ग्लोबल आइएमई र आईएफसीबीच ऋण सम्झौता आदान-प्रदान

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेड र इन्टरनेशनल फाइनान्स कर्पोरेशन (आईएफसी) बीच बुधबार ऋणको लागि सम्झौता आदान–प्रदान भएको छ । ग्लोबल आइएमई बैकका कामु प्रमुख कार्यकारी अधिकृत महेश शर्मा ढकाल र इन्टरनेशनल फाइनान्स कर्पोरेशनका आवासीय प्रतिनिधि तथा नेपाल प्रमुख एम रेहन रशिदले बुधबार बैंकमा आयोजित एक समारोहकाबीच सम्झौता आदानप्रदान भएको हो । सम्झौताअनुसार, नेपाल राष्ट्र बैंकबाट स्वीकृती पश्चात ग्लोबल आइएमई बैंकले दुई करोड अमेरिकी डलर (करिब दुई अर्ब बीस करोड नेपाली रुपैयाँ) ऋण लिई विभिन्न क्षेत्रहरुमा ऋण लगानी गर्नेछ । यो सम्झौताले हाल बैंकिङ्ग क्षेत्रमा देखिएको लगानीयोग्य पूजिँको अभावलाई केही हदसम्म कम गर्ने विश्वास बैंकले लिएको छ ।आईएफसीबाट ल्याइने ऋणलाई विशेष गरी साना तथा मझौला उद्योग, पर्यटन तथा कृषि क्षेत्रमा ऋण लगानी गर्ने बैंकको योजना रहेको छ ।

बिग मर्जरलाई सहयोग गर्नुस् भन्न राष्ट्र बैंकले बोलायो बैठक

काठमाडौं । नेपाल राष्ट्र बैंकले बिहीबार बैंक तथा वित्तीय संस्थाका प्रमुखलाई बैठकमा बोलाएको छ । बैंकले आगामी आवका लागि बजेटले गरेको व्यवस्था कार्यान्वयन गर्ने विषयमा औपचारिक रुपमा जानकारी गराउन राष्ट्र बैंकले बैठक बोलाएको हो । सरकारले मंगलबार आगामी आवको बजेट पारित गरेकाले यसको विषयमा जानकारी दिन बैठक बोलाइएको राष्ट्र बैंकका प्रवक्ता लक्ष्मीप्रपन्न निरौला बताए । राष्ट्र बैंकले वित्तीय क्षेत्रसँग सम्बन्धित विषयमा छलफल गर्न लागिएको हो, उनले भने- मर्जरलाई निरन्तरता दिँदै बिग मर्जरलाई प्रोत्साहन गर्ने विषयमा पनि सरोकारवालाहरूलाई अवगत गराइने छ । ‘वित्तीय क्षेत्रमा सुशासन र स्थायित्व कायम गर्दै वित्तीय पहुँच अभिवृद्धि गरिनेछ । वित्तीय साधन उत्पादनमुखी बनाइनेछ । बैंक तथा वित्तीय संस्थाहरु एक आपसमा गाभ्ने नीतिलाई निरन्तरता दिँदै ठूला बैंक तथा वित्ती संस्थाहरु समेत एक आपसमा गाभ्न प्रोत्साहित गरिने बजेटमा उल्लेख गरिएको छ । बैठकमा बजेट वक्तव्यको २३७ र ३१२ का बिषयमा छलफल हुनेछ । बजेटको बुँदा नम्बर ३१२ मा बैंक तथा वित्तीय संस्था मर्जरमा कर छुट तथा सुविधाको प्रयोजनका लागि आयकर ऐन, २०५८ मा तोकिएको अवधि एक वर्षको लागि थप गरिएको छ । होटल याक एण्ड यति होटलमा बिहान ११ बजेदेखि वाणिज्य बैंक, विकास बैंक र फाइनान्स कम्पनीका अध्यक्ष र प्रमुख कार्यकारी अधिकृतहरूसँग फरक फरक समयमा राष्ट्र बैंकले छलफल गर्ने जनाइएको छ ।

कृषि विकास बैंकले कर्जाको ब्याजदर घटायो, अब कति ?

काठमाडौँ । कृषि विकास बैंक लि.ले लिंदै आएको कर्जाको ब्याजदर घटाएको छ । बैंक सञ्चालक समितिको असार ४ गते सम्पन्न बैठकले असार ५ गतेदेखि लागु हुने गरी ब्याजदरमा १ प्रतिशत घटाउने निर्णय गरेको प्रवक्ता तथा सूचना अधिकारी हिमलाल पौडेलले बताए । बैकिङ्ग बजारमा कर्जाको व्याजदर उच्च रहेको जनगुनासो आईरहेको अवस्थामा ग्राहकहरुको चाहना तथा जनगुनासोलाई सम्बोधन हुने गरी कर्जाको ब्याजदर घटाइएको बैंकले जनाएको छ । यता, निक्षेपको ब्याजदरमा निक्षेपकर्ताहरु लाभान्वित हुने गरी साविकको ब्याजदरमा १ प्रतिशत थप हुने गरी बृद्धि गरेको प्रवक्ता पौडेलले जनाएका छन् । बैंकले निक्षेपमा ६.५० प्रतिशतदेखि ९.२५ प्रतिशतसम्म ब्याज दिँदै आएको र कर्जामा न्यूनतम १०.७६ प्रतिशतदेखि अधिकतम १७.७६ प्रतिशतसम्म ब्याज लिँदै आएको छ ।