काठमाडौं । नेपाल राष्ट्र बैंकले मौद्रिक नीति अघि नै मर्जरको पार्टनर खोज्न बैंकहरुलाई निर्देशन दिएपछि एनसीसी बैंकले जोडी खोज्न ४ जनाको टोली खटाएको छ । आईतबार बसेको बैंक सञ्चालक समितिको बैठकले माधव भट्टको संयोजकत्वमा ४ सदस्यीय मर्जर सम्बन्धि अध्ययन उप–समिति गठन गरेको छ ।
उपसमिति सदस्यहरुमा चन्द्र बास्तोला, इमानसिंह लामा र कृष्ण श्रेष्ठ छन् । चारै जना बैंक सञ्चालक समितिका सदस्य हुन् ।
राष्ट्र बैंकको निर्देशन बमोजिम मर्जरको लागि उपयुक्त जोडी खोज्न, सम्भाव्यताबारे अध्ययन गर्न र रिपोर्ट सञ्चालक समितिमा पेस गर्न उपसमितिलाई अख्तियारी दिएको छ ।
गभर्नर चिरञ्जीवि नेपालले मौद्रिक नीति आउनुपूर्व नै जोडी छानेर लभ गर्न र मौद्रिक नीति आएपछि विवाह गर्न तयार हुन बैंकहरुलाई निर्देशन दिएका छन् । ‘राष्ट्र बैंकले भनेपछि मान्नै पर्यो । अहिले जोडी खोज्दै गर्ने हो । मौद्रिक नीति कस्तो आउँछ, हेर्छौं । त्यसपछि लभ शुरु होला’ बैंक सञ्चालक समितिका एक सदस्यले विकासन्युजसँग भने ।