एनआईसी एशियाको नयाँ शाखारहित बैंकिङ्ग सेवा प्युठानको लामाचौरमा

काठमाडौं । एनआईसी एशिया बैंकले प्युठानको स्वर्गद्वारी नगरपालिका , लामाचौरमा आफ्नो ५५ औं बैंकिङ्ग सेवा संचालनमा ल्याएको छ । उक्त बैंकिङ्ग सेवाको उद्घाटन आइतबार सोही वडाका अध्यक्ष नरबहादुर बुढामगरले गरेका हुन् । यस शाखारहित बैंकिङ्ग सेवाको प्रतिनिधिको रुपमा बैंकले गोपाल कृष्ण बुढामगरलाई नियुक्ती गरेको छ । ग्रामीण क्षेत्रका स्थानीयवासीहरूले आफ्नो गाउँमै स्थानीय प्रतिनिधि मार्फत बैंकिङ्ग सेवा लिन सक्नेछन् । साथै, सो सेवाबाट बैंकिङ्ग कारोबारको लागि लामो दूरीसम्म हिड्नुपर्ने वाध्यताको अन्त्य भई ग्रामीण र दुर्गम क्षेत्रहरुमा बैंकिङ्ग कारोबार गर्न सहज हुने विश्वास बैंकले लिएको छ । यस्तो सेवाबाट स्थानीयवासीहरूले निक्षेप खाता खोल्ने, तोकिएको सीमासम्मको रकम जम्मा गर्ने तथा झिक्ने, मोबाइल रिचार्ज गर्ने, उपयोगी सेवा जस्तै टेलिफोन, मोबाइल, एडिएसएल, डिस होम आदिको महसुल भुक्तानी गर्ने, स्वीकृत सीमाभित्र रहि कर्जा कारोबार गर्ने, कर्जाको साँवा तथा ब्याज भुक्तानी गर्ने, खातामा रहेको रकमको जानकारी र संक्षिप्त बैंक स्टेटमेन्ट प्राप्त गर्न सकिनेछ । यस बैंकको मुलुकभर ३१९ शाखा कार्यालयहरु, ४५१ एटिएम, १०७ वटा एक्स्टेन्सन काउण्टर एवं ५५ वटा शाखारहित बैंकिङ्गमार्फत् बैंकिङ्ग सेवा दिंदै आएको छ ।

बैंक अफ काठमाण्डूले ल्यायो भिसा नगद फिर्ता योजना

काठमाडौं । बैंक अफ काठमाण्डूले बिओके भिसा नगद फिर्ता योजना सार्वजनिक गरेको छ । बैंकले आफ्नो कार्ड बाहक ग्राहकहरुको आवश्यकता तथा ग्राहक वर्गको उच्चतम् लाभलाई मध्यनजर गर्दै उक्त योजना सार्वजनिक गरेको हो । कार्डबाहक ग्राहकहरुले नगद फिर्ता योजनाको सदुपयोगको लागि एक महिनाभित्र पीओएस तथा इकमर्श कारोबार गर्दा ५ सय रुपैयाँ नगद फिर्ता पाउने छन् । जस अन्र्तगत एक महिना भित्र कम्तीमा २ वटा पीओएस कारोबार गर्दा २ सय ५० रुपैयाँ नगद फिर्ता पाउनु हुनेछ तथा कम्तीमा २ वटा इकमर्श कारोबार गर्दा २ सय ५० रुपैयाँ नगद फिर्ता पाउने बैंकले जानकारी गराएको छ । उक्त नगद फिर्ता योजना अंग्रेजी क्यालेण्डर अनुशार लागू हुनेछ । यस योजनाको उच्चतम फाइदा सदुपयोगको लागि प्रत्येक कारोबार ५ सय वा सो भन्दा बढि हुनुपर्नेछ । उक्त नगद फिर्ता योजना सिमित अवधिको लागि मात्र भएकोले छिटै लाभ लिन ग्राहकहरुलाई अनुरोध गरेको छ । बैंकले हालसम्म ८७ शाखा कार्यालयहरु, ७८ एटिएम र १० एक्स्टेन्सन काउन्टरबाट आफ्ना ग्राहकहरुलाई उत्कृष्ट बैंकिङ्ग सुविधा प्रदान गर्दै आईरहेको छ ।

सिटिजन्स बैंकका ग्राहकलाई भारतको मेदान्त अस्पतालमा १५ प्रतिशत छुट

काठमाडौं । सिटिजन्स बैंकका ग्राहकले भारतको मेदान्त अस्पतालको सेवामा १५ प्रतिशत छुट पाउने भएका छन् । सिटिजन्स बैंकका कार्डवाहक ग्राहकलाई मेदान्त मेडिसिटी अस्पतालको सेवा शुल्कमा साे मात्राकाे छुट दिने सम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको छ । उक्त समझदारीपत्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत गणेशराज पोखरेल तथा मेदान्त अस्पतालका सेल्स एण्ड मार्केटिङ्गका उपाध्यक्ष सुकेश थरेजाले हस्ताक्षर गरेका हुन् । यस सहकार्यबाट भारतमा स्वास्थ्य उपचार गराउन जाने बैंकका ग्राहकहरुलाई उपचारका क्रममा सहज सेवा प्राप्त हुने विश्वास बैंकले लिएको छ । यो सुविधा सिटिजन्स बैंकका कार्डबाहक ग्राहकहरुले भारतको गुरगाउँ , लखनउ, राँची, इन्दौर लगायतका मेदान्त अस्पतालका सबै शाखाहरुबाट पाउनेछन् । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले देशैभरी फैलिएका आफ्ना ९३ वटा शाखा, ९० वटा एटिएम र १०३ वटा शाखा रहित बैंकिङ्ग एकाईहरुबाट करिव पाँच लाख ग्राहकवर्गलाई आधुनिक बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको छ । अन्तर्रा्ष्ट्रिय कार्ड प्रदायक कम्पनी भिजासँगको सहकार्यमा यस बैंकको भिजा डेबिट वा क्रेडिट कार्ड प्रयोग गरी नेपालभित्रको कुनै पनि पीओएस मेशिन मार्फत सामान वा सुविधा खरीद गर्दा २०% सम्म क्यास ब्याक (नगद फिर्ता) हुने योजना सञ्चालनमा रहेको छ ।