एनआईसी एशियाका ग्राहकलाई भाटभटेनीमा रु.१ हजारसम्म छुट

काठमाडौँ । एनआईसी एशिया बैंक लिमिटेड र भाटभटेनी सुपरमार्केटबीच डेबिट एवम् क्रेडिट कार्ड मार्फत् लत्ताकपडा तथा जुत्ता खरिद गर्दा प्रत्येक खरिदमा १५% रकम वा अधिकतम रु. १००० सम्म छुट प्रदान गर्ने सम्झौता भएको छ । उक्त सम्झौता अनुसार भाटभटेनी सुपरमार्केटमा सामान खरिद गर्ने बैंकका ग्राहकहरुले उक्त छुट प्राप्त गर्नेछन् । साथै यस बैंकमा खाता नभएका इच्छुकहरुले भाटभटेनी सुपरमार्केटमा रहेको एनआईसी एशिया बैंकको स्टल तथा प्रतिनिधिमार्फत् नयाँ खाता खोल्न सक्ने छन् र इन्स्ट्यान्ट कार्ड प्राप्त गर्न सक्ने छन् । सो सम्झौतापत्रमा बैंकको तर्फबाट बैंकका प्रमुख कार्यकारी अधिकृत रोशनकुमार न्यौपाने र भाटभटेनी सुपरमार्केटको तर्फबाट सुपरमार्केटका अध्यक्ष मीनबहादुर गुरुङले हस्ताक्षर गरेका छन् । असोज ८ गतेदेखि कात्तिक १६ गतेसम्म लागू हुने यो योजनाबाट ग्राहकहरुले चाडपर्वको समयमा अधिकतम लाभ लिन सक्ने विश्वास बैंकले लिएको छ ।

सेञ्चुरी बैंकद्वारा नाला र टुकुचा क्षेत्रमा वित्तीय साक्षरता अभियान

काठमाडौँ । सेञ्चुरी कमर्सियल बैंकले बनेपा नगरपालिकाको ग्रामिण क्षेत्रलाई लक्षित गरेर उग्रचण्डी नाला शाखामा एक दिने वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गरेको छ । बैंकले संस्थागत सामाजिक उतरदायित्व अन्तर्गत बनेपा नगरपालिका अन्र्तगत उग्रचण्डी नाला र टुकुचा नाला क्षेत्रमा उक्त कार्यक्रम आयोजना गरेको हो । कार्यक्रममा मुख्य विषयवस्तु सहुलियतपूर्ण कर्जाका लागि ब्याज अनुदान अन्तर्गतको व्यवसायिक कृषि तथा पशुपन्छी कर्जा सम्बन्धी जानकारीका साथै डिजिटल वित्त ९विधुतीय वित्त० सम्बन्धी जानकारी दिएको थियो । उक्त कार्यक्रममा १६५ जनाभन्दा बढीको सहभागिता थियो । सहुलियत कर्जा, बैंक खाता, बैंकले नागरिकलाई दिइरहेको सेवा प्रवाहलगायत ग्रामीण भेगका नागरिकसंग बैंकको पहुँच बढाउन गाउँगाउँसम्म वित्तीय साक्षरता अभियान बैंकले सुरु गरिरहेको हो । बैंकले आफ्नो संस्थागत सामाजिक उतरदायित्व अन्तर्गत अन्य स्थानहरुमा वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गर्दै आइरहेका जनाएको छ ।

निक्षेपको चरम अभाव हुँदा नबिलले गर्यो १०.१० प्रतिशत अफर, अरु वाणिज्य बैंकलाई तनाव

काठमाडौं । बैकिङ क्षेत्रमा निक्षेपको चरम अभाव भएको बेलामा नबिल इन्भेष्टमेन्ट लिमिटेडले निक्षेपकर्तालाई १० दशमलव १० प्रतिशत प्रतिफल दिने नयाँ याेजना ल्याएकाे छ । मुद्दति खाताका बचतकर्तालाई जस्तै लगानीकर्तालाई हरेक तीन महिनामा प्रतिफल भुक्तानी गरिने नबिल इन्भेष्टमेन्टले जनाएको छ । बैकिङ क्षेत्रको लिडर बैंकको रुपमा परिचित नबिल बैंकको सहायक कम्पनीले ल्याएकाे नयाँ स्कीमले बैंकहरुलाई ब्याज बढाउन दवाव पर्ने जानकारहरु बताउँछन् । नेपाल बैंकर्स संघको निर्णयका आधारमा वाणिज्य बैंकहरुले ९.७५ प्रतिशत वा सोभन्दा कम ब्याजदरमा निक्षेप संकलन गर्दै आएको समयमा नबिलले १०.१० प्रतिशत प्रतिफल दिने निक्षेप प्रकृतिकाे याेजना ल्याएकाे हाे । ‘फिक्स रिर्टन’ नाम दिइएको उक्त स्कीम सात दिन मात्रा चल्ने नबिलले जनाएको छ । तर उक्त सेवाको बारेमा जानकारी दिंदै अनिश तन्डुकारले विकासन्युजसँग भने-‘तपाई पैसा व्यवस्थापन गर्न समय लाग्छ भने दशैंपछि पनि आउन सक्नुहुन्छ ।’ यस्तो स्कीमको रिर्टनदर घटबढ भईरहने उनले बताए । बैंकमा मुद्दति निक्षेपको ब्याज १० प्रतिशतभन्दा कम भएको समयमा मर्चेन्ट बैकर्सले १० प्रतिशतभन्दा बढी प्रतिफल दिनुले यसभित्र जोखिमको गन्ध आउँछ । ‘पोर्टफोलियो म्यानेजमेन्ट सर्भिस’ अन्तरगत दिने यो सेवाको विशेषता वाणिज्य बैंकको मुद्दति बचतको जस्तै हुने र पूर्ण सुरक्षित हुने तण्डुकारले बताए । ‘लिखित डकुमेन्ट हुन्छ । लगानीकर्ताको नाम, लगानी भएको रकम, ब्याज र मुद्दति परिपक्व हुने अवधि तोकेर सर्टिभिकेट दिन्छौं । सावाँ ब्याज दुबै ग्यारेन्टी गरिएको हुन्छ’ उनले भने-‘मुद्दति निक्षेपमा झै यस सर्टिफिकेट धितो राखेर कर्जा लिने भने पाइने छैन ।’ ‘नबिल इन्भेष्टमन्टले शुरुमा पनि यसरी स्रोत परिचालन गरेको थियो । त्यतिबेला प्रतिफल दर पनि कम थियो र कम प्रभावकारी भयो । अहिले बैंकले दिने व्याजदर  भन्दा बढी प्रस्ताव गरेको छौं’ तण्डुकारले भने । पोर्टफोलियो म्यानेजमेन्ट सर्भिस अन्तरगतकाे याे याेजना झट्ट हेर्दा निक्षेप जस्ताे भएपनि याे मुद्दति निक्षेप नभइ लगानी नै भएकाे नबिल इन्भेन्टमेन्ट क्यापिटलका प्रमुख कार्यकारी अधिकृत सबिर बाधे श्रेष्ठले बताए । पोर्टफोलियो म्यानेजमेन्ट गर्नेले स्रोतको निश्चित प्रतिशत बैंकको मुद्दतिमा राख्न पाउने नेपाल धितोपत्र बोर्डका कार्यकारी निर्देशक निरज गिरीले बताए । ‘पोर्टफोलियो म्यानेजमेन्ट सर्भिस’ अन्तरगत मर्चेन्ट बैंकर्सले यसरी बजारबाट पैसा संकलन गर्न पाउने उनको भनाई छ ।