एनआईसी एशिया बैंकले सेयरधनीलाई २१ प्रतिशत लाभांश दिने

काठमाडौं । एनआईसी एशिया बैंकले सेयरधनीलाई २१ प्रतिशत लाभांश दिने भएको छ । भदौ ११ गते बसेको सञ्चालक समितिले १० प्रतिशत बोनस सेयर र ११.०५ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेका हो । हाल बैंकको चुक्ता पुँजी ८ अर्ब ८३ करोड रुपैयाँ छ । बोनस सेयर वितरणपछि बैंकको सेयर पुँजी ९ अर्ब ७६ करोड रुपैयाँ पुग्ने बैंकले जनाएको छ । बोनस सेयर घोषणा भएको दिन बैंकको सेयर मूल्य भने प्रतिकित्ता ५ रुपैयाँ घटेको छ । हाल यस बैंकको सेयर मूल्य प्रतिकित्ता ४४२ रुपैयाँमा कारोबार भईरहेको छ ।

युनाईटेड इन्स्योरेन्सको अध्यक्षमा भरतबहादुर कार्की नियुक्त, उपाध्याय नबिलमा जाने

काठमाडौं । युनाईटेड इन्स्योरेन्स कम्पनीको अध्यक्षमा भरतबहादुर कार्की नियुक्त भएका छन् । उनले मंगलबार बीमा समितिका अध्यक्ष समक्ष सपथग्रहण लिएका छन् । एनई ग्रुपबाट प्रतिनिधित्व गरेका उदयकृष्ण उपाध्यायले पदबाट राजनीमा गरेपछि उनको ठाउँमा कार्कीले प्रतिनिधित्व गरेको हुन् । उपाध्याय नविल बैंकको सञ्चालक समितिमा जाने भएपछि युनाईटेड छोडेको स्रोतले बतायो । सन १९७२ मा त्रिभुवन विश्वविद्यायलमा अर्थशास्त्र विषयको गोल्ड मेडलिष्ट कार्कीसँग बैंकिङ, बीमा र परामर्श सेवाको क्षेत्रमा लामो समय काम गरेको अनुुभव छ । ‘बैंकिङ र बीमा क्षेत्रमा लामो अनुभव छ । युनाईटेड इन्स्योरेन्सलाई अहिलेको अवस्थाबाट धेरै अगाडि बढाउनु छ’ उनले विकासन्युजसँग भने । उनी कृषि विकास बैंकमा २ वर्ष महाप्रबन्धक भएका थिए भने वित्तीय क्षेत्र सुधार कार्यक्रम चलेको बेलामा नेपाल बैंकमा ६ वर्ष अध्यक्ष भएका थिए । त्यहिबेलामा नेपाल इन्स्योरेन्स कम्पनीको अध्यक्ष भएर काम गरेका थिए । उनी विश्व बैंकले सहयोग गरेका ग्रामिण खानेपानी विकास बोर्ड, व्यवसायिक कृषि तथा व्यापार परियोजना कार्यक्रमहरुमा संलग्न हुँदै आएका छन् ।

ज्योति विकास बैंकको नयाँ शाखा महाराजगंजमा

काठमाडौं । ज्योति विकास बैंकले शाखा विस्तार गर्ने क्रममा मगंलबार काठमाण्डौको महाराजगंजमा नयाँ शाखा उद्घाटन गरेको छ। उक्त बैंकको उद्घाटन पूर्व अर्थमन्त्री डा. रामशरण महतले गरेका हुन् । बैंकिङ्ग पहुँचमा थप विस्तार गर्दै जनतामाझ पुर्याउने उद्देश्यका साथ नयाँ शाखा महाराजगंजमा सञ्चालनमा ल्याइएको हो। उद्घाटन समारोहमा बोल्दै कार्यक्रमका प्रमुख अतिथि पूर्व अर्थमन्त्री डा. रामशरण महतले बैंकिङ्ग क्षेत्रको प्रगति र यसले मुलुकको ढुकुटीमा पुर्याएको योगदान उल्लेखनीय रहेको कुरामा जोड दिएका छन् । हाल ज्योति विकास बैंकको नयाँशाखासहित १०२ शाखा कार्यालय, १ एक्सटेन्सन काउन्टर तथा ४१ वटा एटिएममार्फत सेवा उपलव्ध गराउँदै आईरहेको छ भने यसै आर्थिक वर्षमा थप नयाँ शाखा संचालनमा ल्याउने प्रक्रियामा रहेको छ ।