सामाजिक सुरक्षा भत्ता घरदैलोमा बाँड्दै बैंक

दमौली । तनहुँको दमौलीमा शाखा कार्यालय रहेका कतिपय बैङ्कले घरदैलोमा पुगेर सामाजिक सुरक्षा भत्ता वितरण गर्न थालेका छन् । व्यास नगरपालिकाका वडामा सो भत्ता वितरणको जिम्मा पाएको प्रभु र महालक्ष्मी विकास बैङ्कले घरदैलोमा नै पुगेर भत्ता बापतको रकम सेवाग्राहीलाई वितरण गरेका छन् । अझै कतिपय बैङ्कले शाखामा नै बोलाएर भत्ता वितरण गर्ने गरेका छन् प्रभु बैङ्कले व्यास नगरपालिका–५ को समन्वयमा भत्ता बापतको रकम वितरण गरेको छ । उसले वडाको तीन ठाउँबाट ४ सय १३ लाभग्राहीलाई भत्ता वापतको रकम वितरण गरेको बैङ्कका क्लष्टर हेड राजु रानाले जानकारी दिए । उनका अनुसार वडा कार्यालयबाट २ सय ४३, रानीटारी सामुदायिक भवनबाट १ सय ५ र चिन्तुटार दरै समाजबाट ६५ जनाले भत्ता बुझेका छन् । ज्येष्ठ नागरिकलाई भत्ता लिनका लागि सदरमुकाम दमौलीसम्म आउन नपरोस् भनेर घरदैलोमा नै भत्ता वितरणको व्यवस्था मिलाइएको वडाध्यक्ष मोहनकुमार श्रेष्ठले जानकारी दिएका छन् । “ज्येष्ठ नागरिकलाई दमौलीसम्म पुगेर भत्ता बुझ्न गाह्रो हुने भएकोले घरदैलोबाटै वितरणको व्यवस्था मिलाएका हौ,” उनले भने, “घरदैलोमा नै भत्ता बुझेपछि ज्येष्ठ नागरिक पनि खुशी भएका छन् ।” वडाध्यक्ष श्रेष्ठका अनुसार एकल महिलालाई चौमासिक बापतको रु आठ हजार र ७० वर्ष नाघेका ज्येष्ठ नागरिकलाई रु १२ हजारका दरले भत्ता वितरण गरिएको छ । घरदैलोमै भत्ता बुझेपछि व्यास नगरपालिका–५ रानीटारीका पदमपाणी अधिकारीले खुशी व्यक्त गनुभयो । “दमौली पुगेर बैङ्कमा लाइन बसेर भत्ता बुझ्न गाह्रो हुन्थ्यो, वडा कार्यालयले बैङ्कसँग समन्वय गरेर घरदैलोमा नै भत्ता दियो,” उनले भने, “यसले ज्येष्ठ नागरिकलाई एकदमै सजिलो भयो ।” प्रभु बैङ्क दमौली शाखाले व्यास नगरपालिका–३, ४, ५ र १० मा सामाजिक सुरक्षा भत्ता वितरणको जिम्मा पाएको छ । शाखाले घरदैलोमा नै पुगेर सामाजिक सुरक्षा भत्ता वितरण गर्ने गरेको जनाएको छ । यसैगरी महालक्ष्मी विकास बैङ्कले व्यास नगरपालिका–६ शिशाघाटमा भत्ता वापतको रकम वितरण गरेको छ । वडा कार्यालयको सहकार्यमा ५ सय ९२ लाभग्राहीमध्ये ३ सय ४२ जनालाई भत्ता वितरण गरिएको बैङ्कका शाखा प्रमुख सुदीप न्यौपानेले जानकारी दिए । उसले व्यास नगरपालिका–६ र ९ मा भत्ता वितरणको जिम्मा पाएको छ । व्यास नगरपालिका–६ का अध्यक्ष सूर्यभक्त भण्डारीले भत्ता लिनका लागि दमौली जानुपर्ने र लाइन बस्नुपर्ने अवस्था रहेकोले घरदैलोबाटै भत्ता वितरणको व्यवस्था मिलाइएको जानकारी दिए ।  

राष्ट्रिय वाणिज्य बैंकले तीन दिने तालिम दिँदै, सहभागी ५० जनालाई पेड इन्टर्नसीप दिइने

