सेञ्चुरी बैंकको डेपुटी सीईओमा मनोज न्यौपाने नियुक्त

काठमाडौँ । सेञ्चुरी कमर्सियल बैंक लिमिटेडको नायब प्रमुख कार्यकारी अधिकृत (डेपुटी सीईओ)मा मनोज न्यौपाने नियुक्त भएका छन् । साउन २८ गते बसेको सञ्चालक समितिको बैठकले हाल प्रमुख व्यवसाय अधिकृत पदमा कार्यरत न्यौपानेलाई साउन २८ गते देखिनै लागू हुने गरी नायब प्रमुख कार्यकारी अधिकृत पदमा नियुक्त गरेको हो । २ वर्षदेखि  सेन्चुरी बैंकको प्रमुख व्यवसाय अधिकृत पदमा कार्यरत न्यौपानेले लक्ष्मी बैंक लिमिटेडबाट बैंकिङ्ग सेवा प्रारम्भ गरेका हुन् । हिमालयन बैंक लिमिटेड तथा सनराईज बैंक लिमिटेडमा गरी करिब १५ वर्षको बैंकिङ्ग कार्यानुभव हासिल गरेका छन् । न्यौपाने बैंकको प्रमुख सूचना अधिकारी पनि हुन् । न्यौपानले काठमाडौं विश्व विद्यालयबाट वाणिज्य शास्त्रमा स्नातकोत्तर गरेका छन् । उनको लगनशीलता, बजार पहुँच, बैंकिङ्ग तथा वित्त बजार सम्बन्धी ज्ञान तथा प्रभावकारी नेतृत्वमा बैंक आगामी दिनहरुमा अझ गतिशील भई सफलताका साथ अगाडि बढ्ने बैंक सञ्चालक समितिको विश्वास छ ।

राष्ट्रिय वाणिज्य बैंक र एनबीआईबीच सम्झौता, कर्मचारीको दक्षता अभिबृद्धि गरिने

काठमाडौँ । राष्ट्रिय वाणिज्य बैंक लिमिटेड र नेशनल बैंकिङ्ग इन्ष्टिच्युट लिमिटेड (एनबीआई) बीच बैंकिङ्ग तालिम सञ्चालन गर्ने सम्बन्धी सम्झौता भएको छ । सम्झौता पत्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठ र नेशनल बैंकिङ्ग इन्ष्टिच्युटका प्रमुख कार्यकारी अधिकृत संजीब सुब्बाले हस्ताक्षर गरेका छन् । समारोहमा बैंंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले कर्मचारीहरुको दक्षता अभिबृद्धिबाट नै बैंकले दिगो प्रगति हासिल गर्न सक्ने बताए । इन्ष्टिच्युटका प्रमुख कार्यकारी अधिकृत संजीब सुब्बाले बैंकिङ्ग क्षेत्रमा राष्ट्रिय वाणिज्य बैंक मार्गदर्शनको रुपमा रहेकोले बजारले रावा बैंकलाई नियालिरहेको बताए । उक्त सम्झौतापछि आब २०७६/०७७ मा राष्ट्रिय वाणिज्य बैंकका कर्मचारीहरुको कार्यदक्षता अभिबृद्धिको लागि नेशनल बैंकिङ्ग इन्ष्टिच्युटले विभिन्न विषयमा नियमित रुपमा बैंकिङ्ग तालिम प्रदान गर्ने छ । उक्त समारोहमा राष्ट्रिय वाणिज्य बैंकका नायब प्रमुख कार्यकारी अधिकृतहरु कविराज अधिकारी, केशबप्रसाद लम्साल, उपकार्यकारी अधिकृतहरु महेन्द्रप्रसाद अवस्थी, सरस्वती अधिकारी, देवेशप्रसाद लोहनी, विभागीय प्रमुखहरु, नेशनल बैंकिङ्ग इन्ष्टिच्युटका तर्फबाट हेड अफ प्रोग्राम धन थापाको उपस्थिति रहेको थियो ।

२५ प्रतिशतले बढ्यो एनएमबीको नाफा, प्रतिसेयर मूल्य २.२३ रुपैयाँले बढ्यो

काठमाडौंः एनएमबी बैंकले गएको आर्थिक वर्ष २०७५/७६ मा २ अर्ब ३१ करोड रुपैयाँ खुद नाफा आर्जन गरेको छ । बैंकले गएको आवमा कमाएको नाफा अघिल्लो वर्षको यसैअवधिको तुलनामा २४.८६ ले बढी हो । अघिल्लो वर्ष बैंकले १ अर्ब ८५ करोड नाफा आर्जन गरेको थियो । बैंकको वितरण योग्य नाफा भने १ अर्ब २७ करोड रहेको छ । बैंकको खुद ब्याज आम्दनी ४ अर्ब २६ करोड रुपैयाँ पुगेको छ । संचालन मुनाफा ३ अर्ब २७ करोड रुपैयाँ पुगेको छ । बैंकले चालु आर्थिक वर्षमा ९७ अर्ब ८९ करोड निक्षेप संकलन गरेर ८८ अर्ब ४८ करोड कर्जा प्रवाह गरेको छ । बैंकको खराब कर्जा पनि १ प्रतिशतभन्दा कम ०.८२ प्रतिशत रहेको छ । सीसीडी रेसियो ७६.८८ प्रतिशत रहेको छ । बैंकको चुक्ता पुँजी ९ अर्ब ६१ करोड छ भने रिर्जभ फन्ड ३ अर्ब ५३ पुगेको छ । एनएमबीको बेसरेट ९.८६ प्रतिशत रहेको छ भने बैंकको कस्ट अफ फन्ड ७.२६ प्रतिशत रहेको छ । एनएमबीको प्रतिसेयर आम्दानी २४.०९ रुपैयाँ र प्रतिसेयर नेटवर्थ १८१.४९ रुपैयाँ छ । बैंकको सेयर मूल्य ३८२ रुपैयाँ रहेको छ ।