सेञ्चुरी कमर्सियल बैंकद्धारा खानेपानी फिल्टर वितरण

काठमाडौँ । सेञ्चुरी कमर्सियल बैंकको पनौती शाखाले विद्यालयलाई खानेपानी फिल्टर वितरण गरेको छ । बैंकले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत सिन्धुपाल्चोक जिल्ला, मेलम्ची नगरपालिका, वडा नं १०, शिखरपुरमा रहेको शीतलादेवी माध्यमिक विद्यालयलाई खानेपानी फिल्टर वितरण गरेको हो । खानेपानी फिल्टर पनौती शाखाका शाखा प्रबन्धक हरिकृष्ण दाहालले ब्यवस्थापन समितिका अध्यक्ष भोलाप्रसाद आचार्य र प्रधानाध्यापक क्षेत्रप्रसाद अधिकारीलाई संयुक्त रुपमा हस्तान्तरण गरेका हुन् । उक्त कार्यक्रमको प्रमुख आतिथ्यता स्थानीय समाजसेवी ईश्वर दाहालले गरेका थिए ।

एनआईसी एशियाका ग्राहकलाई सेल्सबेरी तथा सेलवेज डिपार्टमेन्ट स्टोरमा १५% छुट

काठमाडौँ । एनआईसी एशिया बैंक लिमिटेड र सेलवेज क्यास एण्ड क्यारी प्रालि अन्तर्गतका सेल्सबेरी र सेलवेज डिपार्टमेन्ट स्टोरबीच सम्झौता भएको छ । एनआईसी एशिया बैंकको मोबाइल बैंक एप प्रयोग गरी क्यूआर मार्फत् सामान खरिद गर्दा १५% वा अधिकतम रु. ५०० सम्म छुट प्रदान गर्ने सम्झौता भएको छ । उक्त सम्झौताअनुसार सेल्सबेरी तथा सेलवेज डिपार्टमेन्ट स्टोरमा सामान खरिद गर्दा एनआईसी एशिया बैंकको मोबाइल बैंक एपको क्यूआर मार्फत् भुक्तानी गर्दा १५% रकम वा अधिकतम रु. ५०० सम्म छुट प्राप्त गर्न सक्ने छन् । यो अफर सेल्सबेरी डिपार्टमेन्टल स्टोरको सबै आउटलेटहरुमा र सेलवेज डिपार्टमेन्टल स्टोरको पोखरा आउटलेटमा लागू हुने जनाइएको छ । सो सम्झौतापत्रमा बैंकको तर्फबाट बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत सन्तोषकुमार राठी र सेलवेज क्यास एण्ड क्यारी प्रालिको तर्फबाट कम्पनीका प्रमुख वित्त अधिकृतसन्दिप प्रधानाङ्गले हस्ताक्षर गरे । असोज महिनाको पहिलो हप्तादेखि छठ पर्वसम्म लागू हुने यो योजनाबाट ग्राहकहरुले चाडपर्वको समयमा अधिकतम लाभ लिन सक्ने बैंकले विश्वास लिएको छ ।

मेगा बैंकद्वारा बालबालिकालाई खाद्यान्न सहयोग

काठमाडौँ । मेगा बैंक नेपाल लिमिटेडले काठमाडौँको बुढानिलकण्ठस्थित फुड फर लाइफ नेपालमार्फत बालबालिकाहरुलाई खाद्यान्न सहयोग गरेको छ । संस्थागत सामाजिक उत्तरदायित्व अन्तरगत मेगा बैंकले फुड फर लाइफ नेपाललाई १५ दिनका लागि पुग्ने चामल, नुन, तेलसहित बिभिन्न प्रकारका खाद्य सामाग्रीहरु सहयोग गरेको हो । फुड फर नेपालले सरकारी र सामुदायिक विद्यालयमा अध्ययनरत बालबालिकाहरुलाई नियमित रुपमा आफैले पकाएर खाजा सहयोग गर्दै आएको छ । सरकारी र सामुदायिक विद्यालयमा अध्ययनरत न्यून आय भएका विपन्न परिवारका बालबालिकालाई खाजा खानबाट बञ्चित हुन नपरोस् र त्यसले गर्दा पढाईमा कुनै असर नहोस् भन्ने उद्देश्यले मेगा बैंकले फुड फर लाइफ नेपालमार्फत बालबालिकाका लागि खाद्यान्न सहयोग गरेको हो । ग्राहकहरुलाई अत्याधुनिक बैंकिङ सेवा र सुविधा प्रदान गर्दै आएको मेगा बैंकले संस्थागत सामाजिक उत्तरदायित्वमार्फत असहाय तथा विपन्न वर्गका बालिबालिकाको शिक्षाका लागि पनि सहयोग गर्दै आएको छ । अहिले मेगा बैंकका १०२ शाखामार्फत १÷१ जना बालिकालाई पनि बैंकले छात्रवृत्ति प्रदान गर्दै आएको छ ।