एनसीसी बैंकले जोडी खोज्न ४ जनालाई खटायो, मौद्रिक नीतिपछि मात्र लभ गर्ने

काठमाडौं । नेपाल राष्ट्र बैंकले मौद्रिक नीति अघि नै मर्जरको पार्टनर खोज्न बैंकहरुलाई निर्देशन दिएपछि एनसीसी बैंकले जोडी खोज्न ४ जनाको टोली खटाएको छ । आईतबार बसेको बैंक सञ्चालक समितिको बैठकले माधव भट्टको संयोजकत्वमा ४ सदस्यीय मर्जर सम्बन्धि अध्ययन उप–समिति गठन गरेको छ । उपसमिति सदस्यहरुमा चन्द्र बास्तोला, इमानसिंह लामा र कृष्ण श्रेष्ठ छन् । चारै जना बैंक सञ्चालक समितिका सदस्य हुन् । राष्ट्र बैंकको निर्देशन बमोजिम मर्जरको लागि उपयुक्त जोडी खोज्न, सम्भाव्यताबारे अध्ययन गर्न र रिपोर्ट सञ्चालक समितिमा पेस गर्न उपसमितिलाई अख्तियारी दिएको छ । गभर्नर चिरञ्जीवि नेपालले मौद्रिक नीति आउनुपूर्व नै जोडी छानेर लभ गर्न र मौद्रिक नीति आएपछि विवाह गर्न तयार हुन बैंकहरुलाई निर्देशन दिएका छन् । ‘राष्ट्र बैंकले भनेपछि मान्नै पर्यो । अहिले जोडी खोज्दै गर्ने हो । मौद्रिक नीति कस्तो आउँछ, हेर्छौं । त्यसपछि लभ शुरु होला’ बैंक सञ्चालक समितिका एक सदस्यले विकासन्युजसँग भने । अर्थमन्त्री र गभर्नरलाई खुलापत्र-‘बैंकहरुबीच प्रेम होस्, करणी नहोस्’

सिटिजन्स बैंकको थहिटी शाखाद्वारा सुविधा सम्पन्न भवनबाट बैंकिङ सेवा सञ्चालन

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले असार १५ गतेदेखि थहिटी शाखा कार्यालय हाल रहेको भवन(काठमाडौं जिल्ला कामनपा वडा नं. १७)को सामून्ने उत्तरतर्फकरिब ५० मिटरको दुरिमा शिवजी भवनमा स्थानान्तरण गरी बैंकिङ कारोबार संचालन गरेको छ । सुविधा सम्पन्न भवनबाट थप छिटो, छरितो, चुस्त र दुरुस्त रूपमा ग्राहकहरुलाई बैंकिङ सेवा प्रदान गर्ने प्रतिबद्धता बैंकले जनाएको छ । यो शाखामार्फत ग्राहकहरुको वित्तीय आवश्यकता पूरा गर्न सम्पूर्ण रिटेल बैंकिङ सेवा प्रदान गर्नुका साथै साना तथा लघु व्यवसायीहरु माझ वित्तीय पहुँच पु¥याउने लक्ष्य बैंकले राखेको छ । सुविधाजनक बचत खाता योजना, मुद्दती निक्षेप योजना, लकर सेवा, एटिएम सेवा, घर तथा सवारी कर्जा, सानाव् यवसायीकर्जा, लगायतका वित्तीय सेवाहरु छिटो र छरितो रूपमा ग्राहकहरुलाई प्रदान गर्ने प्रतिबद्धता बैंकले व्यक्त गरेको छ ।

अब दैनिक १० लाख रुपैयाँ अनलाइनबाट भुक्तानी गर्न सकिने, अनलाइन कारोबारी १४ प्रतिशत मात्र

काठमाडौं । सेयर कारोबारीहरुले अब दैनिक १० लाख रुपैयाँसम्म अनलाईनबाट भुुक्तानी गर्न सक्ने भएका छन् । नेपाल क्लियरिङ हाउसले सञ्चालन गरेको ‘कनेक्ट आईपीएस’ सेवा लिएका बैंक खातावालले सेयर किन्दा हरेक दिन १० लाख रुपैयाँसम्म अनलाईन प्रणालीबाट भुक्तानी गर्न सक्ने व्यवस्था मिलाइएको नेपाल स्टक एक्सचेञ्जले जनाएको छ । तर सेयर बजारमा अनलाईन प्रणालीबाट कारोबार गर्नेको संख्या १४ दशमलव ४६ प्रतिशत मात्र रहेको पाइएको छ । चालु आर्थिक वर्षका १० लाख ६ हजार ३८६ को संख्यामा सेयर कारोबार भएकोमा १ लाख २४ हजार ६१७ वटा कारोबार मात्र अनलाईन प्रणालीबाट भएको छ। सेयर बजारमा १५ लाख भन्दा बढी लगानीकर्ता रहेको अनुमान भएपनि दोस्रो बजारमा सेयर कारोबार गर्ने लगानीकर्ता जम्मा २ लाख ९४ हजार मात्र रहेको पाइएको छ । त्यसमा पनि ११ हजार २४६ जनाले मात्र आफ्नो विवरण ब्रोकर कम्पनीमा अपडेट गराएका छन् । चालु आर्थिक वर्षको हालसम्म ७७ अर्ब ७४ करोड ७ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएकोमा अनलाईनबाट १० अर्ब ६० करोड ६४ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ ।