राष्ट्रिय वाणिज्य बैंकले साढे २ अर्बको ऋणपत्र निष्काशन गर्दै

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकले २ अर्ब ५० करोडको ऋणपत्र निष्काशन गर्ने भएको छ । पूर्ण सरकारी स्वामित्वको बैंकले १ हजार रुपैयाँ अंकित मूल्यमा २५ लाख कित्ता ऋणपत्र निष्काशन गर्न लागेको हो । बैंकले निष्काशन गर्ने ऋणपत्रमध्ये १५ लाख कित्ता परिपत्र विधिबाट र १० लाख कित्ता सार्वजनिक निष्काशन प्रक्रियाबाट बिक्रीका गर्ने बैंकले जनाएको छ । ६ वर्ष अवधिको ऋणपत्रको ब्याजदर १०.२० प्रतिशत हुने र ६/६ महिनामा व्याज भुक्तानी हुनेछ । धितोपत्र निष्काष्न तथा बिक्री प्रबन्धकसम्बन्धी सम्झौतामा राष्ट्रिय वाणिज्य बैंककोे तर्फबाट प्रमुख कार्याकारी अधिकृत किरण कुमार श्रेष्ठ र एनआईबिएल एस क्यापिटलको तर्फबाट प्रमुख कार्यकारी अधिकृत शिवान्तबहादुर पाँडेले हस्ताक्षर गरे । बैंकले उक्त ऋणपत्र निष्काशनको लागि एनआईबिएल एस क्यापिटललाई निष्काशन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको छ । बैंकले चुक्ता पँुंजीको कम्तीमा २५ प्रतिशत ऋणपत्र जारी गर्नुपर्ने राष्ट्र बैंकको व्यवस्थाअनुसार ऋणपत्र निष्काशन गर्न लागेको बैंकले जनाएको छ ।

मौद्रिक नीतिको अर्द्ध-वार्षिक समीक्षाः के-केमा भयाे सहज, साेचे जस्ताे के भएन ?

काठमाडाैं । ज्याेति विकास बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) मनाेज ज्ञवालीले नेपाल राष्ट्र बैंकले साेमबार  सार्वजनिक गरेकाे आर्थिक २०७६/७७काे मौद्रिक नीतिको अर्द्ध-वार्षिक समीक्षा माथि टिप्पणी गरेका छन् । उनले  उक्त समीक्षामा केही कुराहरू सकारात्मक रहेकाे र केही क्षेत्रकाे नीतिगत व्यवस्थामा मुख्य परिवर्तन गरी सहज वातावरण बनाइएकाे उल्लेख गरेका छन्। तर, यसले केही क्षेत्रलाई भने नकारात्मक असर पार्नुका साथै कतिपय कुराहरू साेचे जस्ताे नभएकाे उनकाे भनाइ छ । क) लक्ष्य र प्राप्ति प्रमुख बुँदाहरु: कुन कुराहरु सकारात्मक रहे ? – निर्यात २६.१ प्रतिशतले बढेको र आयात ४ प्रतिशतले घटेको कारण व्यापार घाटामा ६.१ प्रतिशतले कमी आएको छ । – विदेशी निक्षेप स्वीकार गर्न सक्ने प्रावधानको सदुपयोगको शुरुवातसंगै यूएसडी एक मिलियन बराबरको विदेशी निक्षेप बैंकहरुले प्राप्त गरेको छन्। –आटीजीएस संचालनमा ल्याईसकिएको छ। के कुराहरु सोचे जस्तो भएनन् ? सरकारकाे पुँजीगत खर्च गर्ने अवस्था अझै उस्तै रहेको छ। राजश्व संकलन जति पनि बजेट खर्च नभएको स्थीति छ । हालसम्म पुँजीगत खर्च जम्मा ६२.७७ अर्ब रूपैयाँ भएको छ । मुद्रास्फिति दर ६ प्रतिशतमा राख्ने लक्ष्य पुरा भएकाे छैन। खाद्य वस्तुकाे मुद्रास्फितिदर बढेर १० प्रतिशतभन्दा माथि पुगेको छ । जुन २०७५ पुसमा जम्मा २.७ प्रतिशत रहेकाे थियाे । आन्तरिक कर्जा २४ प्रतिशत तथा निजीक्षेत्र तर्फको कर्जा २१ प्रतिशतले वृदिकाे लक्ष्य रहेकोमा क्रमशः १४.१ र १४.९ प्रतिशत मात्र हुन सकेको। ख) नीतिगत व्यवस्थामा मुख्य परिवर्तन: के सहज बनाईयो? घर कर्जा र कृषि, पर्यटन तथा एसमई कर्जा: स्वप्रयोजनका लागि निर्माण/खरिद गरिने पहिलो घर तथा ५० लाखदेखि २ करोड रुपैयाँसम्मको कृषि, पर्यटन एवम् साना तथा मझौला पेशा र व्यवसायका लागि कर दाखिला कागजातको आधारमा कर्जा प्रदान र नवीकरण गर्न सक्ने व्यवस्था रहेकाे छ । घरजग्गा व्यवसाय: नियमानुसार दर्ता भएका घर जग्गा व्यवसाय कम्पनीहरुले सञ्चालन गर्ने सरकारको सम्वन्धित निकायबाट अनुमति प्राप्त आयोजनाका लागि प्रदान गरिने कर्जाको मूल्य अनुपात महानगरपालिका, उपमहानगरपालिका र काठमाडौं महानगरपालिकासँग जोडिएका नगरपालिका क्षेत्रमा अधिकतम ५० प्रतिशत सो बाहेकका क्षेत्रमा ६० प्रतिशत कायम गरिएको छ । जुन हाल ४० र ५० प्रतिशत रहेकाे छ । बैदेशीक ऋण: नेपाली नागरिक, फर्म तथा संस्थाले व्यवसाय संचालन वा विस्तार गर्न यस बैंकको पूर्व स्वीकृति लिई भारतबाट भारतीय रूपैयाँ १० करोडसम्म र अन्य मुलुकबाट अमेरिकी डलर १० लाखसम्म कम्तिमा ३ वर्ष अवधिको लागि सहुलियतपूर्ण व्याज वा विना ब्याजमा ऋण/सापटी लिन पाउने व्यवस्था गरिनेछ । काेराेना प्रभावित व्यवसायलाई राहत: कोरोना भाइरसको संक्रमणको कारणबाट असर पर्न सक्ने सम्भावित क्षेत्रहरु पहिचान गरी त्यस्ता क्षेत्रहरुमा प्रवाह भएको कर्जामा पुनरकर्जा सुविधा र पुनसंरचना तथा पुनर्तालिकीकरणको व्यवस्थाहरुमा आवश्यकता अनुसार पुनरावलोकन गरिने। प्राथमिकता क्षेत्रमा कर्जा: प्राथमिकता क्षेत्रमा गरेको कर्जा लगानीलाई वाच लिष्टमा राखी ५ प्रतिशत कर्जा नोक्सानी व्यवस्था गर्नुपर्ने कुरामा केहि लचकता हुने। केलाई पर्यो नकारात्मक असर ? लघुवित्तका सेयरधनीलाई लाभांश: वार्षिक २० प्रतिशतभन्दा बढी लाभांश (नगद वा बोनस शेयर) वितरणको प्रस्ताव गर्ने संस्थाले २० प्रतिशत भन्दा माथिको प्रस्तावित लाभांशको २५ प्रतिशतले हुने रकम ग्राहक संरक्षण कोष र २५ प्रतिशतले हुने रकम सामाजिक उत्तरदायित्व कोषमा जम्मा गर्नुपर्ने व्यवस्था भएकाे छ । (याे लेख ज्ञवालीकाे सामाजिक सञ्जालबाट साभार गरिएकाे  हाे । )

नेपाल बैंकको ब्राण्ड एम्बेस्डरमा डा. पुन नियुक्त

काठमाडाैं । नेपाल बैंकले युवा वैज्ञानिक एवं राष्ट्रिय आविष्कार केन्द्र नेपालका अध्यक्ष डा. महावीर पुनलाई ब्राण्ड एम्बेस्डरमा नियुक्त गरेको छ ।  पुनलाई बैंकले सोमाबारदेखि लागू हुने गरी ब्राण्ड एम्बेस्डरमा नियुक्त गरेको हो । आविष्कार केन्द्रको कार्यालय कीर्तिपुरमा आयोजित एक समारोहमा ब्राण्ड एम्बेस्डर नियुक्ति सम्झौतामा बैंकका प्रमुख कार्यकारी अधिकृत कृष्णबहादुर अधिकारी र केन्द्रका अध्यक्ष डा. पुनले हस्ताक्षर गरे । प्रमुख कार्यकारी अधिकृत अधिकारीले पुनलाई बधाइ दिँदै राष्ट्रिय आविष्कार केन्द्र स्थापना गरेर नयाँँ सोच भएका युवालाई उद्यमी बन्न प्रेरित गरिरहेका व्यक्तिलाई ब्राण्ड एम्बेस्डर नियुक्त गर्न पाउनु गर्वको विषय भएको बताए । सम्झौतापछि पुनले नेपालकै सबैभन्दा जेठो बैंकको ब्राण्ड एम्बेस्डर बन्नु पाउनु आफ्ना लागि सौभाग्य भएको बताएका छन् । उनले देशको समृद्धिका लागि अगाडि बढ्ने मौका आएको भन्दै नेपाल बैंकको प्रगतिका लागि सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे । जनस्तर र विदेशीको सहयोगमा स्थापित केन्द्रले ड्रोन, बायोमेडिकल, कृषि, शिक्षा, स्वास्थ्यलगायतका २० वटा क्षेत्रमा नयाँ–नयाँ अनुसन्धानको काम गरिरहेको छ । वायरलेस प्रविधिद्वारा देशको ग्रामीण क्षेत्रमा सूचना प्रवाह गर्ने लक्ष्य बोकेर नेपाल वायरलेस सञ्जाल परियोजनामार्फत इन्टरनेट सञ्जाल विस्तार गर्न सफल व्यक्तित्व पुन म्याग्दी जिल्लाको नाङ्गीगाउँमा जन्मिएका हुन् । उनले एशियाको नोबेल पुरस्कारले चिनिने ‘रोमन मेग्यासेसे अवार्ड’ जस्ता महत्वपूर्ण सम्मान पाएका छन् । विसं १९९४ कात्तिक ३० गते नेपाल सरकार र निजी क्षेत्रको साझेदारीमा स्थापना भई अविच्छिन्न रूपमा नेपालमा बैंकिङ सेवा प्रवाह गर्दै आएको नेपालको पहिलो बैंक नेपाल बैंकले ८३ वर्षको इतिहास बनाएको छ । बैंकमा नेपाल सरकारको ५१ प्रतिशत र निजी क्षेत्रको ४९ प्रतिशत शेयर हिस्सा कायम छ ।