कँडेललाई ज्योति विकास बैंकको कम्पनी सचिव पदमा नियुक्त

काठमाडौं । ज्योति विकास बैंकको कम्पनी सचिव पदमा पारसराज कँडेललाई नियुक्त गरिएको छ । यही भदौ २४ गतेदेखि लागु हुनेगरी उनलाई सो पदमा नियुक्त गरिएको हो । यसरी, कम्पनी सचिवको नियुक्ति तथा हालका कम्पनी सचिवको जिम्मेवारी हेरफेर गरिएको बैंकका प्रमुख कार्यकारी अधिकृत मनोजकुमार ज्ञवालीले जानकारी दिएका छन् ।

लक्ष्मी बैंकको ११३औँ शाखा सप्तरीको राजविराजमा

काठमाडौँ । लक्ष्मी बैंकले आफ्नो शाखा सञ्जाल विस्तार गर्ने क्रममा ११३औँ शाखा सप्तरीको राजविराजमा संचालनमा ल्याएकोे छ । यो शाखामार्फत बैंकले ग्राहकहरुको वित्तीय आवश्यकता पूरा गर्न आवश्यक सम्पूर्ण रिटेल बैकिंग सेवाका साथै साना तथा लघु व्यवसायीहरु माझ वित्तीय पहुँच पुर्याउने लक्ष्य राखेको छ । बैंकले ग्राहकहरुलाई उनीहरुकै रोजाईको माध्यम अर्थात शाखा कार्यालय, इन्टरनेट बैंकिङ्ग र मोवाईल फोन मार्फत बैंकिङ्ग सेवाप्रादन गरी शहरी तथा अर्ध शहरी क्षेत्रमा आफ्नो ब्राण्ड तथा ग्राहक अनुभवलाई अझ सशक्त पार्ने नीति अनुरुप महत्वपूर्ण फड्को मार्ने विश्वास लिएको छ ।

सेञ्चुरी कमर्सियल बैंक आरटीजीएस प्रणालीमा

काठमाडौँ । सेञ्चुरी कमर्सियल बैंक र नेपाल राष्ट्र बैंक, भुक्तानी प्रणाली विभागबीच आरटीजीएस प्रणाली सञ्चालन सम्बन्धि सम्झौता भएको छ । भदौ २२ गते भएको सम्झौतामा सेञ्चुरी बैंकका ग्राहकले आवश्यकता अनुसार नेपाल राष्ट्र बैंकद्धारा सञ्चालित आरटीजीएस प्रणालीमार्फत एउटा बैंकबाट अर्को बैंकमा भुक्तानी कारोबार फछ्र्यौट गर्न सक्ने छन् । सम्झौता पत्रमा नेपाल राष्ट्र बैंक, भुक्तानी विभागका कार्यकारी निर्देशक बमबहादुर मिश्र र बैंकका प्रमुख कार्यकारी अधिकृत तुलसीराम गौतमले हस्ताक्षर गरेका छन् ।