१८ करोड रकम हिनामिना गरेको आरोपमा बैंकका थप दुई कर्मचारी पक्राउ
घोराही । दाङको घोराही-१० नाराणपुरस्थित देवः विकास बैंकको झन्डै रु १८ करोड रकम हिनामिना गरेको आशङ्कामा जिल्ला प्रहरीले थप दुई जना कर्मचारीलाई आज पक्राउ गरेको छ । बैंकको रकम हिनामिनामा मुछिएको पाइएपछि बैंकका दुई जना कर्मचारीलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता विनोदविक्रम शाहले बताएका छन्। पक्राउ परेका कर्मचारीको परिचय भने खुलाइएको छैन । प्रहरीले बैंकको रकम हिनामिना गरेको आरोपमा प्रहरीले यसअघि नै बैंकका प्रबन्धक समी बुढाथोकीसहित १२ जनालाई पक्राउ गरेको थियो । तीमध्ये चार जना छुटिसकेका छन् भने अरु प्रहरीकै हिरासतमै छन् । अहिले बैंकको नारायणपुर शाखाको सम्पूर्ण कारोवार बन्द रहेको छ । रासस
एशियाली बैंकद्वारा हिमालयन बैंकलाई अवार्ड प्रदान
काठमाडौं । एशियाली विकास बैंक (एडिबि.) ले हिमालयन बैंक लिमिटेडलाई ट्रेड फाईनान्स कार्यक्रम अन्तर्गत उच्चतम कारोबार गरे बापत ‘टिएफपि अवार्ड २०१९ लिडिङ पार्टनर बैंक इन नेपाल’ प्रदान गरेको छ । एशियाली विकास बैंकद्वारा हिमालयन बैंकलाई बैंकले एशिया प्रशान्त क्षेत्रमा ट्रेड फाईनान्सलाई प्रवद्र्धन गर्न खेलेको प्रभावकारी भूमिकाको लागि उक्त अवार्ड प्रदान गरेको हो । सेप्टेम्बर ३, २०१९ मा सिंगापुरमा आयोजित एडिबि ट्रेड फाईनान्स प्रोग्रामको अवार्ड समारोहमा हिमालयन बैंकका महाप्रबन्धक सुशिल जोशी र मुख्य प्रबन्धक सतीश राज जोशीले उक्त अवार्ड ग्रहण गरेका छन् । बैंकले यस पटक समेत गरी तेश्रो पटक यो अवार्ड प्राप्त गरेको हो ।
चितवनको विकास चोकमा सिन्धु विकास बैंकको शाखा
काठमाडौँ । सिन्धुपाल्चोक जिल्लाको पहिलो विकास बैंकको रुपमा स्थापित सिन्धु विकास बैंक लिमिटेडले चितवन जिल्लाको विकासचोकमा बैंकको शाखा स्थापना गरेको छ । विकासचोक शाखा चितवन उद्योग बाणिज्य संघका अध्यक्ष सहनलाल प्रधानले उद्घाटन गरेका हुन् । सो अवसरमा बैंकका अध्यक्ष राजेन्द्रकुमार श्रेष्ठ तथा प्रमुख कार्यकारी अधिकृत रमेशप्रसाद जोशीले बैंकको हालसम्मको प्रगती तथा भावी कार्यक्रमको बारेमा मन्तव्य राखेका थिए । बैंकले निकट भविष्यमा नै चितवन जिल्लाको नारायणगढ, चनौली, लाहुरे चोक र मकवानपुर जिल्लाको हेटौडा बजार लगाएत विभिन्न स्थानहरुमा बैंकको शाखा तथा सिमित बैंकिङ्ग ईकाई कार्यालय स्थापना गर्ने जनाएको छ ।