झापा र ईलाम मालपोत कार्यालयमा प्रभु बैंकको एक्स्टेन्सन काउण्टर
काठमाडौँ । प्रभु बैंकले झापा जिल्लाको दमक नगरपालिका स्थित मालपोत कार्यालय र ईलाम मालपोत कार्यालयमा एक्स्टेन्सन काउण्टरहरु सञ्चालनमा ल्याएको छ । दमकस्थित मालपोत कार्यालयको परिसरमा स्थापित एक्स्टेन्सन काउण्टरको भदौ १ गते झापा मालपोत कार्यालयका कार्यालय प्रमुख चण्डिप्रसाद कोईरालाले एक समारोहका बीच उद्घाटन गरेका हुन् । त्यसैगरी ईलामस्थित मालपोत कार्यालय परिसरमा भदौ ०४ गते ईलाम मालपोत कार्यालय प्रमुख केशबकुमार ढकाल र कोष तथा लेखा नियन्त्रण कार्यालयका निमित्त कार्यालय प्रमुख डिकेन्द्रबहादुर थापाले संयुक्त रुपमा प्रभु बैंकको एक्स्टेन्सन काउण्टरको उद्घाटन गरे ।
१८ करोड हिनामिना गरेको आरोपमा देव विकास बैंकका प्रबन्धक बुढाथोकी पक्राउ
घोराही । जिल्ला प्रहरी कार्यालय दाङले बैंकको रकम हिनामिना गरेको आरोपमा देव विकास बैंक नारायणपुर शाखाका प्रबन्धक समीर बुढाथोकीलाई पक्राउ गरेकाे छ । बैंकको करिब रु १८ करोड हिनामिना गरेको आरोप बुढाथोकीलाई लागेको छ । जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रवक्ता विनोदविक्रम शाहका अनुसार आरोपित बुढाथोकीले बैंकको रु १७ करोड ९९ लाख हिनामिना गरेका थिए । बैंकको केन्द्रीय कार्यालयको उजुरीका आधारमा लमहीबाट उनलाई पक्राउ गरिएको हो । बुढाथोकीले ३५ जना नक्कली ऋणी तयार गरी आफूलाई फाइदा हुने गरी बैंकबाट पैसा झिकेको बैंकले जनाएको छ । आरोपित बुढाथोकीलाई थप अनुसन्धानका लागि आजै नेपालगञ्ज पठाइने प्रहरीले जनाएको छ । दाङमा वाणिज्य इजलास नभएकाले नेपालगञ्ज पठाइन लागिएको प्रहरी प्रमुख बेलबहादुर पाण्डेले जानकारी दिएका छन् । घोराही–१५ भरतपुर निवासी बुढाथोकी २०६७ देखि बैंकमा कार्यरत थिए । डेढ वर्षअघि मात्रै उनी प्रबन्धकका रूपमा नियुक्त भएको बताइएको छ । रासस
जनता बैंकद्वारा जनभोजनका लागि प्रेमसागर फाउण्डेसनलाई २ लाख सहयोग
काठमाडौं । जनता बैंकले प्रेमसागर फाउण्डेसन नेपालले संचालन गरेको जनभोजन (फुड फर पिपुल) लाई २ लाख सहयोग हस्तान्तरण गरेको छ । उक्त जनभोजन कार्यक्रमको कार्यालय तसर्पु, दामेचौर र धादिङमा एक कार्यक्रमका बीच जनता बैंकको तर्फबाट प्रेमसागर फाउण्डेसनका उपाध्यक्ष डा. प्रेमराज ढुङ्गेललाई हस्तान्तरण गरेको हो । प्रेमसागर फाउण्डेसनद्धारा संचालित जनभोजन कार्यक्रमले दैनिक ५ सय बालबालिका र करिब १ सय जना बृद्ध आमाबुबाहरुलाई दैनिक बिहानको खान खुवाउदै आएको छ । साथै, धादिङ र मकवानपुरका केही विद्यालयका करिब १५०० बालबालिकालाई दिवा खाजाको कार्यक्रम समेत संचालन गरेको छ । दैनिक करिव रु. ५० हजार रकम बराबरको बिहानी खाना र दिवा खाजाको कार्यक्रम संचालन गर्दै आइरहेको फाउण्डेसनलाई जनता बैंकले संस्थागत सामाजिक उत्तरदायित्वबाट ४ दिन बराबरको खाना तथा खाजा सहयोग बापत उक्त रकम सहयोग गरेको हो । यसरी, धादिङ र मकवानपुरको सिमानामा पर्ने तसर्पु र आसपासमा रहेका विपन्न बस्तीलाई लक्षित गरी करिब १० वर्ष अगाडि देखि प्रेम सागर फाउण्डेसनले विद्यालय जाने बालबालिकालाई पोषणयुक्त खाना तथा खाजाको व्यवस्था गर्दै आइरहेको छ । उक्त कार्यक्रमको प्रभावले यस क्षेत्रका शत प्रतिशत विद्यार्थी विद्यालय भर्ना भएका र शैक्षिक गुणस्तरमा पनि धेरै सुधार आएको फाउण्डेसनले जनाएको छ ।