वित्तीय साक्षरता वृद्धिको लागि अन्तर्राष्ट्रिय सम्मेलन हुने
काठमाडौं । नेपाल धितोपत्र बोर्डले वित्तीय साक्षरता अभिवृद्धिका लागि काम गर्दै आएको अन्तर्राष्ट्रिय संस्था ओइसीडी-आईएनएफईसँगको सहकार्यमा दुई दिने अन्तर्राष्ट्रिय सम्मेलन काठमाडौंमा आयोजना गर्ने भएको छ । यहि असार १७ र १८ गते याक एण्ड यति होटलमा हुने उक्त सम्मेलनमा विभिन्न ४० देशका १२५ जनाको सहभागिता हुनेछ । दी अर्गनाईजेशन फर इकोनोमिक कोअपरेशन एण्ड डेभलपमेन्ट (ओइसीडी) अन्तर्गतको इन्टरनेशनल नेटवर्क अन फाइनान्सियल एजुकेशन (आईएनएफई) सँगको सहकार्यका धितोपत्र बोर्डले ‘ओईसीडी-सेवन कन्फेरेन्स एण्ड राउण्डटेवल अन फाइनान्सियल कन्जुमर प्रोटेक्सन एण्ड एजुकेशन इन एशिया प्यासिफिक’ विषयक सम्मेलन गर्न लागेको बोर्डले जानकारी दिएको छ । विकसित देशहरुमा वित्तीय साक्षरता कुल जनसंख्यामा ६० देखि ६५ प्रतिशत रहेको तर नेपालमा वित्तीय साक्षरता कुल जनसंख्यामा १८ प्रतिशत मात्र भएको सन्दर्भमा यस्तो सम्मेलन फलदाही हुने नेपाल धितोपत्र बोर्डको अध्यक्ष डा रेवतबहादुर कार्कीले जानकारी दिए । ‘१०० प्रतिशत जनसंख्या साक्षर भएको देशमा पनि वित्तीय साक्षरता ६०/६५ प्रतिशत मात्र देखिन्छ । नेपालको साक्षरता भर्खरै ७० प्रतिशत पुगेको छ । वित्तीय साक्षरता करिव १८ प्रतिशत मात्र भएको एउटा सानो अध्यानले देखाएको छ’ अध्यक्ष डा. कार्कीले भने-‘वित्तीय साक्षरता, वित्तीय समावेशीता, वित्तीय ग्राहक सुरक्षा तथा जनसाख्यिक परिवर्तन जस्ता विषयमा धितोपत्र बोर्ड, नेपाल राष्ट्र बैंक, बीमा समिति लगायत निकायले धेरै काम गर्नु पर्ने देखिन्छ ।’ सम्मेलनमा नेपाल सहित यस क्षेत्रमा रहेका वित्तीय साक्षरता सम्बन्धमा देखिएका चुनौती र अवसरहरुको बारेमा छलफल हुने, समस्याको समाधानका उपाय खोजी हुने, वित्तीय साक्षरताको लागि अरु देशले गरेको अभ्यासबाट नेपालले धेरै कुरा सिक्न सक्ने, लगानी सम्मेलनले जस्तै यस सम्मेलनले नेपालको बारेमा विश्वमा नयाँ सन्देश जाने बोर्डका कार्यकारी निर्देशक परिष्टनाथ पौडेलले जानकारी दिए । यसैबीच, धितोपत्र बोर्डले रजत जयन्तीको उपलक्षयमा ‘बोर्डको रजत जयन्ती लोगो, रजत जयन्ती स्मारिका सिक्का’ सार्वजनिक गरेको छ । सरकारको स्वीकृतिमा नेपाल राष्ट्र बैंक टक्सार महाशाखाले २९ मिलिमिटर सयमिटरको ८.५ ग्राम तौल भएको कुप्रो निकेल धातुको रु १०० दरको सिक्का बोर्डका अध्यक्ष डा. कार्कीले लोकार्पण गरेका हुन् । बोर्डले रु २५०० दरको यस्तै सिक्का पनि निकाल्ने तयारी गरेको छ ।
रुकुमपूर्वको तीनवटै स्थानीय तहमा बैंक स्थापना, आर्थिक गतिविधिमा वृद्धि
