विश्व बैंकले गर्यो सन् २०२१ सम्मको आर्थिक वृद्धिदरको प्रक्षेपण, यसवर्ष ७.१ प्रतिशत रह्ने

काठमाडौं । विश्व बैंकले चालु आर्थिक वर्षमा नेपालको आर्थिक वृद्धिदर ७.१ प्रतिशत पुग्ने संशोधित अनुमान प्रक्षेपण गरेको छ । बिहीबार राजधानीमा कार्यक्रम आयोजना गरेर बैंकले नेपाल डेभलमपेन्ट अपडेट सार्वजनिक गरेको हो । केन्द्रीय तथ्यांक विभागले यस अघि वैशाखमा यस वर्ष मुलुकको आर्थिक वृद्धिदर ६.८१ प्रतिशत रह्ने तथ्यांक सार्वजनिक गरिसकेको छ । विभागले सो तथ्यांक सार्वजनिक गरेपनि आगामी आवको बजेट प्रस्तुत गर्दा अर्थमन्त्री डा. युवराज खतिवडाले ७ प्रतिशतको आर्थिक वृद्धिदर हासिल हुने अनुमान प्रस्तुत गरेका थिए । विश्व बैंकको पछिल्लो प्रक्षेपणले लक्षित आर्थिक वृद्धिदर हासिल हुन नसकेपनि नेपालको अर्थतन्त्र केही उस्किएको तथ्यांक सार्वजनिक गरेको छ । बैंकले आगामी आव २०७६/७७ मा ६.४ प्रतिशत आर्थिक वृद्धि रह्ने समेत प्रक्षेपण गरेको छ भने आव २०७७/७८ मा साढे ६ प्रतिशत आर्थिक वृद्धिदर रह्ने अनुमान गरेको छ । कार्यक्रममा डा. खतिवडाले दोहोरो अंकको आर्थिक वृद्धि दीगो विकास हुनुपर्ने बताए । बैंकले यस वर्ष ४.१ प्रतिशत मूल्य वृद्धि रहने अनुमान गरेको छ । नेपाल सरकारले भने साढे चार प्रतिशत मूल्य वृद्धि रह्ने तथ्यांक सार्वजनिक गरेको छ । विश्व बैंकले आयोजना गरेको कार्यक्रममा बोल्दै अर्थमन्त्री डा. युवराज खतिवडाले मुलुकको दीगो विकासका लागि तीव्रगतिमा काम गर्नुपर्ने बताए । अहिले जति विकास भएका छन्, यसलाई दीगो बनाउदै यसबाट अझ बढी प्रतिफल लिने बनाउनु पर्ने हुन्छ,’ डा. खतिवडाले भने ‘ विश्व बैंकको यो डकुमेन्टमा धेरै कुरा आएका छन् । नेपालको पूर्वाधार निर्माणदेखि सामाजिक पक्षलाई समेत समेटेर बनाइएको प्रतिवेदनले नेपालको विकासमा थप टेवा पुग्छ । विस्तारै हाम्रो अर्थतन्त्र बढ्दै छ । स्रोत र साधन निश्चित छन्,’ उनले थपे ‘संघीयतालाई संस्थागत गर्न चुनौती छ ।’ आर्थिक विकासमा समानुपातिक सहभागिता आवश्यक रहेको उनको भनाइ छ । देशको अर्थतन्त्र बढ्दै गएपनि स्रोत व्यवस्थापनमा तथा राजस्व संकलनमा भन्सारमा निर्भर हुनुपरेको उनले बताए । कार्यक्रममा विश्व बैंक नेपालकी वरिष्ठ अर्थशास्त्री केन एजिमेनारीले व्यापार घाटा नेपालका लागि चुनौतीपूर्ण भएपनि दीगो विकास लक्ष्य प्राप्त गर्न तिव्र गतिमा विकास निर्माणका काम गरिनु पर्ने बताइन् । विश्व बैंकका दक्षिण एसिया अर्थशास्त्री हेन्स टिमरले कमजोर निर्यात, अस्वस्थ प्रतिष्पर्धाको बजार र महिला सहभागिता निकै कम हुनु नेपाली अर्थतन्त्रका लागि चूनौती रहेको जानकारी दिइन् ।

