नेपाल क्रेडिट एण्ड कमर्स बैंक लिमिटेडको एक्सटेन्सन काउन्टर मलंगवामा

काठमाडौं । नेपाल क्रेडिट एण्ड कमर्स बैंक लिमिटेडले सर्लाही जिल्लाको मलंगवा नगरपालिका, वडा नं. ८ मलंगवामा एक्सटेन्सन काउन्टर संचालनमा ल्याएको छ । उक्त कार्यालयको उद्घाटन मलंगवा नगरपालिकाका मेयर निर्सल साहले गरेका हुन् । उक्त कार्यक्रममा बैंकका प्रदेश २ प्रमुख समिर अचार्यले स्वागत मन्तव्य व्यक्त गर्नुका साथै उक्त शाखाका शाखा प्रबन्धक रविप्रसाद श्रीवास्तवले उपस्थित प्रमुख अतिथि र अन्य अतिथिलाई धन्यवाद ज्ञापन गरेका थिए ।

थप दुई मालपोत कार्यालयमा प्रभु बैंकको एक्स्टेन्सन काउण्टर सञ्चालन

काठमाडौं । प्रभु बैंकले आफ्नाे सेवा विस्तार गर्ने क्रममा महोत्तरी जिल्लाको बर्दिबास मालपोत कार्यालय र जलेश्वर मालपोत कार्यालयमा एक्स्टेन्सन काउण्टरहरु सञ्चालनमा ल्याएको छ । बर्दिबासस्थित मालपोत कार्यालयको परिसरमा स्थापित एक्स्टेन्सन काउण्टरको मिति २०७६ भदौ २७ गते बर्दिबास मालपोत कार्यालयका कार्यालय प्रमुख कोमल रन्जन बरालले उद्घाटन गरेका हुन् । त्यसै गरी जलेश्वरस्थित मालपोत कार्यालय परिसरमा मिति २०७६ भदौ २७ गतेका दिन जलेश्वर मालपोत कार्यालय प्रमुख भुपबहादुर बोगटि र कोष तथा लेखा नियन्त्रण कार्यालयका निमित्त कार्यालय प्रमुख युवराज राईले संयुक्त रुपमा उद्घाटन गरेका थिए । महोत्तरी जिल्लास्थित बर्दिबास मालपोत कार्यालयमा र जलेश्वर मालपोत कार्यालयमा आउने सेवाग्राहीहरुले अब विना झण्झट प्रभु बैंकको एक्स्टेन्सन काउण्टरमा रहेको सम्बन्धित मालपोत कार्यालयको खातामा राजश्व रकम जम्मा गरी सरल र सहज रुपमा मालपोत कार्यालयको काम गर्न सक्नेछन् । नेपाल राष्ट्र बैंक तथा अन्य सम्बन्धित निकायसँग समन्वय गरी विभिन्न सरकारी निकायहरुको बैंकिङ्ग कारोबार प्रभावकारी रुपमा सञ्चालन गरिहेको प्रभु बैंकले मालपोत कार्यालयमा पनि आफ्नाे सेवा विस्तार गर्न सफल भएको छ । प्रभु बैंकको एक्स्टेन्सन काउण्टरबाट सम्बन्धित मालपोत कार्यालयमा आउने सेवाग्राहीहरुलाई राजश्व जम्मा गर्न सहज हुनुका साथै दुवै मालपोत कार्यालयहरुको आर्थिक कारोबार बैंकिङ्ग प्रणालीमा प्रवेश गरेको छ । प्रभु बैंकका दुवै एक्स्टेन्सन काउण्टरहरुबाट प्रवाह गरिने बैंकिङ्ग सेवाबाट स्थानीयबासी तथा सेवाग्राहीहरुले प्रभु बैंकको गुणस्तरीय बैंकिङ्ग सेवा उपभोग गरी लाभान्वित भएका छन् । प्रभु बैंकले १९५ वटा शाखा कार्यालय, १५२ वटा एटिएम तथा २९ वटा एक्स्टेन्सन काउण्टरहरु मार्पmत् अत्याधुनिक प्रविधियुक्त गुणस्तरीय बैंकिङ्ग सेवा प्रवाह गरिरहेको छ ।