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकले प्रदेश नं २ को लागि ‘आरबीबी इम्पावरमेन्ट एकेडेमी’ को तेस्रो चरणको कार्यक्रम शुरुवात गरेको छ । फाईनान्सियल ट्रेनिङ्ग सेन्टरको रुपमा अगाडि लैजाने उद्देश्यले शुरु गरिएको यस एकेडेमीबाट युवावर्ग लगायत सबैले लाभ लिन सक्नेछन् । यस एकेडेमीले वित्तीय क्षेत्रमा रोजगारी पाउन तीन दिने टेक्निकल, बिहेबिरल र प्राक्टिकल बैंकिङ्ग विषयगत तयारी कक्षा आगामी चैत ७ देखि चैत ९ गतेसम्म वीरगंजमा संचालन गर्दैछ । जसको लागि २१ गतेबाट फागुन ३० सम्म निःशुल्क आवेदन दिन सकिने बैंकले जानकारी दिएको छ । प्रदेश नं. २ अन्तर्गत स्नातक र स्नाकोत्तर डिग्री भएका कलेजका विद्यार्थीहरु (कुनै प्रकारको काममा आवद्ध नभएको) लाई मात्र लक्षित गरी आवेदन आव्हान गरिएको छ । वित्तीय क्षेत्रमा आफ्नो करियर बनाउन चाहने युवा विद्यार्थीहरुले यसबाट भरपुर लाभ लिन सक्नेछन् । वित्तीय क्षेत्रका अनुभवी बैंकरहरुद्धारा निःशुल्क रुपमा दिइने छ । कार्यक्रममा बैंकका नायब प्रमुख कार्यकारी अधिकृत कविराजले युवा वर्गहरुको वृति विकाशका लागि र समाजलाई केही योगदान दिने उद्देश्यले यो तालिम संचालन गरिएको बताए । वित्तीय क्षेत्रमा आफ्नो करीयर बनाउन ठूलै शिक्षित जमातहरु लालायीत भइरहेको परिप्रेक्षमा, रोजगार उन्मुख यस्ता किसिमका तालिमहरुले युवकहरुको वृद्धि विकाशमा धेरै सहयोग गर्ने कुरामा उनले विश्वास गरेका छन् । आवेदकहरुमध्ये निश्चित क्राइटेरीयाको आधारमा ५० जनालाई छानेर बैंकले उक्त तालिममा सहभागी गराई पेड इन्टर्नसीपमा निश्चत अवधिको लागि राख्नेछ । सम्भवतः नेपालमै पहिलो पटक बैंकले निशुल्क रुपमा आयोजना गरेको युवा लक्षित यस्तो किसिमको रोजगारी उन्मुख तालिमहरु निकट भविश्यमै बाकी प्रदेशहरुमा पनि संचालन गरीनेछ । यो कार्यक्रम प्रदेश नं १ र ३ मा संपन्न भई तालीम लिएकाहरु हाल बैंकमा इन्टर्नको रुपमा आवद्ध रहेका बैंकले जानकारी गराएको छ ।

गण्डकी विकास बैंकले एकैदिन विस्तार गर्याे ४ नयाँ शाखा

काठमाडौं । गण्डकी विकास बैंकले एकैसाथ ४ वटा शाखा कार्यालयको विस्तार गरेको छ ।  पोखरामा केन्द्रीय कार्यालय रहेको सो बैंकले काठमाडौंको जोरपाटी, बालुवाखानी र जरंखुमा एवं भक्तपुरको थिमीमा छुट्टाछुट्टै कार्यक्रम आयोजना गरि शाखा विस्तार गरिरहेकाे छ । शाखा उद्घाटनको क्रममा भक्तपुरको थिमीको बैंकका अध्यक्ष सुशिल गौचनले गरेका थिए भने जोरपाटी शाखाको उद्घाटन बैंकका सञ्चालक बासुदेव त्रिपाठीले गरेका हुन् । त्यस्तै बालुवाखानी शाखाको उद्घाटन कार्याक्रममा बैंकका संचालक नारायणबहादुर बानियाको उपस्थिति रहेको थियो भने जरंखु शाखामा बैंकका सञ्चालक किशोर ओझाको थिए । उक्त बैंकले नेपालभरी ९५ स्थानमा शाखा विस्तार गरिसकेको छ । भक्तपुरको थिमीमा आयोजित कार्यक्रममा बैंकका अध्यक्ष सुशिल गौचनले गण्डकी विकास बैंक मोफसलमा स्थापना भई राष्ट्रिय स्तरमा आफ्नो स्तर उन्नती गर्र्दै मुलुकभर ठुुलो बैंकिङ्ग सञ्जाल स्थापना गर्न सफल बैंक भएको बताए । बैंकका प्रमुुख कार्यकारी अधिकृत रेशमबहादुर थापाले गण्डकी विकास बैंक तिन वटा वित्तीय संस्थाहरु गाभिएर बनेको राष्ट्रिय स्तरको विकास बैंक भएको र लगातार यसले लगानिकर्तालाई उच्चतम प्रतिफल दिन सक्षम बैंक भएको जानकारी दिए । न्यू विजनेशएजद्वारा आयोजित सन् २०१९ को व्यवस्थित विकास बैंकहरूको अवार्ड हासिल गरेको छ । हालसम्म सो बैंकको कुल चुक्तापूँजी २ अर्व ७५ करोड रुपैयाँ रहेको छ भने यहि पौष मसान्त सम्ममा कुल निक्षेप ३४ अर्व २५ करोड रुपैयाँ संकलन गरी २७ अर्व ५३ करोड रुपैयाँ कर्जा प्रवाह गरेको बैंकले जानकारी दिएको छ । बैंकले मुलुकभरका ९५ शाखा सञ्जाल तथा २७ वटा आफ्नै एटिएमबाट निरन्तर सेवा प्रदान गर्नेछ । बैंकले गत आ.ब.सम्मको संचित मुनाफाबाट शेयरधनीहरुलाई १७ दशमलब ३२ प्रतिशत नगद लाभांस वितरण गर्न सफल भएको छ ।