मेगाले गण्डकी विकास बैंकलाई प्राप्ती गर्ने सैद्धान्तिक सहमति
काठमाडौं । मेगा बैंक नेपालले गण्डकी विकास बैंकलाई प्राप्ती गर्ने सैद्धान्तिक सहमति भएको छ । मेगा बैंक सञ्चालक समितिका अध्यक्ष भोजबहादुर शाह र गण्डकी विकास बैंकका सञ्चालक समितिका अध्यक्ष शुशील गौचनले सैद्धान्तिक सहमतिपत्रमा आज हस्ताक्षर गरेका हुन् । यो प्राप्ती पश्चात् मेगा बैंकको पुँजी, व्यवसायको आकारका साथसाथै शाखा सञ्चालनमा बृहत वृद्धि भई देशकै एक ठूलो क वर्गको वाणिज्य बैंकको रुपमा स्थापित हुने मेगा बैंकका अध्यक्ष शाहले बताए । गण्डकी विकास बैंकको शेयर रोक्काको प्रक्रिया लगायत नेपाल राष्ट्र बैंक समक्ष संयुक्त निवेदन दर्ता गर्ने कार्य यथाशिघ्र अघि बढाइने उनले जानकारी दिए । उक्त सहमतिमा दुबै बैंकको सञ्चालक समितिका सदस्यहरु लगायत प्रमुख कार्यकारी अधिकृतहरुको उपस्थिति रहेको थियो । असार मसान्त २०७६ को तथ्यांक अनुसार दुबै बैंकको संयुक्त निक्षेपको आकार १ खर्ब १२ अर्ब रुपैयाँ तथा कर्जा लगानीको आकार ९८ अर्ब रुपैयाँ रहेको र हालको बैंकको शाखा १९१ पुगेको बैंकले जानकारी दिएको छ ।
३ महिनाभित्र एकीकृत कारोबार गर्न निर्देशन दिंदै राष्ट्र बैंकले दियो ग्लोबल र जनतालाई एलओआई
काठमाडौं । नेपाल राष्ट्र बैंकले ३ महिनाभित्र एकीकृत कारोबार गर्न निर्देशन दिंदै ग्लोबल आईएमई बैंक र जनताको मर्जर गर्न सैद्दान्तिक सहमति (एलओआई) दिएको छ । केही दिन अघि बसेको राष्ट्र बैंक संचालक समितिको बैठकले ग्लोबल आइएमई बैंक र जनता बैंकको मर्जरलाई सैद्दान्तिक सहमति दिएको हो । बुधबार दुई बैंक मर्जर जानका लागि सैद्दान्तिक सहमतिको पत्र आएको ग्लोबल बैंकका अध्यक्ष चन्द्र ढकालले बताए । ‘बैंकहरूको डीडीए यसै साता सम्पन्न हुँदैछ,’ उनले भने ‘ढिलोमा पनि हामी मंसिर आधासम्म एकीकृत कारोबारमा गइसक्छौ ।’ ग्लोबल आइएमई र जनता बैंकबीच मर्जरको सम्झौतालाई सैद्दान्तिक सहमति दिँदै तीन महिनाभित्र एकीकृत कारोबार गर्नुपर्ने निर्देशन दिएको राष्ट्र बैंकले जानकारी दिएको छ । ग्लोबल आइएमई र जनता बैंकले एक आपसमा मर्जरमा जाने सम्झौता गत असारमा नै गरेका थिए ।
वार्षिकोत्सवको अवसरमा सनराइजले विभिन्न स्थानमा गर्यो स्वास्थ्य परीक्षण
काठमाडौँ । सनराइज बैंकले आफ्नो १२औं वार्षिक उत्सवको अवसरमा संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत देशका विभिन्न स्थानहरुमा स्वास्थ्य परीक्षण कार्यक्रम आयोजना गरेको छ । बैंकको भैसीपाटी, बिराटनगर, भैरहवा, गुठीचौर र धनगढी शाखाबाट स्वास्थ्य परिक्षण शिविर कार्यक्रम गरेको हो । त्यसैगरी बंैकले ९ गते राजबिराज र ११ गते बेशिसहर शाखामा स्वास्थ्य परिक्षण शिविर आयोजना गर्ने जनाएको छ ।