सिविआईएल क्यापिटल लिमिटेडले १ अर्ब रुपैयाँ मूल्यको ‘सिटिजन्स म्यूचअल फण्ड २’ निष्काशन गरेको छ । जेठ ९ गतेबाट निष्काशन खुला भएको यो म्यूचअल फण्डको आवेदन असार ८ गते बन्द हुँदैछ । वित्त बजारमा तरलताको अभाव र पुँजी बजारमा मन्दी देखिएकोले म्यूचअल फण्डप्रति लगानीकर्ताको आकर्षण कम छ । यसै परिवेशमा कम्पनीको कामु प्रमुख कार्यकारी अधिकृत नबराज गिरीसँग गरिएको कुराकानी ।
सिटिजन्स म्यूचअल फण्डमा किन लगानी गर्ने ?
यसमा साना र ठूलो सबै प्रकारका लगानीकर्ताले लगानी गर्न सक्छन् । १ हजार देखि २० करोड रुपैयाँसम्म लगानी गर्न सकिन्छ । विद्यार्थी, गृहणी, साना तथा मझ्यौला व्यवसायी देखि ठूला व्यवसायी सबैले लगानी गर्न सक्छन् ।
सेयर बजारमा लगानीगर्दा फाइदा हुन्छ । सबै जनासँग सेयर बजारबारे राम्रो जानकारी हुँदैन । जसलाई सेयर बजारमा लगानी गर्न इच्छा छ तर प्रयाप्त जानकारी छैन, उनीहरुले म्यूचअल फण्डमा लगानी गरेर लाभ लिन सक्छन् ।
सिटिजन्स म्यूचअल फण्डको व्यवस्थापन समूह राम्रो छ । हामी पुँजीबजारको प्राविधिक विश्लेषण, ट्रेन एनालाईसिस गर्छौ । कम्पनीको इतिहास, उनले दिदै आएको लाभांश ट्रेन, वर्तमान व्यवस्थापन समूह, कम्पनीले भविष्यमा दिनसक्ने लाभांश सबै अध्ययन गरेर नै हामीले सेयरमा लगानी गरेका हुन्छौं ।
ब्यूचिप सेयर महँगो हुन्छ । साना लगानीकर्तालाई यस्तो सेयरमा लगानी गर्न गाह्रो हुन्छ । पैसा पनि नहुनसक्छ, आँट पनि नहुन सक्छ । हामी सानो सानो पुँजी संकलन गरेर यस्त सेयरमा लगानी गर्छौ । हामीले लगानी विविधिकरण गरेका हुन्छौं । बैंक, बीमा, लघुवित्त, उत्पादन मुलक कम्पनीको सेयरमा लगानी गरेका हुन्छौं । एउटा व्यक्तिलाई यसरी सबै क्षेत्र बुझेर, राम्रा कम्पनी छानेर लगानी गर्न गाह्रो हुन्छ ।
म्यूचअल फण्ड १ पनि राम्रो भयो । एक वर्षमा हामीले १६ प्रतिशत ग्रोथ गर्न सफल भएको छ । बजार घट्दा पनि हामीले यति राम्रो गर्न सकेका छौं । म्यूचअल फण्ड १ परिपक्व हुँदा हामीले लगानीकर्तालाई ४/५ गुणासम्म लाभ दिन सक्ने विश्वास छ । म्यूचल फण्ड २ मा पनि यस्तै राम्रो गर्न सकिन्छ भन्ने हाम्रो विश्वास छ ।
आईपीओमा भन्दा म्यूचअल फण्डको लागि आवेदन कम परेको देखिन्छ, किन ?
