नेपाल बङ्गलादेश बैंकको ६ नयाँ शाखा विस्तार

काठमाडौं । नेपाल बङ्गलादेश बैंकले थप ६ शाखा विस्तार गरेकाे छ ।  शाखा विस्तारको क्रममा बैंकले ललितपुर जिल्लाको सानेपा, काठमाण्डौँ जिल्लाको टोखा र तिलगङ्गा , भक्तपुर जिल्लाको च्यामासिङ, दाङ जिल्लाको तुल्सीपुर र सिन्धुपाल्चोक जिल्लाको तातोपानी शाखा तथा तातोपानी भन्सार राजश्व संकलन काउन्टर उद्घाटन भई औपचारिक कारोबार शुरूवात गरेको हाे । यसरी, बैँकले सर्वसाधारणलाई सहज बैँकिङ्ग सेवा सुविधा प्रदान गर्ने उदेश्यले आफ्नो शाखा संजाल नपुगेका क्षेत्रमा नयाँ शाखा विस्तार गरेको हो । साथै शाखाहरुबाट सर्वसाधारण तथा उद्यमीले सबै प्रकारका निक्षेप तथा कर्जा कारोबार सुविधा र रकम भुक्तानी लगायत सम्पुर्ण बैँकिङ्ग सेवा प्राप्त गर्न सक्ने जनाएको छ । हाल यी ६ शाखाहरु सहित बैंकले ९४ शाखा, ७ एक्सटेन्सन काउन्टर, तथा ७८ वटा एटिएमबाट बैंकिङ्ग सुविधा प्रदान गर्दै आएको छ ।

नक्कली सुन धितो प्रकरणमा विवादित बैंकर्स विवेक स्वाँरकाे हृदयघातबाट मृत्यु

बाँके । सिटिजन्स बैंक नेपालगञ्जका प्रबन्धक विवेक स्वाँरको हृदयघातका कारण आइतबार राति मृत्यु भएको छ । हृदयघात भएर भेरी अस्पताल ल्याइएका स्वाँरको उपचारका क्रममा मृत्यु भएको हो । सिटिजन्स बैंकमा नक्कली सुन धितो राखेर बैंकलाई करोडौँ ठगी गरेको अभियोग लागेपछि मानसिक तनावमा रहेका स्वाँरको हृदयघातबाट मृत्यु भएको बाँकेका प्रहरी उपरीक्षक वीरबहादुर वलीले जानकारी दिए । सिटिजन्स बैंकमा दिनभर व्यस्त रहेका स्वाँर आइतबार अबेर बेलुका ६ बजे कार्यालयबाट घर आएका थिए । उनी एक्कासि बिरामी भएपछि अस्पताल भर्ना गरिएको पारिवारिक स्रोतले जनाएको छ । स्वाँरले बैंकिङ कसुरअन्तर्गत मुद्दा भोगिरहेका थिए । गत साउन ८ गते रु २५ लाख धरौटीमा छुटेका स्वाँरको एक महिनापछि भदौ ८ गतेका दिन हृदयघातबाट मृत्यु भएको छ । उनको आज दाहसंस्कार गरिने पारिवारिक स्रोतले जनाएको छ ।

आइसीएफसी फाइनान्सले २ लाख कित्ता डिबेञ्चर निष्काशन गर्ने, ग्लोबल आइएमई बिक्री प्रबन्धक नियुक्त

काठमाडौँ । आईसीएफसी फाइनान्स लिमिटेडले २ लाख कित्ता डिबेञ्चर निष्काशन गर्ने भएको छ । डिबेञ्चर निष्काशन गर्न आइतबार ग्लोबल आइएमई क्यापीटल लिमिटेडलाई निष्काशन तथा बिक्री प्रबन्धक नियुक्त गरिएको छ । २,००,००० कित्ता डिबेञ्चर प्रति कित्ता अंकित मूल्य रु.१,०००/-को दरले हुने कुल रकम रु.२०,००,००,०००/-(अक्षरेपी बीस करोड मात्र) निष्कासन तथा विक्री गर्ने सम्बन्धमा दुवै संस्था बीच सम्झौता सम्पन्न भएको हो । उक्त डिबेञ्चर ७(सात) वर्षका लागि वार्षिक १२ % ब्याजदरमा प्रत्येक ६/६ महिनामा ब्याज पाउने गरी निष्कासन गर्न लागिएको हो ।