काठमाडौं । तीन वटा मात्र स्थानीय तह रहेको रुकुमपूर्वको सबै स्थानीय तहमा बैंकका शाखा स्थापना भएका छन् । स्थानीय तहमा बैंक स्थापना भएसँगै ग्रामीण क्षेत्रका आर्थिक गतिविधि पनि बढ्न थालेको छ । सरकारले प्रत्येक स्थानीय तहमा बैंक पुर्याउने नीति अवलम्बन गरेपछि बैंकका शाखा स्थापना भएसँगै स्थानीय तहबाटै कारोवार गर्न सजिलो भएको छ । भूमे गाउँपालिकाका अध्यक्ष रामसुर बुढामगरले भने, “बैङ्क स्थापना भएसँगै बैङ्किङ कारोवार गर्न सजिलो हुनाका साथै ग्रामीण अर्थतन्त्रमा पनि सुधार हुँदै गएको छ ।” गाउँपालिका भरको ८० प्रतिशत काम बैङ्कबाटै हुने गरेको र गाउँपालिकामा बाँकी रहेका काम सदरमुकाम रुकुमकोट तथा अन्य क्षेत्रबाट पनि हुँदै आएको उनले बताए । विगतमा चेतनाको अभावका कारण सर्वसाधारणले बैङ्किङ प्रणाली झन्झटिलो मान्दै आएकामा त्यसलाई अन्त्य गरी विश्वसनीय एवं चुस्त बनाउन बैङ्कले सहजीकरण गर्दै आएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत चन्द्रसिंह श्रेष्ठको भनाइ थियो । गाउँपालिकाको सामाजिक सुरक्षा भत्ता बैङ्कबाटै लिन अनिवार्य बनाइएपछि वृद्धभत्ता अपाङ्गता भएका व्यक्तिलाई घरघरमा पुगेर बैङ्कले सेवा पुर्याउँदै आएको छ भने वित्तीय सुशासनमा समेत सहयोग पुगेको उनले जानकारी दिए । प्रदेश नम्बर ५ को एक मात्र हिमाली तथा विकट जिल्ला रुकुमपूर्वको तीनवटै स्थानीय तहमा बैङ्कको शाखा स्थापना भएपछि स्थानीय तह, विद्यालय, उपभोक्ता समिति, सहकारी संस्था लगायतको वित्तीय सुशासन एवं आर्थिक पारदर्शी बनाउन उल्लेख्य सहयोग पुग्दै आएको छ । स्थानीय तहमा खुलेका बैङ्कले कृषि कर्जामा दिएको प्राथमिकताबाट ग्रामीण भेगमा कृषि क्षेत्रको विकासमा सुधार, लागानी वृद्धि र व्यावसायिक कृषिको वातावरण बनाएको बताइएको छ । भौगोलिक दृष्टिकोणले विकट क्षेत्र रुकुमपूर्वमा भने पर्याप्त मात्रामा बैङ्क स्थापना हुन सकेको छैन । एक गाउँबाट अर्को गाउँ पुग्न पनि एकदेखि दुई दिनसम्म लाग्ने ठाउँका बासिन्दा भने अझै पनि बैङ्कको पहुँचबाट टाढा छन् । यसरी, जिल्लाको सिस्ने गाउँपालिकामा नेपाल बैङ्क लिमिटेड, वाणिज्य बैङ्क, प्रभु बैङ्क भूमे गाउँपालिकामा सिटिजन बैंक र पुथा उत्तरगङ्गा गाउँपालिकामा सिद्धार्थ बैङ्कका शाखा स्थापना भएका हुन् । रासस
बनेपा र कुशादेवीमा देवः विकास बैंकको शाखा बिस्तार
काठमाडौँ । देवः विकास बैंक लि.ले बनेपा नगरपालिकाको बनेपा बजारमा शाखा बिस्तार गरेको छ । शाखा कार्यालयको नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर शिवराज श्रेष्ठले एक समारोहका बीच उद्घाटन गरे । बैंक सञ्चालक समितिका अध्यक्ष बज्र गुरुङको सभापतित्वमा सञ्चालन भएको उक्त कार्यक्रममा स्वागत मन्तव्य दिनु हुँदै बैंकका प्रमुख कार्यकारी अधिकृत विजयबहादुर श्रेष्ठले एक दशक अगाडि बनेपा एक्सटेन्सन काउण्टरबाट सेवा प्रदान गर्न शुरु गरेको बैंकले यस क्षेत्रमा बढ्दै गएको आर्थिक गतिविधिलाई मध्यनजर गरी एक्सटेन्सन काउण्टरलाई शाखामा स्तरोन्नती गरिएको बताए । यसैगरी, पनौति नगरपालिका, वढा नं ०२, कुशादेवीमा आयोजित अर्को समारोहमा कुशादेवी शाखा कार्यालयको देवः विकास बैंक लि., संचालक समितिका अध्यक्ष बज्र गुरुङले उद्घाटन गरे । कार्यक्रममा स्वागत मन्तव्य व्यक्त गर्दै बैंकका प्रमुख कार्यकारी अधिकृत श्रेष्ठले ग्रामीण तथा पहाडी क्षेत्रका सेवाग्राहीहरुमा वित्तीय पहुँच पुर्याउन र स्थानीय उत्पादकत्व बढाउन कुशादेवी शाखाबाट सहयोग पुग्ने बताए ।