भरतपुरमा देवः विकास बैंकको शाखा संचालन
काठमाडौं । देवः विकास बैंकले भरतपुरमा नयाँ शाखा संचालनमा ल्याएकाे छ । उक्त शाखा कार्यालयको उद्घाटन बैंक संचालक समितिका अध्यक्ष अवकाश प्राप्त उपरथी बज्र गरुङ्गले गरेका हुन् । कार्यक्रममा मन्तब्य राख्दै गरुङ्ले दक्ष जनशक्ति र चुस्त प्रविधिलाई अधिकतम परिचालन गरी सेवाग्राहीलाई गुणस्तरीय सेवा प्रदान गर्न बैंक सदैव प्रयत्नशील रहेको बताए । कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत विजयबहादुर श्रेष्ठले देशको आर्थिक अभिबृद्धिमा टेवा पुर्याउन उत्पादनशील क्षेत्रमा कर्जा लगानी गरिने नीतिलाई अख्तियार गर्दै स्थानीयस्तरमा उद्यमशीलताको विकास गरी स्थानीय उत्पादकत्व बृद्धिका लागि सहकार्य गरिने प्रतिवद्धता सहनु पर्ने उनले बताए । कार्यक्रममा बैंकको गतिविधि माथी प्रकाश पार्नु हुँदै बैंकका संचालक समितिका सदस्य बिजयराज शर्मा भुसालले बैंक लघु वित्त, साना तथा मझौला व्यवसायमा केन्द्रित रहने र प्रदेश ३ मा आगामी दिनहरुमा थप शाखा संचालन गरी सेवा विस्तार गरीने जानकारी गराए । कार्यक्रममा भरतपुर महानगरपालिका, वडा नं. १० का वडा अध्यक्ष, अरुण विनीत भण्डारीले देवः विकास बैंक, भरतपुर शाखाबाट प्रदान गरीने उत्कृष्ट सेवाबाट वडावासी लाभान्वित हुने मात्र नभई वडा क्षेत्रको आर्थिक कारोवारलाई बढाउन मद्दत पुग्ने विश्वास व्यक्त गरे । उद्योग वाणिज्य संघ, नारायणगढका अध्यक्ष सहनलाल प्रधान चितवन जिल्लामा बैंकले थप सेवा विस्तार गरी व्यवसायिक कारोवारको दायरा बढेसँगै उद्योगी व्यवसायीलाई कर्जा कारोवार गर्न उत्प्रेरित गर्न व्याजदरमा ध्यान दिन सुझाव दिए । यसैगरी चितवन उद्योग संघका उपाध्यक्ष मदन घिमिरेले शुभकामना मन्तव्य उद्योगी व्यवसायी र बैंकबीच हातेमालो गर्नु पर्नेमा जोड दिए ।
ललितपुरमा प्रभु बैंकको नयाँ शाखा विस्तार
काठमाडौैं । प्रभु बैंकले ललितपुरमा नयाँ शाखा विस्तार गरेको छ । सेवाग्राहीहरुलाई सरल र सहज रुपमा अत्याधुनिक प्रविधि सहितको गुणस्तरीय बैंकिङ्ग सेवा पुर्याउने उद्देश्यका ललितपुर जिल्ला महालक्ष्मी न.पा. वडा नं.१ स्थित इमाडोलमा शाखा कार्यालय खोली कारोवार संचालनमा ल्याएको हो । कार्यक्रमका प्रमुख अतिथी महालक्ष्मी नगरपालिकाका मेयर रामेश्वर श्रेष्ठले उद्घाटन मन्तव्य राख्ने क्रममा प्रभु बैंकले देशका विभिन्न ठाउँमा पुगेर बैंकिङ्ग सेवा विस्तार गरेकोमा खुशी प्रकट गर्दै यस इमाडोल शाखा कार्यालयबाट यस क्षेत्रका सरकारी निकाय, व्यापारी, तथा आम सर्वसाधारणलाई सरल सहज रुपमा प्रभु बैंकको गुणस्तरीय बैंकिङ्ग सेवा उपभोग गर्ने अवसर मिल्ने भएको बताए । बैंकको इमाडोल शाखा कार्यालय उद्घाटन कार्यक्रमको अवसरमा विभिन्न सरकारी कार्यालयका प्रतिनिधिहरु, विभिन्न राजनैितक दलका प्रतिनिधिहरु,विभिन्न संघ संस्थाका प्रतिनिधिहरु,स्थानीय व्यापारी, बुद्धिजिवी लगायत सर्वसाधारणहरुको उपस्थिति रहेको थियो । इमाडोल शाखा समेत गरी बैंकले हालसम्म १८५ वटा शाखा, १४६ वटा एटिएम र २३ वटा एक्सटेन्सन काउण्टरबाट आफ्ना ग्राहकहरुलाई सेवा प्रदान गर्दैै आएको छ ।
एक घण्टामै सकियो नेपाल इन्भेष्टमेन्ट बैंकको एसजीएम
काठमाडौं । शुक्रबार नेपाल इन्भेष्टमेन्ट बैंकको विशेष साधारणसभा(एसजीएम) सम्पन्न भएको छ । बिहान १० बजे कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा भएको उक्त सभा शुरु भएको एक घण्टा अर्थात ११ बजेनै सम्पन्न भएको हो । उक्त सभाले बैंकले जेबिल्स फाइनान्सलाई प्राप्ति(एक्विजिशन) गर्ने कम्पनीको प्रस्तावलाई पारित गरेको छ । यससँगै फाइनान्सको १०० कित्ता सेयर हुने सेयरधनीले इन्भेष्टमेन्ट बैंकको ३३ कित्ता सेयर पाउने छन् । हाल इन्भेष्टमेन्ट बैंकको चुक्ता पुँजी १२ अर्ब ५९ करोड रुपैयाँ र जेबिल्स फाइनान्सको चुक्ता पुँजी ८४ करोड रुपैयाँ रहेको छ । प्राप्ति पश्चात बैंकको चुक्ता पुँजी १२ अर्ब ८७ करोड रुपैयाँ पुग्ने छ । साथै, बैंकको कुल निक्षेप १४७ अर्ब रुपैयाँ र कर्जा १३२ अर्ब रहने छ । फाइनान्सको प्राप्तिपछि पनि बैंकका संस्थापक पक्षको स्वामित्व ६९ प्रतिशत र सर्वसाधारणको ३१ प्रतिशत नै रहने छ । त्यस्तै, प्राप्ति पछि बनेको इन्भेष्टमेन्टको हालकै संचालक समिति तथा प्रमुख कार्यकारी अधिकृत कायम रहने कम्पनीले जनाएको छ । हालसम्म बैंकले उपत्यका भित्र २३ र बाहिर ५७ वटा गरी कुल ८० वटा शाखा संचालनमा ल्याईसकेको छ ।