एक नम्बर बन्ने अभियानमा प्राइम कमर्शियल बैंक, कन्काई गाभियो, ‘समृद्धिमा ४ पिल्लर महत्वपूर्ण’

काठमाडौं । २२ अर्ब चुक्ता पुँजी पुर्याएर देशकै ठूलो बैंक बन्ने लक्ष्यसहित अघि बढेको प्राइम कमर्शियल बैंकले पूर्वी नेपालको उत्कृष्ट मानिने कन्काई विकास बैंकलाई आफूमा विलय गराएको छ । आईतबार प्राइम कमर्शियल बैंकको केन्द्रीय कार्यालयमा आयोजित एकीकृत कारोबार समारोह गर्दै प्राइमले कन्काईलाई औपचारिक रुपमा आफूमा विलय गरेको घोषणा गरेको हो । हाल ९ अर्ब ३१ करोड रुपैंया शेयर पुँजी भएको प्राइम कमर्शियल बैंकले ५१ करोड ५० लाख रुपैंया रहेको कन्काई विकास बैंकलाई १०० रुपैंया बराबर ७१ रुपैंया स्वाप रेसियो दिएर गाभेको हो । योसँगै बैंकको चुक्ता पुँजी ९ अर्ब ६८ करोड रुपैंया पुगेको छ । बैंकले राष्ट्रियस्तरको कैलाश विकास बैंक र ललितपुर फाइनान्सलाई पनि आफूमा गाभ्ने सम्झौता गरिसकेको छ । प्राइमले कैलाशलाई १०० रुपैंया बराबर ९४ रुपैंया र १०० रुपैंया र ललितपुर फाइनान्सलाइ १०० बराबर २० रुपैंया दिएर आफूमा गाभ्न लागेको हो । प्राइमले यसअघि नै अधिकृत पुँजी २२ अर्ब कायम गरिसकेको छ । सो सीमाभित्र पुँजी विस्तार गर्न बैंकले विभिन्न वित्तीय संस्थाहरु आफूमा गाभ्ने नीति लिँदै आएको छ । मर्जसँगै बैंककाे निक्षेप ८८ अर्ब ३ कराेड, कर्जा ८० अर्ब २८ कराेड रूपैयाँ भएकाे छ भने शाखा संख्या ९५ वटा भएकाे छ । हाल प्राइम बैंकमा करिब १५०० कर्मचारीहरु कार्यरत छन् । नम्बर वान बन्ने लक्ष्य, ४ ओटा आधार आइतबार आयोजित एकीकृत कारोबार समारोहमा प्राइम कमर्शियल बैंकका अध्यक्ष राजेन्द्रदास श्रेष्ठले प्राइम बैंक देशकै नम्बरवान वाणिज्य बैंक बन्ने घोषणा गरे । कैलाश र ललितपुर फाइनान्सलाई गाभेपछि १२ अर्ब चुक्ता पुँजी र १८ अर्बको प्राथमिक पुँजी पुग्ने र त्यसपछि बैंकले आकार र गुणस्तर दुवैका आधारमा नेपालकै नम्बरवान वाणिज्य बैंक बन्ने दिशामा आफूलाई केन्द्रित गर्ने घोषणा समेत श्रेष्ठले गरे । उनले त्यसका लागि बैंकका ४ ओटै खम्बाहरुलाई उत्तिकै महत्व दिएर अघि बढ्ने समेत बताए । ‘कुनै पनि बैंकका ४ खम्बाहरु भनेको निक्षेपकर्ता, ऋणी, शेयरधनी र कर्मचारीहरु नै हुन्, यी सबैका हितहरुलाई केन्द्रमा राखेर अघि बढ्छौं’ उनले भने । कन्काईलाई मर्ज गर्दा पूर्वी नेपालका जिल्लाहरुमा बैंकको पहुँच निकै बढ्ने विश्वास समेत उनले गरे । कन्काई, कैलाश र ललितपुरलाई समेत गाभेपछि ती संस्थाका कर्मचारीहरुको वृत्ति र क्षमता विकासमा उत्तिकै ध्यान दिँदै उनीहरुको क्षमतालाई बैंङ्कको प्रगतिका निम्ति सदुपयोग गर्ने उनले बताए ।