ग्लोबल आइएमई बैंकद्वारा वृक्षारोपण कार्यक्रम सम्पन्न
काठमाडौं । ग्लोबल आइएमई बैंकले संविधान दिवसको उपलक्ष्यमा वृक्षारोपण कार्यक्रमको आयोजना गरेको छ । बैंकले काठमाडौं महानगरपालिका वडा नं. ३ सँगको सहकार्यमा काठमाडौंको पानीपोखरी देखि महाराजगंजसम्मको सडक पेटीका विभिन्न स्थानमा करिब २ सय रुखका विरुवा रोपेको छ । कार्यक्रममा का.म.न.पा. वडा नं. ३ का अध्यक्ष दिपक केसी, बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकाल, कायममुकायम प्रमुख कार्यकारी अधिकृत महेश शर्मा ढकाल, सहायक महाप्रबन्धकहरु सुरेन्द्र रेग्मी र आरती राज्यलक्ष्मी राणालगायत पदाधिकारी, बैंकका अन्य कर्मचारी र स्थानीयवासीको सहभागिता रहेको थियो । साथै, बैंकले संविधान दिवसकै अवसरमा आयोजित ¥यालीमा पनि सहभागिता जनाएको छ । र्याली बैंकको कर्पोेरेट कार्यालय देखि सुरु भई टुँडिखेलमा नेपाल सरकारद्वारा आयोजित भव्य कार्यक्रममा पुगेर विर्सजन भएको थियो । यससगैं बैंकका मुख्य शाखाहरुमा दीपावली पनि गरिएको छ । यसका साथै बैंकका उपत्यका बाहिर रहेका शाखाहरुले पनि संविधान दिवसको अवसरमा वृक्षारोपण, वित्तीय साक्षारता तथा दीपावलीका कार्यक्रमहरु आयोजना गरेका छन् ।
संविधान दिवसको अवसरमा कामना सेवाको सरसफाई अभियान
काठमाडौँ । कामना सेवा विकास बैंकले संविधान दिवसको अवसरमा आफ्नो केन्द्रीय कार्यालय सहित देशभर रहेका ९९वटै शाखा कार्यालय मार्फत कामना सेवा सरसफाई अभियान,२०७६ आयोजना गरेको छ । सामाजिक उत्तरदायित्व अन्र्तगत गरिएको अभियानले सरसफाई र स्वच्छ वातावरणको महत्व र अपरिहार्यता बारे जनचेतना ल्याउने बैंकले विश्वास लिएको छ । संविधान दिवस २०७६ को अवसरमा बैंकद्धारा ओडी कार्ड सेवाको शुभारम्भ गर्नुका साथै सम्पूर्ण कर्मचारीबीच संविधान दिवस विशेष रंगोली प्रतियोगिता समेत आयोजना गरिएको जनाएको छ ।
एनआईसी एशियाले थप तीन सहायक कम्पनी खोल्ने, सुन र रेमिट्यान्स कारोबारमा आक्रामक बन्दै
काठमाडौं । एनआईसी एशिया बैंकले थप तीन सहायक कम्पनी खोल्ने भएको छ । यूनिभर्सल बैकिङ अवधारणा अनुरुप बैंकले प्रदान गरिरहेको बैकिङ सेवा सुविधालाई थप वृहत बनाउन एवं परिष्कृत सेवा प्रदान गर्नको लागि सहायक कम्पनीहरु खोल्न लागेको बैंकले जनाएको छ । बैंकले विप्रेषण (रेमिट्यान्स) कारोबार गर्न, सुनचाँदी धितोमा राखी कर्जा प्रवाह गर्न र क्रेडिट रेटिङ सेवा सञ्चालन गर्न सहायक कम्पनी खोल्न लागेको हो । यसअघि बैंकले एनआईसी एशिया क्यापिटल नामको सहायक कम्पनी खोली पुँजी बजारसम्बन्धि विविध काम गर्दै आएको छ । सहायक कम्पनी दुई मोडलबाट खोल्न राष्ट्र बैंकसँग प्रस्ताव गर्ने र राष्ट्र बैंकको स्वीकृतिको आधारमा कम्पनी खोल्ने बैंकले प्रष्ट पारेको छ । ‘कुनै स्वदेशी वा विदेशी फर्म, कम्पनी, संघ संस्थासँग संयुक्त लगानीमा पनि यस्ता सहायक कम्पनी खोल्न सक्छौं । बैंकको मात्र लगानीमा पनि सहायक कम्पनी खोल्न सक्छौं’ बैंकका प्रमुख कार्यकारी अधिकृत रोशन न्यौपानेले बताए । सहायक कम्पनी खोल्न सम्बन्धि प्रस्ताव आगामी साधारणसभाबाट पेस गरिने र साधारणसभाले अनुमोदन गरेपछि तत्काल कार्यान्वयनमा लैजाने बैंकले जनाएको छ । सहायक कम्पनी सञ्चालनसँगै रेमिट्यान्स र सुन कारोबारमा बैंक आक्रामक बन्ने भएको छ । बैंकले असोज १० गते साधारणसभा गर्दैछ । साधारणसभामा सेयरधनीलाई २१ प्रतिशत लाभांश दिने मुख्य प्रस्ताव छ । त्यसमा ११ प्रतिशत नगद लाभांश दिने र १० प्रतिशत बोनस सेयर दिने बैंकको प्रस्ताव छ ।