माछापुच्छ्रे बैंकले सेयरधनीलाई १६ प्रतिशत लाभांश दिने
काठमाडौँ । माछापुच्छ्रे बैंक लिमिटेडले आव २०७५/७६ को खुद नाफाबाट आफ्ना शेयरधनीहरुलाई चूक्तापूँजीको १६ प्रतिशत लाभांश(कर सहित) वितरण गर्न प्रस्ताव गर्ने निर्णय गरेको छ । बुधबार बसेको सञ्चालक समितिको बैठकले लाभांश प्रस्ताव गरेको हो । उक्त लाभांश अन्तर्गत बैंकले ५ प्रतिशत बोनस शेयर र ११ प्रतिशत नगद लाभांश(कर सहित) नेपाल राष्ट्र बैंकको स्वीकृति एवम् आगामी बार्षिक साधारण सभाबाट पारित भए पश्चात वितरण गर्ने जनाइएको छ । बैंकले गत आर्थिक वर्षमा १ अर्ब ६९ करोड ७० लाख रुपैंया खुद नाफा गरेर प्रतिशेयर आम्दानी २१ रुपैंया ७ पैसा कायम गरेको थियो । बैंकको चुक्तापूँजी ८ अर्ब ५ करोड रुपैयाँ तथा साधारण जगेडा कोषमा १ अर्ब ४५ करोड रुपैयाँ सञ्चित छ । माछापुच्छ्रे बैंकले देशका हरेक बर्ग र समुदायसम्म बैंकिङ्ग सेवाको पहुँचका लागि नयाँनयाँ स्थानहरुमा आफ्नो सेवाविस्तार गर्दै आएको छ । नयाँ शाखाहरु मार्फत कर्जा, निक्षेप लगायतका अन्य सम्पूर्ण बैंकिङ सुविधाहरुको साथमा २४ सै घण्टा एटीएम सेवा पनि उपलब्ध गराउँदै आएको छ । बैंकले पूर्वमा झापादेखि पश्चिममा कञ्चनपुर साथै हिमाल, पहाड र तराई गरी सातै प्रदेशमा आफ्ना १३६ वटा शाखाहरु र १२१ शाखारहित बैकिङ्ग सेवा समेत गरी जम्मा २५७ स्थानवाट सम्पुर्ण बैंकिङ सुबिधा प्रदान गरिरहेको जनाएको छ । साथै, बैंकको देशभर १५७ वटा एटीएमहरु संचालनमा रहेका जनाइएको छ ।
एभरेष्ट बैंकका ग्राहकलाई ओम समाज डेन्टल हस्पिटलमा १५% छुट
काठमाडौँ । एभरेष्ट बैंक लिमिटेडले ग्राहकहरुलाई छुट र स्पेशल प्याकेजको व्यवस्था गर्न ओम समाज डेन्टल हस्पिटलसँग साझेदारी गरेको छ । चावहिल र नयाँ नैकाप कलंकी स्थित ओम समाज डेन्टल हस्पिटल सबैका लागि नेपालमा शिर्ष दन्त चिकित्सा सेवा प्रदान गर्ने बहुविशेषता भएको दन्त स्वास्थ्य सेवा केन्द्र हो । एभरेष्ट बैंक र ओम समाज डेन्टल हस्पिटलबीच हस्ताक्षर भएको एमओयू अनुसार ग्राहकहरुले एक्स–रे बाहेक सम्पूर्ण सेवा शुल्कमा १५% सम्म छुट पाउने छन् । ग्राहकहरुले एभरेष्ट बैंकको एटिएम वा क्रेडिट कार्ड देखाएर उक्त छुट पाउन बैंकले जनाएको छ ।
मेगा बैंकको ‘मेगा माया बचत खाता फेमिली फस्ट’ योजना, डेढ करोडको बीमा सुबिधा
काठमाडौँ । मेगा बैंक नेपाल लिमिटेडले ग्राहकहरुलाई ‘मेगा माया बचत खाता फेमिली फस्ट’ ल्याएको छ । ग्राहकहरुलाई आकर्षक र नवीनतम सुविधाहरु प्रदान गर्दै मेगा बैंकले नियमित बचतसँगै परिवारको स्वास्थ्य र सुरक्षाको अनुभुति दिलाउने उद्देश्यले ‘मेगा माया बचत खाता फेमिली फस्ट’ योजना संचालनमा ल्याएको हो । खातावाल तथा श्रीमान–श्रीमती लगायत दुई जना सन्तानका लागि यो खाता खोल्न सकिनेछ । खाता खोल्नका लागि न्यूनतम मौज्दात १० हजार, २० हजार र ३० हजारका तीन वटा विकल्पहरु राखिएको छ । तीन फरक योजनाहरुमध्ये आफूलाई उपयुक्त योजना छनौट गर्न सकिनेछ । जसबाट दुर्घटना मृत्यु बिमा, घातक रोग बिमा र उपचार खर्च समेत गरी एक परिवारका लागि नेको इन्स्योरेन्समा अधिकतम १,५०,००,००० (डेढ करोड) सम्मको बिमा सुरक्षाको व्यवस्था गरिएको छ । यो खाता खास गरी निजी तथा सरकारी क्षेत्रमा कार्यरत कर्मचारी, स्वरोजगारमूलक व्यवसाय गरिरहेका सर्वसाधारण व्यवसायी, बिभिन्न पेशा व्यावसायमा आबद्ध व्यक्तित्वहरुलाई उपयुक्त हुने मेगा बैंकको विश्वास लिएको छ । ग्राहकहरुको विश्वास जित्दै अघि बढिरहेको मेगा बैंकको यस योजनालाई ग्राहकहरुले अत्याधिक मन पराउने मेगा बैंककी सिइओ अनुपमा खुञ्जेलीले बताइन् । यो खाता खोल्दा मोबाइल बैंकिङ र डेबिट कार्डमा ५० प्रतिशतदेखि शत प्रतिशतसम्म र क्रेडिट कार्डको शुल्कमा १० देखि ५० प्रतिशतसम्म छुटको व्यवस्था गरिएको छ । साथै मेगा बैंकले यसअघिदेखि नै न्यूनतम मौज्दात एक हजारदेखि नै बीमा सुविधासहितको बचत योजना पनि उपलब्ध गराउँदै आएको जनाएको छ ।