भाटभटेनीबाट पठाएको पैसाको भुक्तानी एनसीसी बैंकबाट हुने

काठमाडौँ । नेपाल क्रेडिट एण्ड कमर्स बैंक लि.(एनसीसी बैंक) र भाटभटेनी मनी ट्रान्सफर प्रालिबीच विप्रेषण कारोबार सम्बन्धी सम्झौता भएको छ । सम्झौता अनुसार स्वदेश तथा विदेशबाट भाटभटेनी मनी ट्रान्सफर मार्फत पठाएको पैसा एनसीसी बैंकको कर्पोरेट तथा बिभिन्न शाखा कार्यालयहरुबाट बैंकका ग्राहकहरुले आफूलाई पायक पर्ने शाखाबाट भुक्तानी लिन सक्ने छन् । सम्झौतामा नेपाल क्रेडिट एण्ड कमर्स बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत रमेशराज अर्याल र भाटभटेनी मनी ट्रान्सफरका तर्फबाट प्रबन्धक निर्देशक राजनकुमार अमात्यले हस्ताक्षर गरेका छन् ।

नयाँ सीईओ नियुक्तीसँगै सनराइज बैंकमा खटपट, निरज श्रेष्ठलाई पहिलाे गाँसमै ढुंगा

काठमाडौं । सनराईज बैंकमा प्रमुख कार्यकारी अधिकृत (सीईओ) नियुक्तीको विषयलाई लिएर सञ्चालक समितिमा खटपट भएको छ । नयाँ सीईओको पक्ष र विपक्षमा सञ्चालक समितिका सदस्यहरू दुई भागमा विभाजित भएका छन् । सीईओ  नियुक्त गर्न गत बुधबार बसेकाे सञ्चालक समितिको बैठकमा मत विभाजित भएपछि सञ्चालक शैलेन्द्र गुरागाई बैठकको बीचमै उठेर निष्केका थिए । उनले प्रस्तावित सीईओको कार्यसम्पादन क्षमता र अस्थिरताबारे प्रश्न उठाएका थिए । सीईओ छनौट समितिमा आफूलाई वाइपास गरेर नाम बोर्डमा ल्याएकोमा पनि उनले असहमति प्रकट गरेका छन् । सीईओ छनौट समितिमा मालचन्द दुगड, बच्चराज तातेल, शैलेन्द्र गुरागाई, ओमकृष्ण जोशी थिए । मालचन्द र गुरागाईको अनुपस्थितिमा छनौट समितिले नाम सिफारिस गरेको थियो । उक्त नाम मालचन्द दुगड अनुपस्थित भएको सञ्चालक समितिमा पेस गरिएको थियो । ‘निरजको नाममा छनौट समितिमा पनि बहुमतको आधारमा निर्णय भयो, सञ्चालक समितिमा पनि बहुमतका आधारमा निर्णय भयो’ सञ्चालक शैलेन्द्र गुरागाईले भने । ‘बैठकमा म उपस्थिति थिईन । नयाँ सीईओ नियुक्ती गर्ने निर्णय प्रक्रियामा मेरो सहभागिता नै छैन’ मालचन्द दुगडले विकासन्युजसँग भने । तर बैंक सञ्चालक समितिको अध्यक्ष मोतिलाल दुगडले नयाँ सिईओ नियुक्तीमा सबैको सहमति भएको बताए । सनराईज बैंकको सञ्चालक समितिमा यसअघि भएको विवाद राष्ट्र बैंकसम्म पुगेको थियो । नयाँ सीईओ नियुक्तीको क्रममा फेरी विवाद देखिएको छ । नियुक्ती कै क्रममा विवाद भएपछि निरज श्रेष्ठलाई बैक चलाउन कठिन हुने अनुभवि बैंकर्सहरु बताउँछन् । ‘सञ्चालक समितिको सर्बसहमतिमा निर्णय गराएर नियुक्ती लिनुपर्ने हो । अहिले नै विवाद भयो भने पछि बोर्डलाई मिलाएर जान गाह्रो हुन्छ’ एक जना अनुभवी बैंकर्सले भने । श्रेष्ठकाे कार्यकाल ४ वर्ष तोकिएको छ । उनले असार २ गतेदेखि जिम्मेवारी समाल्ने छन् ।

सिभिल बैंकका ग्राहकलाई ह्याम्स हस्पिटलको उपचारमा छुट

काठमाडौं । सिभिल बैंक लिमिटेडका ग्राहकहरुले ह्याम्स हस्पिटलमा उपचार गराउँदा आकर्षक छुटहरु पाउनेछन् । बैंकले आफ्ना ग्राहकलाई सहुलियत प्रदान गर्ने उद्देश्यले ह्याम्स हस्पिटलसँग सम्झौता गरेको हो । सम्झौता पत्रमा सिभिल बैंककातर्फबाट नायब प्रमुख कार्यकारी अधिकृत(सीईओ) सुनिल पोखरेल र ह्याम्स हस्पिटलको तर्फबाट अध्यक्ष आर. यस. भण्डारीले हस्ताक्षर गरेका हुन् ।