सिभिल बैंक लिमिटेडको शाखा मोरङको उर्लाबारीमा

काठमाडौँ । सिभिल बैंकले मोरङ जिल्लाको उर्लाबारीमा शाखा संचालनमा ल्याएको छ । सो शाखाको उद्घाटन उर्लाबारी नगरपालिकाका नगर प्रमुख खड्गबहादुर फागोले गरेका हुन् । उक्त समारोहमा प्रमुख अतिथि तथा अन्य विशिष्ट पदाधिकारीहरु, सिभिल बैंकका क्षेत्र नं १ का क्षेत्रीय प्रबन्धक सन्तोषकुमार बुढाथोकी, सो क्षेत्रका राजनीतिक ब्यक्तित्वहरु, उद्योगी, व्यवसायी तथा सर्वसाधरणको बाक्लो उपस्थिति थियो । साथै उक्त उद्घाटन समारोहमा प्रमुख अतिथि तथा उर्लाबारी नगरपालिकाका नगर प्रमुख फागोद्वारा महिला बिकास तथा बालबालिका चेतना केन्द्रलाई आर्थिक सहयोग स्वरुप सिभिल बैंकको तर्फबाट चेक हस्तान्तरण पनि गरे ।

कृषि विकास बैंकको नाफा ४ अर्ब ३५ करोड, प्रतिसेयर आम्दानी पनि ७ रुपैयाँले बढ्यो

काठमाडौं । कृषि विकास बैंकको गत आर्थिक वर्ष २०७५/७६ मा ४ अर्ब ३५ करोड नाफा कमाएको छ । बैंकले गत आवमा कमाएको नाफा अघिल्लो वर्ष २०७४/७५ कोभन्दा १९.१५ प्रतिशतले बढी हो । बैंकले अघिल्लो आवमा ३ अर्ब ६५ करोड ३५ लाख रुपैयाँ खुद नाफा कमाएको थियो । बैंकको वितरण योग्य नाफा भने ३ अर्ब ३१ करोड रुपैयाँ रहेको छ । बैंकले गरेको नाफाले बैंकले राम्रो व्यवसाय गरेको देखिन्छ । असार मसान्तसम्ममा बैंकले आम ग्राहकबाट १ खर्ब १९ अर्ब ७६ करोड निक्षेप संकलन गरेर १ खर्ब १० अर्ब ७९ करोड कर्जा प्रवाह गरेको छ । एक वर्षमा बैंकले १४.९१ प्रतिशतले निक्षेप वृद्धि गरेको छ भने ११.२१ प्रतिशतले कर्जा वृद्धि गरेको छ । यस अवधिमा बैंकको चुक्ता पुँजी १४ अर्ब ४४ करोड ८२ लाख रुपैयाँ पुगेको छ । बैंकको खराब कर्जामा पनि सुधार भएको छ । अघिल्लो असार मसान्तसम्ममा ३.४१ प्रतिशत रहेको खराव कर्जा गत असार मसान्तमा २.९० प्रतिशतमा झरेको छ । बेस रेट भने औसतभन्दा बढी अर्थात १०.५८प्रतिशत रहेको छ । व्याजदर अन्तर ४.६८ प्रतिशत रहेको छ । सीसीडी रेसियो ७८.७२ प्रतिशत रहेको छ । यस अवधिमा प्रतिसेयर आम्दानी ७ रुपैयाँ ४९ पैसाले बढेर ४४ रुपैयाँ ६७ पैसा पुगेको छ । कृषि विकास बैंकको कष्ट अफ फन्ट ७.४१ रहेको छ । प्रतिसेयर नेटवर्थ ३१४.१८ रुपैयाँ रहेको छ ।

मोटर बाटो नभएको जग्गा धितो राखेर २० लाख कर्जा लिन पाइने, सेवा शुल्क पुरै छुट

काठमाडौं । मोटर बाटो नभएको जग्गा धितो राखेर २० लाख रुपैयाँसम्म कर्जा लिन पाइने भएको छ । व्यवसायिक कृषि, पशुपालन, साना तथा मझ्यौला व्यवसाय गर्नेलाई, भूकम्प प्रवावित क्षेत्रमा आयमुलक कृयाकलापलाई प्रोत्साहित गर्ने ऋणिलाई मोटर बाटो नभएको खेतीयोग्य जमिन बैंकहरुले धितोमा लिन सक्ने व्यवस्था राष्ट्र बैंकले गरेको हो । त्यस्तै, कृषि, उद्यम र व्यवसाय गर्नेहरुको लागि दिइने १५ लाख रुपैयाँसम्मको कर्जामा पनि मोटरबाटो नभएको जग्गा धितो राख्न सकिने व्यवस्था गरिएको छ । राष्ट्र बैंकले सोमबार सबै वाणिज्य बैंक, विकास बैंक र फाइनान्स कम्पनीहरुलाई यस्तो निर्देशन दिएको हो । यसअघि बैंक तथा वित्तीय संस्थाहरुले कम्तिमा १२ फुटे मोटर बाटो नभएको जग्गा धितोको रुपमा स्वीकार गर्दैनन् थिए । राष्ट्र बैंकले कृषि, उद्यम र व्यवसाय वृद्धि गर्न प्रवाह गर्ने १५ लाखसम्मको कर्जामा आधार दरमा थप २ प्रतिशतभन्दा बढी व्याज नदिन निर्देशन दिएको छ । यो व्यवस्था सँगै साना व्यवसायीले १२ देखि १३ प्रतिशत व्याजदरमा जुनसुकै बैंकबाट कर्जा लिन सक्ने छन् । यसअघि यस्तो प्रकृतिको कर्जामा बैंकहरुले १५ देखि १८ प्रतिशत व्याज लगाउने गरेका थिए । साथै, यस्तो कर्जा लिने ऋणिसँग बैंकहरुले कुनै पनि प्रकारको सेवा शुल्क लिन पाउने छैनन् । कर्जा भुक्तानी गर्ने भनि तोकिएको मिति अगाडी नै ऋणिले कर्जा तिरेमा त्यसमा अग्रिम भुक्तानी शुल्क लिन पनि नपाइने व्यवस्था गरिएको छ । यसअघि बैंकहरुले कर्जा प्रवाह गर्नुपूर्व सेवा शुल्क ऋण रकमको कम्तिमा १ प्रतिशत र अग्रिम भुक्तानी शुल्क १ देखि २ प्रतिशतसम्म लिदै आएका थिए । यस्तो कर्जाको लागि माग भएको ७ दिनभित्र बैंकले स्वीकृति दिनुपर्नेछ । स्वीकृति दिन नसक्ने भएको अवस्थामा कारणसहित निवेदकलाई जानकारी दिनुपर्नेछ ।