विजयादशमीको बिदामा समेत प्रभु बैंकले २४ शाखामा दशैं काउन्टर सञ्चालन गर्ने
काठमाडौँ । विजयादशमी बिदाको दिन समेत प्रभु बैंकले २४ शाखामा बैकिङ दशैँ काउन्टर सञ्चालन गर्ने भएको छ । काठमाडौँ उपत्यका भित्र ९ र उपत्यका बाहिर १५ शाखामा दशैँ काउन्टर सञ्चालन गर्ने प्रभु बैंकले जनाएको छ । असोज २१ गते विजयादशमीका दिन भने बैंकिङ सेवा बन्द रहने जनाइएको छ । दशैँ काउन्टरमा बढी १ लाख रुपैयाँको चुक भुक्तानी हुने र रेमिट्यान्स रकम बढीमा ५० हजारसम्म भुक्तानी लिन सकिने छ ।
एनएमबि र ओमको बैंकिङ सेवा आज बन्द, एकीकृत कारोबार भोलिदेखि
काठमाडौँ । एनएमबि बैंक र ओम डेभलपमेन्ट बैंकको बैंकिङ सेवा शुक्रबार बन्द हुने भएको छ । बबरमहलमा कार्यालय रहेको एनएमबि र पोखरा चिप्लेढुंगामा मुख्य कार्यालय रहेको ओम एक आपसमा गाभिएर असोज ११ गतेदेखि एकीकृत कारोबार शुरु हुने भएकाले दुबै संस्थाको तथ्याङ्क एकीकृत गरी एउटै कोर बैंकिङ सफ्टवेयरबाट कारोबार गर्नु पर्ने भएकाले शुक्रबार कारोबार बन्द हुने जनाइएको छ । बैंकका सम्पूर्ण काउन्टरहरु, इन्टरनेट बैंकिङ, मोबाइल बैंकिङ, एटीएम/पीओएस सेवा, रेमिट्यान्स सेवा तथा विद्युतीय माध्यमबाट प्रदान गर्ने सेवा लगायत सम्पूर्ण बैंकिङ कारोबार बन्द हुने बैंकद्वारा प्रकाशित सूचनामा उल्लेख छ ।
दशैंका लागि नोट साट्ने सुविधा आजदेखि, एक व्यक्तिले साढे १८ हजार पाउने
काठमाडौं । नेपाल राष्ट्र बैंकले शुक्रबारदेखि दशैंका लागि सर्वसाधारणलाई नयाँ नोट साट्ने सुविधा दिएको छ । बैंकले असोज १७ गतेसम्म प्रत्येक व्यक्तिलाई ५, १०, २०, ५० र १०० सय दरका एक-एक प्याकेट नोट उपलब्ध गराउने व्यवस्था मिलाएको राष्ट्र बैंकका प्रवक्ता लक्ष्मीप्रपन्न निरौलाले जानकारी दिए । हरेक वर्षको दशैंमा जस्तै यस वर्षको दशैंमा पनि बैंकले राष्ट्र बैंकको मुद्रा व्यवस्थापन विभाग बालुवाटार र विराटनगर, जनकपुर, वीरगञ्ज, पोखरा, सिद्धार्थनगर, नेपालगञ्ज तथा धनगढी कार्यालयबाट सो सेवा उपलब्ध गराउने भएको छ । राष्ट्र बैंकका यी कार्यालय सहित राष्ट्रिय वाणिज्य बैंकको १०, नेपाल बैंकको ७ र कृषि विकास बैंकको ६ शाखाबाट आमसर्वसाधारणले नयाँ नोट सटही गर्न पाउने छन् । सर्वसाधारणले राष्ट्रिय वाणिज्य बैंकको सिंहदरवारप्लाजा, सिंहदरवार परिसर, टेकु, नयाँबानेश्वर, सानो थिमी, विशालबजार, नक्साल, बाजालु, लुभु र टोखा शाखाबाट नयाँ नोट साट्न पाउने छन् । त्यस्तै नेपाल बैंकको न्यूरोड, कीर्तिपुर, महाराजगंज, जोरपाटी, पाटन औद्योगिक क्षेत्र, लाजिम्पाट र भक्तपुर शाखाबाट सो सुविधा पाउने व्यवस्था राष्ट्र बैंकले मिलाएको छ । कृषि विकास बैंकको गौशाला, गठ्ठाघर, रामशाहपथ, रत्नपार्क, थानकोट र पुल्चोक शाखाबाट पनि नयाँ नोट साट्न पाइने छ । यसका साथै बैंक तथा वित्तीय संस्थाले आफ्ना ग्राहकलाई पनि यो सुविधा दिन सक्ने व्यवस्था मिलाएको निरौलाले बताए ।