आज १५ अर्बको रिपो जारी गर्दै नेपाल राष्ट्र बैंक

काठमाडौं । वित्तीय बजारमा लगानी योग्य पुँजी अभाव देखिएपछि नेपाल राष्ट्र बैंकले आज बिहीबार १५ अर्ब रुपैयाँको रिपो जारी गर्ने भएको छ । एक सातामा परिपक्व हुने गरी राष्ट्र बैंकले रिपो जारी गर्न लागेको हो । रिपो बिहीबार अपराह्न ३ बजे बोलकबोल हुने राष्ट्र बैंकले जानकारी दिएको छ । जेठ ३० गते परिपक्क हुने यस रिपोको ब्याजदर ५ प्रतिशत तोकिएको छ । बैंकिङ प्रणालीमा लगानीयोग्य पुँजी अभाव देखिएमा राष्ट्र बैंकले अल्पकालीन अवधिको तरलता प्रवाह गर्न रिपो जारी गर्ने गर्दछ । बजारमा लगानी योग्य तरलता बढी भएमा तरलता प्रशोचन गर्ने गर्दछ । यसको मापनको लागि राष्ट्र बैंकले ब्याजदर करिडोर लागू गरेको छ । अन्तर बैक कारोबार ५ प्रतिशतभन्दा माथि ब्याजदर गएमा राष्ट्र बैंकले बजारमा तरलता पठाउने गर्छ भने ब्याजदर तल ओर्लिएमा बजारबाट पैसा खिच्ने गर्दछ । ब्याजदर करिडोर उच्च विन्दु सातलाई मानिएको छ भने तल्लो विन्दु तीनलाई मानिएको छ । ५ भने मध्यम विन्दु हो । आज हुन लागेको रिपोको बोलकबोलमा ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थाले भाग लिन पाउनेछन् ।

प्राइमले कन्काईलाई एक्वायर गर्यो, अध्यक्ष भन्छन्-‘हामीबीच इन्गेजमेन्ट भयो अब छिट्टै भित्र्याउँछौं’

काठमाडौं । प्राइम कमर्शियल बैंकले कन्काई विकास बैंक लिमिटेडलाई प्राप्ति(एक्विजिसन) गर्ने सम्झौता गरेको छ । प्राइमले बुधबार एक कार्यक्रमबीच झापाको दमकस्थित रहेको कन्काई विकास बैंकलाई प्राप्ति गर्ने सम्बन्धि सम्झौतापत्रमा हस्ताक्षर गरेको हो । उक्त सम्झौतापत्रमा प्राइम कमर्सियल बैंकका तर्फबाट सञ्चालक समितिका अध्यक्ष उदयमोहन श्रेष्ठ र कन्काई विकास बैंकको तर्फबाट सञ्चालक समितिका अध्यक्ष सेवक दाहलले हस्ताक्षर गरेका हुन् । कार्यक्रममा प्राइमका अध्यक्ष श्रेष्ठले कन्काईलाई प्राप्त गर्न पाउँदा खुसी व्यक्त गर्दै भने, “हामीबीच इन्गेजमेन्टकाे काम सकियाे, अब राष्ट्र बैंकले स्वीकृति दिएपछि भित्र्याउने अर्थात एकिकृत कारोबार शुरू गर्ने छाैं। साथै, यस सम्झौताले अब पूर्वतिरको व्यापार विस्तार गर्न पनि सहयोग मिल्ने छ ।” सेयरधनीलाई प्रतिफल कति दिने भन्ने विषयलाई उठाउँदै उनले भने “हामीले स्थापनादेखि नै सेयरधनीहरुलाई निरन्तर राम्रो प्रतिफल दिँदै आएका छौं । अब आगामी दिनमा थप राम्रो प्रतिफल दिने प्रतिवद्धता गर्दछौं ।” त्यस्तै, कन्काई विकास बैंकका अध्यक्ष दाहलले भने, “वित्तीय संस्थामा नम्बर वान भन्ने प्रतिवद्धताका साथ करिब १३ वर्षसम्म छोरी जस्तै प्यारो गरी हुर्काएको संस्थालाई जिम्मा लगाउँदै छौं । १ र १ जोडेर २ नभई ११ बनाउने विश्वासका साथ हामीले जिम्मा लगाएका हाैं ।”  साथै, यस मर्जर प्रकृयाले सम्पूर्ण सेयरधनीहरु खुसी हुनुका प्राइम बैंकको थप प्रगतिमा सहयोग पुग्ने उनले बताए । त्यस्तै, हाल प्राइम बैंकको कर्मचारी संख्या ७२० रहेकाे छ । कन्काईलाई प्राप्ति पश्चात प्राइमको कर्मचारी संख्या ८०० नाघ्ने प्राइमका अध्यक्ष श्रेष्ठले बताए ।