हामीले बुझाउन सकेनौं । सञ्चालनमा भईराखेको १३ वटा म्यूचअल फण्डमध्ये हामीसहित ४/५ वटा म्यूचअल फण्डको मूल्य अंकित मूल्यभन्दा माथि छ । बीचमा आएका केही म्यूचअल फण्डको मूल्य अंकित मूल्यभन्दा पनि तल गएकाले पनि लगानीकर्तामा कम आकर्षण भएको हुनसक्छ । समय गलत पर्यो । तर बजार सधैं यस्तो हुँदैन । तीन वर्ष बजारमा मूल्य घटिरेको हुन्छ भने चार वर्ष मूल्य बढिरहेको हुन्छ । म्युचअल फण्डले बजार घटेको बेलामा पनि लाभ लिन सक्छन् । किनबेच गरिरहनेले बजार घटेको बेलामा पनि फाइदा लिईरहेको हुन्छ । सिटिजन्स म्यूचअल फण्ड १ आउँदा नेप्से १४ सय थियो । नेप्से ११ सय आउँदा पनि हामीले घाटा खानु परेन । किनकी हाम्रो लगानीमा विविधिकरण गरेका छौं । पहिला हामीले ८० प्रतिशत पुँजी एकै पटक लगानी गरेको थियौं । यसपाली शुरुमा ४० प्रतिशत मात्र लगानी गर्छौ । केही रकम मुद्दतिमा पनि राख्छौं । ठूलो रकम सर्टटर्म ट्रेडमा लगानी हुन्छ । यसमा २० प्रतिशत नाफा आउने वित्तिकै हामी बेच्छौं ।
सेयर बजारमा सर्टटर्म ट्रेडर्सहरुले भन्दा लङटर्म इन्भेष्टरले बढी लाभ लिन सक्छ भनिन्छ नि ?
तपाईले भनेको सहि हो । हाम्रो फण्डको अवधि भनेको ७ वर्षको हो । यो लङटर्म हो । हामी लङटर्म इन्भेष्टमेन्ट पनि गरिरहेका हुन्छौं । हामीले बजार ट्रेन पनि हेर्नुपर्छ । पहिला ९० प्रतिशत लगानीकर्ता लङटर्म इन्भेष्टरको रुपमा थिए । १० प्रतिशत मात्र ट्रेडर थिए । अहिले ९० प्रतिशत लगानीकर्ता ट्रेडरको रुपमा छन् भने १० प्रतिशत मात्र लङटर्म लगानीकर्ता छन् । हामीले बजारअनुसार खेल्नुपर्छ ।
सिटिजन्स म्यूचअल फण्ड १ को अवस्था कस्तो छ ?
सिटिजन्स म्यूचअल फण्ड १ आएको १ वर्ष पूरा हुँदैछ । यसको न्याव (नेट एसेट भ्यालु) ११.६ रुपैयाँ छ । यस वर्षको नाफाबाट लगानीकर्तालाई १० देखि १२ प्रतिशत लाभांश दिन सक्ने सम्भावना छ ।
सिटिजन्स म्यूचअल फण्ड १ पनि सबै बिक्री भएन । सिटिजन्स म्यूचअल फण्ड २ पनि माग कस्तो छ ?
हो, त्यतिबेला पनि लगत समय भयो । हामीले १०० करोडको म्यूचल फण्ड जारी गरेकोमा ८२ करोडको मात्र आवेदन परेको थियो । यस पटक पनि रङ टाइम भयो । आर्थिक वर्षको अन्त्यतिर छौं । बैंकमा लगानीयोग्य पुँजी छैन । बैंकहरु आपसमा छिनाझम्टी गरिरहेका छन् । तर हाम्रो सोचाई सहि छ । यसबाट लगानीकर्ताले लाभ लिन सक्छन् । लगानी गर्ने भनेकै प्रतिकूल अवस्थामा हो । यस्तो अवस्थामा लगानी गर्नेको लगानी सुरक्षित हुन्छ, प्रतिफल पनि राम्रो आउँछ ।
तपाईहरुले किन यस्तो प्रतिकूल समय रोज्नुभयो ?
पहिलो म्यूचअल फण्डले हामीलाई उत्साहित बनायो । त्यसको ६ महिनामा हामीले सेवोनमा म्यूचअल फण्ड २ आवेदन गर्यौ । प्रक्रिया पूरा गर्दै जाँदा यहि समयमा भयो । हामीले चाहेको भए २/३ महिना ढिला गर्न सक्थ्यौ । तर हामीले के सोच्यौ भने जब थ्रेट हुन्छ तब अपरच्यूनिटी पनि हुन्छ । त्यहि अपरचुनिटी ग्रयाप गर्न हामीले यो म्यूचअल फण्ड ल्याएका छौं ।