सप्तरीको तिलाठी कोइलाडीको बस्ती निर्माणमा जनता बैंकको सहयोग
काठमाडौँ । बि.संं. २०७४ साउनमा तराईमा बाढी तथा डुवानमा परी घरबार गुमाएका सप्तरीको तिलाठी कोइलाडीको मुसहर बस्तिमा ५२ घर तयार गरी हस्तान्तरण गरिएको छ । उक्त बस्ति निर्माणको लागि जनता बैंकको संस्थागत सामाजिक उत्तरदायित्व कोषबाट रु. १० लाख सहयोग हस्तान्तरण गरिएको छ । उक्त रकम बिहीबार बैंकका प्रमुख कार्यकारी अधिकृत परशुराम कुँबर क्षेत्रीले नेपाल ब्रोडकास्टिङ च्यानल प्रालि (न्यूज २४) का महाप्रबन्धक सुधिर राजभण्डारीलाई हस्तान्तरण गरेका हुन् । उक्त मुसहर बस्तिका जनताहरुको आबास पुनःनिर्माणको लागि २०७४ साउन ३१ गते जनता बैंकमा ‘न्युज २४ टि.भि. जनता बैंक विपत्ती राहतकोष’ खाता संचालन गरिएको थियो । नेपाल सरकार, अर्थ मन्त्रालयको स्वीकृती लिई उक्त खातामा विभिन्न ब्यक्ती तथा संघ सस्थाबाट जम्मा भएको रकम करिब रु. २ करोड र अन्य सहयोग समेत गरी न्युज २४ को अगुवाईमा उक्त बस्तिमा करिब ३ करोडको लागतमा ५२ ओटा घर निर्माण गरी हस्तान्तरण गरिएको थियो ।
ग्लोबल बैंक र नेपाल खुला विश्वविद्यालयबीच शुल्क सङ्कलनसम्बन्धी सम्झौता
काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेड र नेपाल खुला विश्वविद्यालयबीच शुल्क सङ्कलनसम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर भएको छ । सम्झौतामा विश्वविद्यालयको तर्फबाट कुल सचिब कमल ढकाल र बैंकको तर्फबाट बैंकका कीर्तिपुर शाखा प्रबन्धक शोभा न्यौपानेले हस्ताक्षर गरेका हुन् । सम्झौता अनुसार ग्लोबल आइएमई बैंकमा खाता खोलिसकेपछि नेपाल खुला विश्वविद्यालयका विद्यार्थीहरुले बैंकको मोबाइल एप्लीकेशन तथा अनलाइन बैंकिङ्गमार्फत शुल्क तिर्न सक्नेछन् । हाल बैंकले आफ्ना १४५ शाखा, ३० वटा एक्सटेन्सन तथा राजश्व संकलन काउण्टर, १८८ शाखा रहित बैंकिङ्ग सेवा, १४८ एटीएम र ३ वटा अन्तर्राष्ट्रिय सम्पर्क कार्यालय मार्फत ११ लाख भन्दा बढी ग्राहकहरुलाई सेवा प्रदान गर्दै आएको छ ।
बैंक ह्याकिङका एजेण्ट स्याङ्जाबाट प्रक्राउ
काठमाडौं । कृषि विकास बैंकको सफ्टवेर ह्याक गरेर रकम निकालिएको घटनामा सङलग्न एजेण्टलाई महानगरीय अपराध नियन्त्रण महाशाखाको टोलीले आज दिउँसो स्याङ्जाको वालिङबाट पक्राउ गरेको छ । सोही घटनामा सङ्लग्न रहेका ११ जनामध्ये उनीसहित ६ जनालाई पक्राउ गरिएको र अझै पाँच जना फरार रहेको महाशाखाले जनाएको छ । पक्राउ पर्नेमा प्रतिक्षा निर्माण सेवाका प्रोपाइटर रामकृष्ण भुषाल रहेको महाशाखाका प्रहरी वरिष्ठ उपरीक्षक सहकुलबहादुर थापाले जानकारी दिएका छन् । उनलाई स्याङ्जा प्रहरीको सहयोगमा पक्राउ गरिएको र काठमाडौँ ल्याएर घटनाको अनुसन्धान गरिने उनले बताए । उनको बैँक खातामा रु ६५ लाख जम्मा भएपछि उनले निकाल्न भ्याएका थिएनन् । यसअघि महाशाखाको टोलीले पानस रेमिट र कृषि विकास बैंकको सफ्टवेयर ह्याक गरेर पैसा निकाल्ने नेपाली एजेण्ट गरी १२ जनालाई आइतबार पक्राउ गरी अनुसन्धान गरिरहेको छ । प्रहरीका अनुसार उनीहरुले कृषि विकास बैंकबाट सफ्टवेयर ह्याक गरी रु चार करोड ७३ लाख ९६ हजार विभिन्न व्यक्तिको नाममा पैसा पठाएको तथा पानस रेमिट नयाँ बानेश्वरबाट रु १२ लाख निकालेका थिए । त्यसमध्ये १० लाख हुण्डीमार्फत विदेशी ह्याकरलाई पैसा पठाए पनि अन्य पैसा लैजान नपाएको प्रहरीले जनाएको छ । प्रहरीले रु ६० लाख बरामद गरिसकेको छ । यसका मुख्य योजनाकार अफ्रिकीमूलका पिटर रहेको र उनले भारतमा बसेर योजना बनाई नेपाली एजेण्टलाई प्रयोग गरेका थिए । उनले रु पाँच अर्ब निकाल्ने योजना बनाएको खुल्न आएको छ । रासस