन, प्रयोगकर्ता क्यू आर कोड, क्यूआर कोड पेमेन्ट, बिद्युत महशुल भुक्तानी, खानेपानी महशुल भुक्तानी, गण्डकी विकास बैंक भित्र वा अन्य सदस्य बैंकहरुमा रकमान्तरण सुविधा, मोवाइल टपअप, इन्स्योरेन्स प्रिमियम भुक्तानी, इन्टरनेट विल, एयरलायन्स टिकट खरिद, बैंक शाखा तथा एटीएम रहेका स्थान विवरण, खाताको विवरण डाउनलोड सुविधा लगायतका विभिन्न सेवाहरु रहेका छन् । प्रविधिमा आएको विकाससँगै बैंकका सेवा सुविधालाई छिटो छरितो र स्तरीय बनाउन यो सेवा सञ्चालनमा ल्याएको बैंकका प्रमुख कार्यकारी अधिकृत रेशमवहादुर थापाले जानकारी दिए ।