वित्तीय साक्षरता वृद्धिको लागि अन्तर्राष्ट्रिय सम्मेलन हुने

<p>काठमाडौं । नेपाल धितोपत्र बोर्डले वित्तीय साक्षरता अभिवृद्धिका लागि काम गर्दै आएको अन्तर्राष्ट्रिय संस्था ओइसीडी-आईएनएफईसँगको सहकार्यमा दुई दिने अन्तर्राष्ट्रिय सम्मेलन काठमाडौंमा आयोजना गर्ने भएको छ । यहि असार १७ र १८ गते याक एण्ड यति होटलमा हुने उक्त सम्मेलनमा विभिन्न ४० देशका १२५ जनाको सहभागिता हुनेछ । दी अर्गनाईजेशन फर इकोनोमिक कोअपरेशन एण्ड डेभलपमेन्ट (ओइसीडी) [&hellip;]</p>

काठमाडौं । नेपाल धितोपत्र बोर्डले वित्तीय साक्षरता अभिवृद्धिका लागि काम गर्दै आएको अन्तर्राष्ट्रिय संस्था ओइसीडी-आईएनएफईसँगको सहकार्यमा दुई दिने अन्तर्राष्ट्रिय सम्मेलन काठमाडौंमा आयोजना गर्ने भएको छ । यहि असार १७ र १८ गते याक एण्ड यति होटलमा हुने उक्त सम्मेलनमा विभिन्न ४० देशका १२५ जनाको सहभागिता हुनेछ ।

दी अर्गनाईजेशन फर इकोनोमिक कोअपरेशन एण्ड डेभलपमेन्ट (ओइसीडी) अन्तर्गतको इन्टरनेशनल नेटवर्क अन फाइनान्सियल एजुकेशन (आईएनएफई) सँगको सहकार्यका धितोपत्र बोर्डले ‘ओईसीडी-सेवन कन्फेरेन्स एण्ड राउण्डटेवल अन फाइनान्सियल कन्जुमर प्रोटेक्सन एण्ड एजुकेशन इन एशिया प्यासिफिक’ विषयक सम्मेलन गर्न लागेको बोर्डले जानकारी दिएको छ ।

विकसित देशहरुमा वित्तीय साक्षरता कुल जनसंख्यामा ६० देखि ६५ प्रतिशत रहेको तर नेपालमा वित्तीय साक्षरता कुल जनसंख्यामा १८ प्रतिशत मात्र भएको सन्दर्भमा यस्तो सम्मेलन फलदाही हुने नेपाल धितोपत्र बोर्डको अध्यक्ष डा रेवतबहादुर कार्कीले जानकारी दिए । ‘१०० प्रतिशत जनसंख्या साक्षर भएको देशमा पनि वित्तीय साक्षरता ६०/६५ प्रतिशत मात्र देखिन्छ ।

नेपालको साक्षरता भर्खरै ७० प्रतिशत पुगेको छ । वित्तीय साक्षरता करिव १८ प्रतिशत मात्र भएको एउटा सानो अध्यानले देखाएको छ’ अध्यक्ष डा. कार्कीले भने-‘वित्तीय साक्षरता, वित्तीय समावेशीता, वित्तीय ग्राहक सुरक्षा तथा जनसाख्यिक परिवर्तन जस्ता विषयमा धितोपत्र बोर्ड, नेपाल राष्ट्र बैंक, बीमा समिति लगायत निकायले धेरै काम गर्नु पर्ने देखिन्छ ।’

सम्मेलनमा नेपाल सहित यस क्षेत्रमा रहेका वित्तीय साक्षरता सम्बन्धमा देखिएका चुनौती र अवसरहरुको बारेमा छलफल हुने, समस्याको समाधानका उपाय खोजी हुने, वित्तीय साक्षरताको लागि अरु देशले गरेको अभ्यासबाट नेपालले धेरै कुरा सिक्न सक्ने, लगानी सम्मेलनले जस्तै यस सम्मेलनले नेपालको बारेमा विश्वमा नयाँ सन्देश जाने बोर्डका कार्यकारी निर्देशक परिष्टनाथ पौडेलले जानकारी दिए ।

यसैबीच, धितोपत्र बोर्डले रजत जयन्तीको उपलक्षयमा ‘बोर्डको रजत जयन्ती लोगो, रजत जयन्ती स्मारिका सिक्का’ सार्वजनिक गरेको छ । सरकारको स्वीकृतिमा नेपाल राष्ट्र बैंक टक्सार महाशाखाले २९ मिलिमिटर सयमिटरको ८.५ ग्राम तौल भएको कुप्रो निकेल धातुको रु १०० दरको सिक्का बोर्डका अध्यक्ष डा. कार्कीले लोकार्पण गरेका हुन् । बोर्डले रु २५०० दरको यस्तै सिक्का पनि निकाल्ने तयारी गरेको छ ।

Share News