सनराइज बैंक लिमिटेडको थप २ शाखारहित बैंकिङ सेवा बिस्तार

काठमाण्डौं । सनराइज बैंक लिमिटेडले बैंकिङ सेवा नपुगेका विभिन्न स्थानहरुमा बैंकिङ्ग सेवा पुर्याउँदै जाने उद्देश्यका साथ २ वटा शाखारहित बैंकिङ्ग सेवा शुरू गरेको छ । बैंकले ३४ औँ शाखारहित बैंकिङ्ग सेवा तनहुँ जिल्लाको व्यास नगरपालिका वडा नं. ९ गजौडे र ३५ औँ शाखारहित बैंकिङ्ग सेवा उदयपुर जिल्लाको त्रियुगा नगरपालिका वडा नं.६, जलजले बजारमा सुरुवात गरेको छ । व्यास नगरपालिका वडां नं. ९ का अध्यक्ष सुरेश थापा र नायव महाप्रबन्धक अपछकुमार यादवले जेठ ३० मा एक समारोहका बीच गजौडेमा शाखारहित बैंकिङ्ग सेवाको उद्घाटन गरे । साथै जेठ ३२ गते ३५ औँ शाखारहित बैंकिङ्ग सेवा त्रियुगा चेम्बर अफ कर्मसका अध्यक्ष गजेन्द्र भगत र बैंकका प्रदेश नं. १ को प्रमुख विवेक निरौलाले संयुक्त रुपमा उद्घाटन गरी पोइन्ट अफ सेल मेसिन हस्तान्तरण गरे ।

नबिल बैंक र काठमाडौं महानगरबीच सम्झौता, फूलका १२ वटा स्तम्भ जडान गर्ने

काठमाडौं । नविल बैंक लिमिटेड तथा काठमाडौं महानगरपालिकाबीच नयाँ सडक गेट अगाडि पूर्वतर्फको र राष्ट्रिय सभागृह गेट अगाडि पश्चिमतर्फको सडकका ट्राफिक आइल्याण्डहरुमा एरोपोनिक प्रणालीबाट फूलका १२ वटा स्तम्भहरु जडान गर्ने सम्झौता भएको छ । आधुनिक प्रविधिको एरोपोनिक प्रणालीबाट फूलको स्तम्भहरुमा नियमित पानीको स्प्रे प्रवाहित गरी बर्षैभरी फूललाई हरियालीयुक्त रमणीय बनाउन काठमाडौं महानगरपालिका तथा नविल बैंक लिमिटेडको सहकार्य रहने जनाइएको छ । काठमाडौं महानगरपालिका नगर प्रमुख बिद्यासुन्दर शाक्यले नबिल बैंकसंगको सम्झौताले काठमाडौंको सुन्दरता बढाउने भएकोले धेरै उत्साहित भएको जानकारी दिए । उक्त सम्झौता पत्रमा हस्ताक्षर गर्दै नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत अनिलकेशरी शाहले यो सहकार्यले हरितकरण प्रयासलाई टेवा पुर्याई काठमाडौं महानगरपालिकामा रहेका सडकका ट्राफिक आइल्याण्डहरुमा सौन्दर्य वृद्धी गरी शहरको वातावरण समेतलाई सपार्ने विश्वास व्यक्त गरे ।

सुर्खेत र लम्कीमा सिभिल बैंक लिमिटेडको नयाँ शाखा बिस्तार

काठमाडौँ । सिभिल बैंकले आफ्नो शाखा बिस्तारको क्रममा बीरेन्द्र नगरपालिकाको सुर्खेतमा र लम्कीचुहा नगरपालिकाको लम्कीमा शाखा संचालनमा ल्याएको छ । सो शाखाको उद्घाटन छुट्टाछुट्टै कार्यक्रमहरुका बीच कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले र लम्कीचुहा नगरपालिकाका मेयर महादेव बजगाईंले उद्घाटन गरे । सुर्खेत शाखाको उद्घाटन समारोहमा सिभिल बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्द गुरुङ, प्रमुख अतिथि तथा कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाही, कर्णाली प्रदेशका सांसदहरु पदमबहादुर रोकाया र थम्मरबहादुर बिष्ट, बीरेन्द्रनगर उद्योग वाणिज्य संघका अध्यक्ष पदमबहादुर शाही, सिभिल बैंकका कर्णाली प्रदेशका प्रमुख शैलेश कार्की लगायतको उपस्थिति थियो । उद्घाटन कार्यक्रममा सिभिल बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्द गुरुङले नेपाललाई समृद्धितर्पm लैजान हामी सबैले नेपाल सरकारले जस्तै आफ्नो ब्यक्तिगत बजेट बनाई आफ्नो सम्भाव्य खर्चहरुको उचित व्यवस्थापन गरी बचेको रकमलाई बैंकमा जम्मा गरी उत्पादनमुलक क्षेत्रमा लगानी गर्नको लागी आवश्यक पुजीँको निर्माण गर्न आग्रह गरे । सुर्खेत र लम्कीशाखा सहित सिभिल बैंककोे शाखा संख्या ८१ पुगेकोे बैंकले जनाएको छ ।