ग्रीन डेभलपमेन्ट बैंक सातौँ वर्षमा, रंग वैंकटेश्वर मुक्तिनारायण मन्दिरलाई सहयोग

काठमाडौँ । वाग्लुङ्ग जिल्लामा केन्द्रीय कार्यालय रहने गरी २०७० सालमा स्थापना भएकोे ग्रीन डेभलपमेन्ट बैंक सातौं वर्षमा प्रवेश गरेको छ । बैंकले सातौं वार्षिकोत्सवको उपलक्ष्यमा एक कार्यक्रम आयोजना गरी वाग्लुङ्ग जिल्लामा निर्माणाधीन रहेको रंग वैंकटेश्वर मुक्तिनारायण मन्दिर कुडुले, वाग्लुङ्गलाई आर्थिक सहयोग गरेको छ । बैंकले आफ्नो सामाजिक उत्तर दायित्व अन्तर्गत उक्त सहयोग रकम हस्तान्तरण गरेको बैंकका प्रमुख कार्यकारी अधिकृत उमेश कुमार आचार्यले बताए । कार्यक्रममा वोल्दै प्रमुख कार्यकारी अधिकृत आचार्यले बैंकले विभिन्न किसिमका आधुनिक वैंकिङ्ग सुविधा प्रदान गर्नुका साथै स्थानिय स्तरमा छरिएर रहेको पूँजीलाई एकिकृत गरी स्थानीय स्तरमै सञ्चालित उद्यमशीलतासँग सम्बन्धित तथा अन्य उत्पादनशील क्षेत्रलाई प्राथमिकतामा राखी विभिन्न कर्जा उपलब्ध गराउदैं आएको बताए । बैंकका अध्यक्ष गणेशकुमार श्रेष्ठको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा विशिष्ठ अतिथि तथा उक्त मन्दिरका अध्यक्ष स्वामी ऋषी प्रपन्नाचार्य, वैंकका सञ्चालक कृष्णशंकर श्रेष्ठ लगायतले बोलेका थिए । वैंकले हाल कास्की, बाग्लुङ्ग र म्याग्दी जिल्लामा रहेका ९ वटा शाखा कार्यालयहरुबाट विभिन्न किसिमका आधुनिक वैंकिङ्ग सुविधाहरु, मोबाईल वैंकिङ्ग, निःशुल्क एटीएम सेवा, आईपीएस जस्ता सुविधाका साथ साथै वचत तथा मुद्दती खातामा आकर्षक ब्याजदर प्रदान गर्दै आएको जनाएको छ ।

कर्पोरेट क्रिकेट च्याम्पियन बन्न सफल सेञ्चुरी बैंक

काठमाडौं । इन्डोर क्रिकेट कर्पोरेट २०१९ अन्तर्गत फाइनल खेलमा सिटिजन बैंक विरुद्ध सेञ्चुरी बैंकको जित भएको छ । सो जितसंगै सेञ्चुरी बैंकले लगातार तीन पटक उपाधि जितेर ह्याट्रिक गर्न सफल भएको हो । साथै,शनिबार काठमाण्डौं किंग्स एलेभेनको आयोजनमा संचालन भएको दोस्रो सिजनको कर्पोरेट कप क्रिकेटमा पनि सेञ्चुरी बैंकले एनआईसी एसिया बैंकलाई पराजित गरी च्याम्पियन बन्न सफल भएको छ ।

गुल्मीको शान्तिपुरमा नेपाल बैंकको शाखा पुनस्र्थापना

काठमाडौँ । गुल्मी जिल्लाको चन्द्रकोट गाउँपालिका, शान्तिपुरमा नेपाल बैक लिमिटेड शान्तिपुर शाखा पुनस्र्थापना गरिएको छ । उक्त शाखाको नेपाल बैंक लिमिटेड संचालक समितिका अध्यक्ष वासुदेव अधिकारी र चन्द्रकोट गाउँपालिकाका अध्यक्ष द्रोणबहादुर खत्रीले एक समारोहका बीच संयुक्त रुपमा उद्घाटन गरेका हुन् । सो अवसरमा बैंक संचालक समितीका अध्यक्ष वासुदेव अधिकारीले नेपाल बैंक लिमिटेडको समग्र अबस्थाबारे प्रकाश पार्दै नेपाल बैंक नविनतम प्रविधिहरुको अधिकतम उपयोग गर्दै ग्राहकमुखी बैंकिङ अभ्याससहित अघि बढिरहेको वताए । चन्द्रकोट गाउँपालिकाका अध्यक्ष द्रोण बहादुर खत्रीले आफनो गाउँपालिकामा बैंक पुनस्थपित भएकोमा प्रशन्नता व्यक्त गर्दै यसबाट गाउपालिकाको आर्थिक गतिविधिमा तिव्रता आउने वताए । यसैगरी नेपाल बैंकको प्रादेशिक कार्यालय प्रदेश नं.५का प्रमुख पाशाङ दोर्जे शेर्पाले केही समयमै गुल्मीको तम्घास, अर्र्घाखाँचीको सन्धिखर्क लगायतका स्थानमा शाखा तथा गुल्मीको रिडीमा एक्सटेन्सन काउन्टर र शान्तिपुर शाखामा छिटै एटीएम सेवा संचालनमा ल्याउन लागिएको जानकारी दिए । उक्त शाखा सशस्त्र द्वन्द्वकालमा कमजोर शान्ती सुरक्षाका कारण अन्यत्र गाभिएको थियो ।