चेक बाउन्सका धेरै उजुरीकर्ता मिटर ब्याजका कारोबारी

काठमाडौँ । चेक बाउन्सका अधिकांश उजुरीकर्ता मिटर ब्याजका कारोबारी रहेको खुलेको छ । अनुसन्धानमा अधिकांश उजुरीकर्ता मिटर ब्याजी रहेको देखिएपछि प्रहरीले बाउन्स चेकमा उल्लेखित रकमको समेत स्रोत खोजी गर्ने भएको छ । महानगरीय प्रहरी परिसर काठमाडौंका अनुसार प्रत्येक दिन परिसर कार्यालयमा मात्रै चेक बाउन्सका ६५ भन्दा धेरै उजुरी पर्ने गरेका छन् । मातहतका १४ वृत्तमा पनि दैनिक ६५ कै दरले उजुरी पर्छन् । परिसर र वृत्तका उजुरी विश्लेषण गर्दा प्रत्येक दिन सरदरमा दुई करोड रुपैयाँको चेक बाउन्ससम्बन्धी उजुरी कार्यालयमा दर्ता भएको प्रहरी बताउँछ । त्यसमध्ये ५० प्रतिशत उजुरीकर्ता मात्रै वास्तविक पीडित रहेको प्रहरीको अनुसन्धानले देखाएको छ । बाँकी ५० प्रतिशत मिटरब्याजीदेखि विभिन्न पेसाका दलाली रहेको प्रहरीले जनाएको छ । परिसर प्रमुख एसएसपी उत्तम सुवेदीले चेक बाउन्सका उजुरीकर्ता मिटरब्याजीदेखि स्वार्थ केन्द्रित धन्दामा लागेकाहरू पाइएपछि अब चेकमा उल्लेखित रकमको स्रोत खोजिने बताए । उनले भने, ‘पछिल्लो समय लागू भएको मुलुकी संहिताले चेक बाउन्सलाई फौजदारी मुद्दाअन्तर्गत राखेको छ । वास्तविक पीडितले न्याय पाउने उद्देश्यले कानुनको कल्पना गरिएको हो । तर, पछिल्ला दिन मिटरब्याजीदेखि स्वार्थ केन्द्रित धन्दामा लागेकाहरूले यसलाई हतियार बनाए । हामी कहाँ आउने अधिकांश उजुरी यस्तै समूहका छन् । त्यसैले प्रत्येक चेकमा उल्लेखित रकमको स्रोत खोज्दै छौँ ।’ प्रहरीका अनुसार गत साउनयता परिसरमा मात्रै चेक बाउन्समा दुई हजार ४ सय ४८ उजुरी परेका छन् । मातहत रहेका १४ वृत्तमा दुई हजार पाँच सयभन्दा धेरै उजुरी परेका छन् । उजुरी भएका चेक ४० हजारदेखि तीन करोड ५० हजार रुपैयाँसम्मका छन् । आजको नयाँ पत्रिका दैनिकमा समाचार छ ।

राष्ट्र बैंकबाट विदा लिदै नारायण पौडेलले भने–‘तपाईहरु सबैको भलोहोस्’

काठमाडौं । नेपाल राष्ट्र बैंकको कार्यकारी निर्देशक नारायणप्रसाद पौडेलले आजबाट राष्ट्र बैंकबाट अवकाश पाएका छन् । कार्यालय नगई उनले सामाजिक सञ्जालबाट आफू सेवानिवृत भएको जनाउदै राष्ट्र बैंकमा कार्यरत सबैको भलो चिताएका छन् । ३० वर्षे सेवाअवधिका आधारमा अनिवार्य अवकाश लिनु नपर्ने गरि नेपाल राष्ट्र बैंकले २०७४ कात्तिकमा संशोधन गरेको कर्मचारी नियामावली कार्यान्वयन गर्न सर्वोच्च अदालतले बाटो खोलिदिएपछि पनि त्यसको कार्यान्वयन नहुँदा पौडेलसहित चार कार्यकारी निर्देशकले आजबाट अनिवार्य अवकाश पाएका छन् । नारायण पौडेल ‘आज भन्दा ठिक ३० वर्ष अघि २०४६ जेठ २५ गते नेपाल राष्ट्र बैंकको अधिकृत तृतीय पदमा सेवा प्रवेश गरी आजबाट सेवानिवृत्त भएको छु । यस अवधिमा आदरणीय अग्रज, समकक्षी एवम् अन्य सम्पूर्ण साथीहरूसंग विभिन्न हैसियतमा संगै काम गर्ने सुअवसर प्राप्त भयो । पछिल्लो समयमा पत्रकार साथीहरुसंगको सामिप्यमा रहेर काम गर्ने भूमिकामा पनि रहेँ । सँगै रहँदा, बस्दा र सहकार्य गर्दा यदाकदा हामीबीच केही तितामिठा अनुभव पनि रहे होलान्, ती चिरकाल पर्यन्त भने होइनन् । आगामी दिन सबैका लागि शुभ हुन्, शुभ रहुन्, सबैको भलो होस्’ उनले फेसबुकमा लेखेका छन् । पछिल्लाे समय उनी राष्ट्र बैंककाे नियमन विभाग प्रमुख र प्रबक्ताकाे जिम्मेवारीमा थिए । शुक्रबार साँझ बसेको नेपाल राष्ट्र बैंकको सञ्चालक समितिको बैठक अनिर्णयकाे बन्दी बन्दा विदामा बसेका कार्यकारी निर्देशकहरु पौडेल, नरबहादुर थापा, भीष्मराज ढुङ्गाना र भरत शर्मा आचार्यले निराशजनक रूपमा अवकाश पाएका छन् । उनीहरूले इच्छाएकाे अवस्थामा अदालतकाे सहयाेगमा पुर्नवहालीकाे सम्भावना रहेकाे कानुनव्यवसायीहरू बताउँछन् ।

सांग्रिला बैंकले ल्यायो नयाँ इन्टरनेट बैंकिङ्ग सुविधा

काठमाडौँ । सांग्रिला डेभलपमेन्ट बैंकले नयाँ इन्टरनेट बैंकिङ्ग सुविधा ल्याएको छ । पहिलै भएको इन्टरनेट बैंकिङ्ग सुविधामा थप सुविधा सहित अन्तर बैंक रकम ट्रान्सफर (आइबिएफटि), शेडयुल भुक्तानी, चेकबुक व्यवस्थापन, खाताहरुको लिंक, टपअप तथा बिल पेमेन्ट, एकाउन्ट स्टेटमेन्ट, आईपिएस कनेक्ट, रिचार्ड कार्ड, मर्चेन्ट पेमेन्ट जस्ता विभिन्न अन्य सुविधाहरु सहित इन्टरनेट बैंकिङ्गको शुरुवात गरेको हो । नयाँ सुविधा भएको इन्टरनेट बैंकिङ्गबाट ग्राहकहरुले इन्टरनेटको माध्यमबाट विभिन्न सुविधाहरु उपयोग गर्न सक्ने छन् । ग्राहकहरुले बैंकको हाल संचालनमा रहेका ८५ वटै शाखाहरुबाट आफ्ना ग्राहकलाई यो सुविधाको थालनी गरेको बैँकका प्रमुुख कार्यकारी अधिकृत सुयोग श्रेष्ठले बताए ।