सनराइज बैंकको ११५ औं शाखा बाराको निजगढमा
काठमाडौं । सनराइज बैंकले आफ्ना नयाँ शाखा विस्तार गर्ने क्रममा बाराको निजगढमा ११५ औं शाखा सञ्चालन गरेको छ । उक्त शाखाको उद्घाटन निजगढ नगरपालिकाका मेयर सुरेश कुमार खनाल र सन्राइज बैंकका कार्यकारी अधिकृत जनक शर्मा पौड्यालले गरेका हुन् । हालसम्म सनराइस बैंकको ११५ वटा शाखा, ३८ वटा शाखारहित बैंकिङ्ग सेवा, ५ वटा एक्सटेन्सन काउण्टर र १३३ वटा ए.टि.एम मार्फत आफ्ना ५ लाखभन्दा बढी ग्राहकहरुलाई सेवा प्रदान गर्दै आइरहेको छ ।
महालक्ष्मी विकास बैंकको नयाँशाखा ठमेलमा
काठमाडौं । महालक्ष्मी विकास बैंकले बैकिङ्ग सेवाको पहुँच देशभर पुर्याउने उद्देश्य बमोजिम शाखा सञ्जाल विस्तार गर्दै आइरहेको छ । यसै क्रममा बैंकले काठमाडौं जिल्लाको, काठमाडाैं महानगरपालिका वडा नम्बर २९, ठमेलमा नयाँशाखा कार्यालय बिस्तार गरि बैकिङ्ग कारोबार सञ्चालनमा ल्याएको छ । उक्त शाखा कार्यालय सञ्चालनमा आएसँगै बैंकका शाखा कार्यालयहरुको संख्या ९८ पुगेको छ । महालक्ष्मी विकास बैंकले ग्राहकको विश्वसनीयतामा अभिवृद्दि गरि सम्पूर्ण क्षेत्र र वर्गसम्म बैकिङ सेवाको पहुँच पुर्याउने उद्देश्यले शाखाबिस्तार गरि ९८ वटा शाखाबाट करिब ५ लाखभन्दा बढी ग्राहकहरु माझ बैकिङ सेवाउपलब्ध गराउदै आइरहेको छ । बैंकले ग्राहकको हितलाई मध्यनजर गर्दै देशको अर्थतन्त्र सुदृढ बनाउन प्रयासरत रहने प्रतिबद्धता जनाएको छ ।
कुमारी बैंकले कमायो १ अर्ब ३३ करोड नाफा, प्रतिसेयर आम्दानी १५.३६ रुपैयाँ
काठमाडौं । कुमारी बैंकले गत आर्थिक वर्ष २०७५/७६ मा राम्राे प्रगति गरेकाे छ । बैंकले गत वर्ष १ अर्ब ३३ करोड ९३ लाख रुपैयाँ खुद नाफा गरेको छ । बैंकले अघिल्लो आव २०७४/७५ मा १ अर्ब ४ करोड १८ लाख खुद नाफा गरेको थियो । नाफासँगै बैंककाे व्यवसाय विस्तार पनि राम्राे देखिएकाे छ । तरलता संकटकाे वर्षमा बैंकले निक्षेप करिब २३ प्रतिशतले र कर्जा करिव २२ प्रतिशतले वृद्धि गरेकाे छ । असार मसान्तसम्ममा बैंकले ७३ अर्ब २० करोड निक्षेप संकलन गरेर ७३ अर्ब १२ करोड कर्जा प्रवाह गरेको छ । एक वर्षमा बैंकले १४ अर्ब निक्षेप वृद्धि गरेकाे छ भने १३ अर्बले वृद्धि गरेकाे छ । विभिन्न क्षेत्रमा बैंकले ९ अर्ब १२ कराेड लगानी गरेकाे छ । बैंकले चुक्ता पुँजी ८ अर्ब ६८ करोड रुपैयाँ रहेको छ । विभिन्न काेषमा रहेकाे रकमसहित बैंककाे कुल पुँजी काेष ११ अर्ब ९२ कराेड रूपैयाँ छ । पुँजी काेष पर्याप्तता अनुपात १२.०७ प्रतिशत रहेकाे छ । गत वर्ष झै व्यवसाय विस्तार गर्न बैंकले सेयरधनीलाइ बाेनस सेयर दिएर पुँजी वृद्धि गर्नु पर्ने देखिएकाे छ । तर राष्ट बैंककाे निर्देशन बमाेजिम पुँजीकाे २५ प्रतिशत ऋणपत्र जारी गर्दा पुँजी काेष वृद्धि हुने भएकाेले नगद लाभांश मात्र पनि दिन सक्छ । बैंकको खराब कर्जामा पनि सुधार भएकाे छ । अघिल्लाे असार मसान्तसम्ममा १.०१ प्रतिशत रहेकाे खराव कर्जा गत असार मसान्तमा ०.९७ प्रतिशतमा झरेकाे छ । बेस रेट भने अाैसतभन्दा बढी अर्थात १०.८२ प्रतिशत रहेको छ । व्याजदर अन्तर ३.५४ प्रतिशत मात्र रहेकाे छ । सीडी रेसियाे ७८ प्रतिशत रहेकाे छ । बैंकले अघिल्लो आवको भन्दा प्रतिसेयर आम्दानी बढाएको छ । अघिल्लो आवको तुलनामा प्रतिसेयर आम्दानी ८२ पैसाले बढेर १५.३६ रुपैयाँ पुगेको छ । कुमारी बैंकको प्रतिसेयर नेटवर्थ १३६.६४ रुपैयाँ छ ।