प्रभु बैंकले पायो ५ देशमा सम्पर्क कार्यालय खोल्ने सहमति, ६ महिनाभित्र सेवा शुरु गर्ने

काठमाडौँ । प्रभु बैंक लि.ले नेपाल राष्ट्र बैंकबाट विभिन्न ५ देशमा सम्पर्क/प्रतिनिधि कार्यालय खोल्ने सैद्धान्तिक सहमति प्राप्त गरेको छ । अष्ट्रेलियाको सिड्नी, भारतको दिल्ली, मलेसियाको क्वालालाम्पुर, कतारको दोहा र संयुक्त अधिराज्य बेलायतको एल्डरसट शहरमा सम्पर्क/प्रतिनिधि कार्यालय खोल्न सैद्धान्तिक सहमति प्राप्त गरेको बैंकले जनाएको छ । प्रचलित कानून तथा नेपाल राष्ट्र बैंकबाट जारी एकीकृत निर्देशनको अधिनमा रही प्रभु बैंकले ६ महिनाभित्र सम्बन्धित देशका नियामकीय निकायबाट उल्लेखित स्थानहरुमा बैंकको सम्पर्क/प्रतिनिधि कार्यालय खोल्न स्वीकृति प्राप्त गरी नेपाल राष्ट्र बैंकबाट अन्तिम स्वीकृति प्राप्त गरेपछि सम्बन्धित सबै सम्पर्क/प्रतिनिधि कार्यालयहरुबाट बैंकले सेवा प्रारम्भ गर्ने जनाएको छ ।

कामना सेवा बैंकले गर्याे ‘स्मार्ट टेलर’ सुविधाको शुरु

काठमाडौं । कामना सेवा बैंकले स्मार्ट टेलर सुविधाको शुरुवात गरेको छ । “प्रगतिको आधार कामना सेवासँग कारोबार” भन्ने मुल नाराका साथ बैैकिङ सेवा सुविधा प्रदान गर्दै आइरहेको कामना सेवा विकास बैंकले आफ्नो मुख्य शाखा कार्यालय ज्ञानेश्वर, काठमाडौंमा मोवाईल बैकिङ मार्फत “स्मार्ट टेलर” सुविधा संचालनमा ल्याएको हो । बैंकको मोवाईल सेवा लिएका सम्पूर्ण ग्राहकहरुले आफ्नो खातामा भएको रकम मोवाईल बैकिङको क्यूआर कोडकोे मार्फत चेकबुक र एटिएम कार्ड बिना नै निकाल्न सक्ने व्यवस्था रहेको छ । हाल बैंकले ९१ वटा शाखा, ४४ वटा एटिएम मार्फत ग्राहकहरुलाई आफनो सेवाहरु प्रदान गर्दै आएको छ । साथै बैंकले एबिबिएस्, एसएमएस्, व्याकिङ्ग, मोबाइल व्याकिङ्ग, सि एएसबिए लगायतका माध्यमबाट समेत बैंकिङ्ग सेवाहरु उपलब्ध गराउँदै आएको छ ।

एनआईसी एशिया बैंक र नारायणी वयोधा हस्पिटलबीच सेवा सम्बन्धि सम्झौता

काठमाडौं । एनआईसी एशिया बैंक र नारायणी वयोधा हस्पिटल, वीरगञ्ज, पर्साबीच बैंकका कर्मचारी, बैंकका डेबिट एवं क्रेडिट कार्डवाहक सेवा सम्झौता भएको छ । उक्त सम्झौता पत्रमा बैंकको तर्फबाट बैंकका प्रादेशिक कार्यालयका प्रमुख प्रकाशचन्द्र अधिकारी र नारायणी वयोधा हस्पिटलको तर्फबाट हस्पिटलका सुविधा सञ्चालक डा. रजनिश भारतीले हस्ताक्षर गरेका हुन् । नारायणी वयोधा हस्पिटलमा उपचार गराउँदा विभिन्न सेवा सुविधाहरुमा १०% सम्मको छुट तथा अन्तरंग बिरामीहरुको लागि १५ दिनसम्मको क्यासलेस वा क्रेडिट सुविधा प्रदान गर्ने सम्झौता भएको छ । मुलुकभर २८४ शाखा कार्यालयहरु, २९४ एटिएम, ४६ वटा एक्सटेन्सन काउन्टर एवं ३५ वटा शाखारहित बैंकिङ ईकाई मार्फत् बैंकिङ सेवा प्रदान गर्दै आएको छ । करिब १६ लाख ग्राहक रहेको साथै संस्थागत सुशासन, जोखिम व्यवस्थापन र आन्तरिक नियन्त्रण प्रणालीको उत्कृष्ट अभ्यासलाई यस बैंकले पालना गर्दै आएको छ ।