एकै दिन एनआईसी एशियाको तीन शाखा रहित बैंकिङ्ग सेवा विस्तार
काठमाडौं । एनआईसी एशिया बैंकले एकैसाथ तीन शाखारहित बैंकिङ्ग सेवा विस्तार गरेको छ । सिरहा जिल्लाको लक्ष्मीपुर पतारी गाउँपालिका वडा नं. ६ को सीतापुर, झापा जिल्लाको मेचीनगर नगरपालिका, वडा नं. १ को गाडागल्ली र मेचीडाँगीमा बुधबारबाट आफ्नाे ३३, ३४ र ३५ औंं शाखारहित बैंकिङ्ग सेवा संचालनमा ल्याएको हो । उक्त बैंकले सीतापुर शाखारहित बैंकिङ्ग सेवाको उद्घाटन लक्ष्मीपुर पतारी गाउँपालिकाका अध्यक्ष रामबल्लभ साहले गरेका हुन् भने गाडागल्ली र मेचीडाँगी शाखारहित बैंकिङ्ग सेवाको उद्घाटन मेचीनगर नगरपालिका वडा नं. १ का वडा अध्यक्ष पासाङ्ग तामाङ्ले गरेका हुन् । उक्त सेवाबाट स्थानीयबासीहरुलाई लामो दूरीसम्म हिंँड्नुपर्ने बाध्यताको अन्त्य भई ग्रामीण र दुर्गम क्षेत्रहरुमा बैंकिङ्ग कारोबारको विकास हुने विश्वास बैंकले लिएको छ । करिब १६ लाख ग्राहक प्रभावित भएको यस बैंकले अन्य विभिन्न स्थानहरुमा चाँडै नै थप शाखा/शाखारहित बैंकिङ्ग सेवा संचालन गर्ने योजना अगाडि सारेको प्रमुख सूचना अधिकारी सुधिरनाथ पाण्डेले बताएका छन् । उक्त बैंकले मुलुकभर २८४ शाखा कार्यालयहरु, २९४ एटिएम, ४६ वटा एक्स्टेन्सन काउण्टर एवं ३५ वटा शाखारहित बैंकिङ्ग इकाईमार्फत् बैंकिङ सेवा प्रदान गर्दै आएको छ ।
सांग्रिला डेभलपमेन्ट बैंक र स्पारो पे प्रालिबीच सम्झौता
काठमाडौँ । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेड र स्पारो पे प्रालिबीच खल्ती (डिजिटल वालेट) सेवा प्रदान गर्ने सम्बन्धी सम्झौता भएको छ । बैंक र उक्त कम्पनीबीचको सहमती पत्रमा बैंकको तर्फबाट प्रमुुख कार्यकारी अधिकृतसुयोग श्रेष्ठ र स्पारो कम्पनीको तर्फबाट उक्त कम्पनीका निर्देशक धु्रब अधिकारीले हस्ताक्षर गरे । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले आफ्ना ग्राहकवर्गहरुलाई विभिन्न प्रकारका बैंकिङ्ग सुविधाहरु जस्तै मोबाईल बैंकिङ्ग, लकर, एटिम, इन्टरनेट बैंकिङ्ग, एबिबिस, रेमिटयान्स आदि सुविधाहरु दिंदै आएकोमा हाल निकै प्रचलनमा रहेको पेमेन्ट गेटवे खल्तीसंग सम्झौता गरेको छ । यो सुविधा अन्तर्गत सांग्रिला डेभलपमेन्ट बैंकका ग्राहकहरुले इन्टरनेट बैंकिङ्ग तथा मोबाईल बैंकिङ्गद्वारा आफ्नो खातामा रहेको रकम खल्तीमा लोड गरी मोबाईल टपअप, एअर टिकट खरिद, खानेपानी शुल्क भुक्तानी, विद्युत महसुल भुक्तानी, सिनेमाका टिकेट जस्ता विभिन्न अन्य सुविधाहरु प्राप्त गर्न सकिन्छ । यो सेवालाई सांग्रिला डेभलपमेन्टका विभिन्न शाखाहरुका काउन्टरबाट डिपोजिट फर्म भरेर पनि यो सुविधा उपयोग गर्न सकिन्छ ।
सेवाग्राहीलाई कामनाले डिजिटल वालेट प्रदान गर्दै
काठमाडौं । ‘प्रगतिको आधार कामना सेवासँग कारोबार’ भन्ने मुल नाराका साथ कामना सेवा बैंकले खल्ती (डिजिटल वालेट) प्रदान गर्ने भएको छ । सर्वसाधारणलाई विभिन्न सुविधा प्रदान गर्दै आइरहेको कामना सेवा विकास बैंकले स्पारो पे को खल्ती डिजिटल वालेट सुविधा समेत प्रदान गर्ने भएको हो । बैंकको मोवाईल बैकिङ सेवा लिएका ग्राहकले आफ्नो खातामा भएको रकम मोवाईल बैकिङ मार्फत खल्ती डिजिटल वालेटमा फण्ड लोड गर्ने सुविधा प्रदान गरिएको छ । खल्ती वालेट मार्फत ग्राहकले क्रेडिट कार्डको बिल भुक्तानी, इन्स्योरेन्सको प्रिमियम भुक्तानी, बिद्युत महसुल भुक्तानी, खानेपानी महसुल भुक्तानी, मोवाइल टप अफ गर्ने लगायत अन्य विभिन्न भुक्तानीमा सहयोगी हुने बंैकले जनाएको छ । बैंकले देशका विभिन्न भागहरुमा ९१ वटा शाखा तथा ४३ वटा एटिएम मार्फत ग्राहकलाई आफनो सेवाहरु प्रदान गर्दै आएको छ । साथै बैंकले एविविएस्, एसएमएस् व्याकिङ्ग, मोबाइल व्याकिङ्ग, सी एएसबिए लगायतका माध्यमबाट समेत सम्पूर्ण बैंकिङ्ग सेवाहरु उपलब्ध गराउँदै आएको तथा समय सापेक्ष आफ्ना सेवाहरु थप गर्दै जाने बैंकको योजना रहेको जानकारी दिएको छ ।